आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जनप्रतिनिधिमाथि प्रश्नका तीर

जनप्रतिनिधिमाथि प्रश्नका तीर


  • रामबहादुर थापा
  • असोज १५ २०७८, शुक्रबार

बागलुङ/ सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाईमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गरेका छन् ।

बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाईको दृश्यले जनताका आकङ्क्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो ।

सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो । पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावताका गरेका वाचा पूरा नगरेकामा स्थानीयवासीले दुःखेसो पोखेका थिए ।

राजनीतिक दलका नेता, नागरिक अगुवासमेत नगरपालिकाको कार्य सम्पादनप्रति असन्तुष्ट देखिन्थे । जनप्रतिनिधि र कर्मचारीले भने राम्रा काम पनि भएको भन्दै नगरपालिकाको बचाउ गरेका थिए ।

स्थानीय युवा छायाँदत्त चापागाईँले दर्जनजति प्रश्न नगरपालिकाप्रति तेर्साए । सरकारी बजेट खर्चेर नगरप्रमुखसहितले गरेको जापान भ्रमणको उपलब्धि मागदेखि सार्वजनिक सवारीमा लिने गरिएको मनपरी भाडादर नियन्त्रण हुन नसकेकोसम्मका विषयमा उहाँका प्रश्न केन्द्रित थिए ।

स्थानीयवासी तिलक थापाले नगरपालिका स्थापना भएपछि एकपटक मात्रै टालटुले हिसाबले बजार अनुगमन भएपनि त्यसपछि अनुगमनले निरन्तरना नपाएको गुनासो पोखे । उनले अनुगमन समितिको सिफारिसबिनै योजनाको भुक्तानीसमेत हुने गरेको सुनाए ।

राष्ट्रिय जनमोर्चा जैमिनीका सचिव ठाकुरप्रसाद शर्माले कोभिड–१९ का बिरामीलाई अस्पताल पु¥याउन गाउँमा एम्बुलेन्स पठाइदिनुस् भन्दा नगरपालिकाले सडक स्तरीय नभएको जवाफ दिएको स्मरण गरे ।

“बिरामी बोक्ने एम्बुलेन्सका लागि सडक राम्रो बनाउने जिम्मा नगरपालिकाको हो की गाउँका गरिब जनताको ?”, उनले प्रश्न गरे । नगरपालिकाका गाडी र डोजरका पार्टस पोखरामा किनेर अन्तैको बिल हाल्ने गरेको भन्दै शर्माले आक्रोश पोखे ।

भ्रष्ट आचारण भएका कर्मचारीका कारण पनि सुशासन कायम हुन नसकेको उनको भनाइ थियो । सिङ्गै नगर क्षेत्रभरि बिछ्याउन पुग्ने गरी पाइप वितरण भएपनि अहिलेसम्म कुनै पनि उपभोक्ताको घरमा सो पाइपबाट मुहानको पानी नपुगेको उनको दाबी छ ।

पहिलेको व्यवस्थामा बरु सर्वसाधारणले स्वास्थ्यचौकीबाट निःशुल्क सिटामोल पाउने गरेकामा स्थानीय सरकारका रुपमा नगरपालिका आएपछि त्यो सुविधा पनि हटेको शर्माले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता शोभाप्रसाद शर्माले प्रश्नको लामो सूचि नै सार्वजनिक सुनुवाईमा प्रस्तुत गरे । उनले कृषि उपज केन्द्र, महिला भवनलगायत अलपत्र भौतिक संरचना अब के हुन्छन् भनी जिज्ञासा राखे । नगरपालिकाको न्यायिक समिति पनि कर्मकाण्डी मात्र भएको उनको आरोप थियो ।

नेपाली काँग्रेसका नगर सभापति प्रेमप्रसाद सापकोटाले सार्वजनिक सुनुवाईमा सकारात्मक कामबारे पनि चर्चा हुनुपर्ने धारणा राखे । शून्यबाट उठेको नगरपालिकाले सीमित स्रोत साधनका बाबजुत जनताका पक्षमा काम गरेको उनले उल्लेख गरे ।

