बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भंगालो फाट्दैमा नदी सुक्दैन : नेता गुरुङ

भंगालो फाट्दैमा नदी सुक्दैन : नेता गुरुङ


  • खगेन्द्र पराजुली
  • असोज २ २०७८, शनिबार

नवलपुर/ नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेशभित्र नेकपा एमाले विभाजन नभएर चोइटिएको दावी गरेका छन् । नेता गुरुङले सिंगो नेपालमै एमाले विभाजन नभएको जिकिरसमेत गरे ।

नेता गुरुङ शुक्रबार नवलपुरमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थिए । उनले एमाले विभाजनलाई नारायणी नदीसँग जोड्दै भने,‘नारायणी नदीको भंगालो फाट्दैमा, कसैले सिंचाइका लागि नहर निकाल्दैमा वा बाल्टीका बाल्टी पानी लग्दैमा नारायणी नसुक्ने र नारायणी विभाजन भयो भन्न मिल्दैन । यो शुद्धीकरण हो ।’

यद्यपि, उनले माधव नेपालको एमाले पार्टी निर्माणमा माधव नेपालको योगदान ठूलो रहेको स्वीकारे । नेता गुरुङले माधव नेपालले आफूले गरेको योगदान आफैले बिर्सेको टिप्पणी पनि गरे ।

‘कमरेड माधव नेपालले १५ बर्ष पार्टीको प्रमुख भएर यो पार्टी निर्माण गर्नुभयो, उहाँको योगदान केही छैन म भन्दिन, ठूलो योगदान गर्नुभएको हो उहाँको योगदानमा यो नेकपा एमाले बनेको हो’,उनले भने,‘तर, उहाँले आफैले गरेको योगदान आफैले भुल्नुभयो र नयाँ पार्टी खोल्नुभयो र बुर्जुवा समाजवाटी कार्यक्रम लिएर पार्टी बनाउनुभयो ।’

उनले माधव नेपालले निर्माण गरेको पार्टी नेपाली कांग्रेसको सिद्धान्तमा हिड्ने दावी पनि गरे । ‘कम्युनिष्ट पार्टी छोडेर समाजवादतर्फ लाग्नुभयो । कांग्रेसको नीति कार्यक्रमतर्फ लाग्नुभयो । कांग्रेसले बोकेको विपीको समाजवादी कार्यक्रम नै माधव नेपालको पार्टीले बोकेको छ । साम्यवाद र समाजबादमा फरक छ नि’, उनले भने ।

यस्तै, एमाले नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले वर्तमान देउवाको नेतृत्वमा बनेको गठबन्धनको सरकार अदालतको परमादेशमा बनेकाले संवैधानिक व्यवस्था भत्केको बताएका छन् ।उनले दलभन्दा बाहिर मत हाल्न पाउनु भनेको निर्दलीयता भएको जिकिर गर्दै अदालत र निर्वाचन आयोगको सेटिङले संबैधानिक परिधि नाघेकाले एमालेले खवरदारी गरेको जिकिर गरे ।उनले चैतमा महाधिबेश गरौ, प्रधानमंन्त्री भैसकेकाले नेतृत्व छोडौं भन्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव प्रचण्ड र नेपालले नमानेकाले अहिलेको अवस्था आएको बताए । नवलपुरको दलदलेमा आयोजित भेलालाई सम्वोधन गर्ने अधिकांश नेताले माधव नेपालकोभन्दा पनि कार्यकर्ताको चिन्ता लागेकोले भ्रममा नपर्न बारम्बार आग्रह गरेका थिए ।भेलालाई पूर्वमन्त्री पद्मा अर्याललगायत केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज तिलक महत, नेता रवीन्द्र अधिकारीलगायतले संवोधन गरेका थिए ।पार्टी जिल्ला अध्यक्ष रोशनबहादुर गाहाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव जीवन श्रेष्ठले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->