पोखरा, ६ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले लगातार तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान र शंखमुल फुटसलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
बुधवार बहुउदेश्यीय कभर्डहलमा भएको पहिलो खेलमा राइजिङले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले पाखा लगायो । राइजिङको जितमा मिलन राइले २ तथा मिलन लिम्बु, रिवोस मास्के र विकु तामाङले समान १÷१ गोल गरे ।
झरनाका लागि कप्तान ओम प्रकाश थापा, मोहन बहादुर थापा र विवेक थापाले गोल गरे । खेलको म्यान अफ दी म्याच राइजिङका रिवोस मास्के घोषित भए ।
दोस्रो खेलमा भने शंखमुल फुटसलले प्रभातफेरी युथ क्लबलाई ७–४ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै लिगको शिर्ष स्थानमा यथावत रहन सफल रह्यो । शंखमुलको जितमा जेनिश प्रजापतिले ह्याट्रिक गरे ।
यस्तै मणि लामाले २ तथा कप्तान अनिश श्रेष्ठले १ गोल गरे । मणि खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रभातफेरीका लागि भने श्रीजेश पुरी र धिरज जोशीले समान २÷२ गोल गरे ।
लिग अन्तर्गत बिहिबार ३ खेल हुनेछन् । लिग संयोजक विनोद गुरुङका अनुसार पहिलो खेल पोखराको सविन मेमोरियल र काठमाण्डौं बिच हुदैँछ भने दोस्रो खेल पनि पोखराको स्पोट्र्स क्यासल र काठमाण्डौंकै ढुकु फुटसल हवबिच हुदैँछ ।
अन्तिम खेल भने लुम्बिनी फुटसल रुपन्देही र फुटसल ५ धरानबिच हने गुरुङले जानकारी दिए ।