नगरपालिका भित्रका गलत प्रवृत्ति र बेथितिका विरुद्ध जनप्रतिनिधि स्वयंले पनि खबरदारी गर्नुपर्ने सापकोटाको भनाइ छ । नेकपा (एमाले)का नेता रुद्र आचार्यले नगरपालिकाले आन्तरिक आय वृद्धिका योजना ल्याउनुपर्ने बताए । उनले नगरपालिकाबाट भए गरेका कतिपय सकारात्मक कामको पनि प्रसार नभएको धारणा राखे ।

नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका काम र सेवा प्रवाहबारे जनताको तहबाट उठेका प्रश्न र जिज्ञासालाई आफूले सम्मान गर्ने बताए । उनले विकास र पद्धति सिक्न आफूहरु जापान भ्रमणमा गएको प्रस्टाए । उनले नगरपालिकाको न्यून खर्चमा जापान जाने अवसर आउँदा आपूmहरु गएको भन्दै आलोचकहरुलाई पनि एकपटक जापान भ्रमणमा जान सुझाए ।

दुई वर्षअघि नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीको टोली जापान भ्रमणमा गएको थियो । उनले नगरको विकास र जनतालाई दिइने सेवा प्रवाहलाई चुस्त बनाउन हरसम्भव कोशिस गरिएपनि स्रोत साधनको सीमितता, भूगोल, प्रकृति, कोभिड–१९ महामारीलगायतले बाधा उत्पन्न गराएको बताए ।

नगरप्रमुख पौडेलले जनप्रतिनिधिको इच्छाशक्ति कम हुँदा पनि त्यसले कामको प्रभावकारितामा असर पु¥याउने गरेको अनुभव सुनाए । उनले जनप्रतिनिधि र कर्मचारी संयन्त्रबाट कुनै कमजोरी भएका भए त्यसलाई सच्चाएर जाने प्रतिबद्धता व्यक्त गरे ।

“हामीले निर्वाचित हुँदा गरेका प्रतिबद्धता कतिपय पूरा हुँदैछन्, बजेट, स्रोत साधनको अभावमा पनि केही योजना अगाडि बढाउन सकिएको छैन”, उनले भने । नगरपालिका बनेपछि पहिलो वर्षको कार्ययोजना अनुसार नगरका सबै विद्यालय र स्वास्थ्य संस्थामा सडकको पहुँच पु¥याइएको उनको भनाइ छ ।

यही वर्ष नगर खरका छानामुक्त हुने र घरबारविहीनलाई घर बनाइदिने नगरप्रमुख पौडेलले बताए । अति बिपन्नको घर निर्माणका लागि सङ्घ सरकारले विशेष अनुदान बापत रु. एक करोड नगरपालिकालाई उपलब्धसमेत गराइसकेको छ ।

यस्तै भूमिहीनको समस्या पनि सँधैका लागि अन्त्य हुने नगरप्रमुख पौडेलले बताए । सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका योजनालाई पनि गति उनको भनाइ छ । सामाजिक र तथा मानव विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए ।

उनका अनुसार शिक्षा क्षेत्रमा मात्र नगरपालिकाको झण्डै ५० प्रतिशत बजेट खर्च भइरहेको छ । त्यसपछि ठूलो बजेट स्वास्थ्यमा जान्छ । योजना अधिकृत प्रेमप्रसाद सापकोटाले गत आवमा भौतिकतर्फ नगरपालिकाले कुल ८८ प्रतिशत र वित्तियतर्फ ८३ प्रतिशत प्रगति हाँसिल गरेको उल्लेख गरे ।

गत वर्ष २३ किमि नयाँ सडक विस्तार भएको र १२ सय मिटरमा कालोपत्र भएको उनको भनाइ छ । आफ्नै भवन निर्माणका लागि नगरपालिकाले जग्गासमेत व्यवस्थापन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->