तनहुँ/ सरकारले शिक्षकलाई निजामति कर्मचारी सरह समान व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । विहीबार देशभरका शिक्षकले टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् ।
सरकारले निजामतिकर्मचारीलाई तोकेको भन्दा धेरै सुविधा दिएको तर,शिक्षकलाई असमान व्यवहार गरेकाले सांकेतिक विरोध गरेको स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले बताए । ‘निजमाती कर्मचारीले पर्यटन काज पाउने । अझ पर्यटन काजमा श्रीमतिलाई पनि लान पाए ।श्रीमतिलाई थप्नुभन्दा शिक्षकलाई सुविधा दिएको भए हुन्थ्यो नि त !’ भट्टराईले भने, ‘निजामति कर्मचारीका छोराछोरीलाई १० लाख रुपैयाँसम्मको छात्रवृत्ति हुन्छ । शिक्षकको छोराछोरीलाई छैन । कहीं समानता भएन । यी लगायतका विभेदविरुद्धमा आन्दोलनको सुरुवात गरेका हौं ।’
आफूहरुको माग पूरा नभए दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले चेतावनी दिए । सडक, अदालत, सदन चारैतिरबाट दबाब दिएर सरकारलाई घेराबन्दीमा पार्ने अभियानमा रहेको उनले बताए ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारले असमान व्यवहार गरेको भन्दै स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईलगायत ५० जनाले १६ असारमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा शिक्षकलाई १० दिनको सुविधासहितको भ्रमण काज, सन्ततिलाई छात्रवृत्ति, १० लाख रुपैयाँकोको दुर्घटना बिमा, एक लाख रुपैयाँको स्वास्थ्य सुरक्षा बिमा, विद्यालयका शिक्षक–कर्मचारीका लागि छुट्टै अस्पताल लगायत माग गरिएको छ । सर्वोच्चले १७ असोजमा पेशी तोकेको छ । यसअगाडि पनि २ पटक पेशी तोकिएकोमा सरकारी पक्ष उपस्थित नभएको भट्टराईले जानकारी दिए ।





