बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मर्मतमा करोडौँ खर्च, अवस्था उस्तै

मर्मतमा करोडौँ खर्च, अवस्था उस्तै


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७८, बुधबार

तनहुँ/आर्थिक बर्ष सकिएपनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्नहतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्दथे ।
एकातिर कालोपत्रेमाथी कालोपत्रे भईरहदाँ त्यही राजमार्गको गाछेपानी–कोत्रे खण्डमा राजमार्गमै एम्बुलेन्स फस्ने दुरावस्था थियो । चौतर्फी आलोचना भएपछि सडक डिभिजन कार्यालय दमौलीले सडकमा भएका खाल्डाखुल्डी स्थानीय सामाग्रीले पु¥यो ।

कालोपत्रे माथी कालोपत्रे गरिएको सडक र माटोले खाल्डा पुरिएको सडकको अवस्था अहिले एउटै छ । मर्मतको दुई महिना नबित्दै सडकभरी खाल्डैखाल्डाबनेका छन् ।पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा अत्याधिक साना ठुला खाल्डा छन् । कोत्रेदेखी गाछेपानीसम्म त खाल्डा मात्रै नभएर सडकमा कालोपत्रे देख्ने मुस्किल हुन्छ । खाल्डासँगै बर्खायाममा ठाउँ ठाउँमा पहिरो झरेर अझ जोखिम बढाएको सवारी चालक बताउँछन् । कन्तविजोग अवस्थाको सडकमा दैनिक हजारौँ सवारी चालक र यात्रुले कष्टकर यात्रा गर्न बाध्यछन् ।

देशकै प्रमुख राजमार्गको अवस्था ग्रामिण सडकको भन्दा खत्तम रहेको ट्याक्सी चालक अमित श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘बिरामी लिएर पोखराका हस्पिटल पुग्न अफ्ठ्यारो छ । न भनेको बेलामा पुग्न सकिन्छ, खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई सास्ती ।’ उनका अनुसार बर्षात भए खाल्डामा पानी जमेर पोखरी जस्तै बन्छ, घाम लागेपछिबाटो नदेखिने गरेर बुङ्बुङ्ती उड्छ धुलो।
सरकारको लाचारीपनले पृथ्वी राजमार्गको अवस्था कहिल्यै सुधार नभएको उनको भनाई छ । ‘सडक भत्कने वित्तिकै बन्दैन् । बनेपछि कस्तो भयो भनेर अनुगमन हुदैन् । ठेकेदारको मनोमानी चल्छ’, उनले गुनासो गरे ।

पृथ्वी राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको अर्का सवारी चालक देव श्रेष्ठले बताए । ‘राजमार्ग भन्न पनि लाजमर्दो छ । दुर्घटनाको जोखिम बढेको छ । कस्लाई कम्पलेन गर्ने हो? निगरानी कस्ले गर्दिन्छ? सडक डिभिजन सुतेर बसेको छ’, उनले भने । भत्केको सडकमा बस गुडाउँदा चाँडै बिग्रने समस्याले मर्मतमा खर्च बढेको उनले सुनाए ।

पछिल्लो केही दिन यता पृथ्वी राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयकी प्रमुख लक्ष्मी केसीले बताईन् । ‘यो सडक अहिले हाम्रो
क्षेत्राधिकारमा पर्दैन् । मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तानतरण गरिसकेका छौँ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामाग्रीको प्रयोग गर्दैखाल्डा पुर्न थालेका हौँ’, केसीले भनिन् ।
क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागी कार्यालयसँग बजेट उपलब्ध नभएको उनको भनाई छ । सर्वसाधरणलाई सास्ती भएको देखेर बजेट नभएपनि दशैँ अगाडी सडकको खाल्डा पुर्ने केसीले जानकराी दिईन् ।
पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैंक (एडीबी)ले सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रकृयामा गईसकेको छ । १३ भदौमा सडक डिभिजनले मुग्लिङ–कोत्रे सडकखण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको केसीले जानकारी दिईन् । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर र जामुने–पोखरा ४५ किलोमिटरको दुई प्याकेजमा ठेक्का लगाईएको हो ।

५२ बर्षअघि रेखांकन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किलोमिटर पर्दछ । देशकै सडक मर्मतका लागी मात्रै गत आर्थिक बर्ष २०७७/७८ मा एक करोड १७ लाख ७४ हजार ३६ रुपैयाँ खर्च भयो । अघिल्लो आव २०७६/७७ मा पाँच करोड १८ लाख ४१ हजार १ सय ५५ रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ । यसरी दुई बर्षमा मात्रै सडक मर्मतमा ६ करोड ३६ लाख १५ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ । तर, सडकको अवस्था भने उस्तै छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->