तनहुँ/ भिमाद नगरपालिका९, चिहानडाँडाबाट मोहोरिया पुग्ने कच्ची सडक कालोपत्रे गर्न सम्झौता भएको २० महिना भयो । १६ माघ २०७६ मा सम्झौता भई काम सुरु भएको हो । २.३ किलोमिटर सडक सोही आर्थिक वर्षको १ असारमा सम्पन्न गर्नलाई सम्झौतामा म्याद तोकिएको थियो । तर, ठेकेदारले सडक कालोपत्रेको काम सम्पन्न नगरी अलपत्र पारेर छाडेको छ ।
अमर कन्सट्रक्सन पोखराले ठेक्का लिएको सडक कालोपत्रे हुन सकेको छैन। गण्डकी प्रदेश सरकार र भिमाद नगरपालिकाले ५०/५० प्रतिशत लागत साझेदारीमा सडक कालोपत्रेको काम अगाडि बढाइएको थियो ।
उक्त सडकमा नाला र ग्याबिन जाली राख्ने मात्र काम भएको भिमाद नगरपालिकाका इञ्जिनियर युकेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार निर्माणस्थलमा ३५ प्रतिशत कार्य प्रगति देखिन्छ । ‘अहिले फिल्डमा कामदार छैनन् । ठेकेदारलाई फोन गरेर बोलाउँदा‘आँउछु’ भन्ने जवाफ मात्रै पाइन्छ’, उनले भने ।
एक करोड ९९ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिएकोमा अमर कन्सट्रक्सनले एक करोड ३३ लाख १० हजार रुपैयाँमा ठेक्का लिएको थियो । ५६ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको इञ्जिनियर श्रेष्ठले बताए । गत वर्ष असारमा म्याद सकिएपछि मंसिरसम्मलाई थप भएको भयो । मंसिरमा पनि नसकिएपछि फेरिएक वर्ष म्याद बढाइयो । थपिएको म्यादमा पनि बाटो कालोपत्रे हुनेमा स्थानीय विश्वस्त छैनन् ।
ठेकेदार अहिले स्थानीयको सम्पर्कमै नरहेको बाबुराम रानाले बताए । ‘आवश्यक कामदार ल्याएर काम गर्ने हो भने धेरै समयको काम होइन। बढीमा डेढ महिनामा सकिन्छ होला ! अहिले ठेकेदार सम्पर्कमै छैन,’ भिमाद ९ का वडासदस्य समेत रहेको रानाले भने । बेलामै सडक कालोपत्रे नहुँदा मोहोरियाको भाइरल ‘घाङ्च ल्हुम’ पुग्ने पर्यटकले सास्ती भोग्नु परेको उनले बताए ।
मोहोरियाको डुमडुम सामुदायिक वनमा रहेका अग्ला ढुंगालाई सिंगारेर चिटिक्कको पार्क बनाइएको छ । गत महिना घाङ्च ल्हुम पुग्ने पर्यटकको भिड लागेको थियो । तर, घाङ्च ल्हुम पुग्ने सडक ठिक नहँुदाविस्तारै पर्यटक घटेका छन् ।
उक्त सडकको ट्रयाक माओवादी शान्ति प्रक्रियामा आएपछि खोलिएको हो । एक दशकपछि सडक कालोपत्रे गर्नलाई शिलान्यास हुँदाचिल्लो सडकमा सवारीमा आरामले आउजाउ गर्ने सपना देखेका स्थानीयमा निराशा छाउन थालेको छ । ठेकेदारको बदमासीले महिनामा एक सय मिटर बाटो कालोपत्रे हुन नसक्नु यो केबल एउटा उदाहरण मात्र हो । ठेकेदारले लापरवाहीले जिल्लामा सडक लगायत धेरै योजना अलपत्र छन् ।





