म्याग्दी – बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी एक समुहले दुरव्यवहार गरेको छ । सुवेदीलाई आईतबार पाँच जनाको समुहले कार्यकक्षमा प्रवेश गरी कालो पदार्थ प्रहार गरेको हो ।
दुर्व्यवहारमा संलग्नमध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
प्रहरीका अनुसार घटनास्थलमा नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोबाइल सेट, घडी लगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए ।
‘घटनास्थलबाट पक्राउ परेका एक जना हाम्रो नियन्त्रणमा छन्,’ उनले भने, ‘थप अनुसन्धान र संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरिएको छ ।’ दुर्व्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै थिए ।
प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनीहरुले “दलाल” शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएको बताए । छ्यापेको कालो तरल पदार्थ टेबुल र कार्यकक्ष पछाडिको भाग फोहोर भएको छ ।
सो पदार्थ सवारी साधनमा प्रयोग हुने मोबिल भएको अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुर्व्यहार भएको प्रतिक्रिया दिए ।





