शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पर्यटनमा पलायो आश !

पर्यटनमा पलायो आश !


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७८, शुक्रबार
अन्पूर्ण आधार शिविरमा नेपाली पदयात्री । तस्वीर सौजन्य– सावित्री खड्का ।

पोखरा/ फेवातालमा २० वर्षदेखि डुङ्गा चलाउँदै आएकी तारा विकलाई दशैं अघिदेखि नै भ्याइ–नभ्याइ छ । पोखरा घुम्न आएका नेपालीलाई डुङ्गा चढाएर बाराही मन्दिर लैजान होस् या ताल घुमाउँदा नै किन नहोस् ! दिन बितेको उनलाई पत्तो हुँदैन । नेपाली पर्यटकलाई डुङ्गा चढाउँदै उनले भनिन्, ‘बल्ल डुङ्गाले काम पाएको छ, बोल्ने फुर्सद पनि छैन ।’

कोरोना भाइरसको महामारी आउनुअघि पर्यटकीय सिजनमा उनको व्यस्तता यस्तै हुन्थ्यो । गतवर्षको दशैं सिजनमा भन्दा यसवर्ष धेरै नेपाली पोखरा घुम्न आएको व्यवसायीले बताएका छन् । डुङ्गा व्यवसायी समितिका सचिव रुद्र भुजेलले बाराही घाटमा राखिएका डुङ्गाले यतिबेला पूरा क्षमतामा काम पाएको छ ।

फेवाताल घुम्ने विभिन्न घाटमध्ये बाराही घाटमा सबैभन्दा धेरै डुङ्गा छन् । बाराही मन्दिर घुम्न जानेहरु यही घाटबाट जान्छन् । बाराही घाटमा मात्र अहिले ३५६ वटा डुङ्गा राखिएको छ । भुजेलका अनुसार यी सबै डुङ्गाले अहिले काम पाइराखेका छन् ।

‘पहिले–पहिले एउटा डुङ्गाको पालो आउन हप्तादिन सम्म कुर्नुपथ्र्यो’, भुजेलले भने, ‘दशैंको पूर्णिमाका दिन त दोब्बर, तेब्बर काम पाए ।’
नेपालीको पहिलो रोजाइ डुङ्गा मात्र होइन, प्याराग्लाइडिङ गर्नेहरुको पनि यतिबेला चाप बढेको छ । अहिले दैनिक ४ सय जनाले प्याराग्लाइडिङ गरिरहेको नेपाल हवाइ खेलकुद संस्थाका सदस्य शर्मिला शर्माले बताइन् । गतवर्ष पोखरामा प्याराग्लाइडिङ गर्नेको घुइँचो बढेको थियो । गत वर्षभन्दा यसवर्ष धेरै नेपाली प्याराग्लाइडिङ गर्न आउने शर्माको विश्वास छ ।

पोखरामा अहिले ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ३५० जना प्यारापाइलट काम गर्छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्देशन अनुसार अहिले पोखराका प्याराग्लाइडिङ थप सुरक्षित बनाएको शर्माले बताइन् ।
लकडाउनमा बन्द भएको प्याराग्लाइडिङ असोज १५ गतेदेखि मात्र खुलेको थियो । खुलेको १५ दिनमै प्याराग्लाइडिङ व्यवसायले उडान भरेको छ । ओपन स्काइ प्याराग्लाइडिङ कम्पनीका संचालक एवं प्यारापाइलट समेत रहेकी शर्माले भनिन्, ‘प्याराग्लाइडिङ गर्न आउने पर्यटकका लागि थप सेफ्टी, सेक्युरिटी र बिमाको व्यवस्था गरिएको छ ।’

दशैंको मौकामा घुम्न आउने नेपालीका कारण पोखराका होटल र रेष्टुरेण्ट व्यवसायी पनि उत्साही बनेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अध्यक्ष लक्षमण सुवेदीले पोखराका होटल आधा भरिएको बताए ।
पोखरामा अहिले पर्यटकीय स्तरका झण्डै ७ सय होटलमा ३० हजार बेड छन् । पोखरा मात्रै होइन, मुस्ताङ र अन्नपूर्ण क्षेत्रमा पदयात्रा जाने पर्यटकका कारण पनि पोखराका होटलले व्यापार पाएका हुन् ।
हानका अध्यक्ष सुवेदीका अनुसार अहिले पोखरा घुम्न आएका पर्यटकमा ८५ प्रतिशत नेपाली छन् । १० प्रतिशत भारतीय र ५ प्रतिशत अन्य देशका पर्यटक छन् । अहिले जस्तै नेपालीलाई घुम्न प्रोत्साही पार्न सके पोखराका पर्यटन बजार चलायमान बन्न सक्ने सुवेदीले बताए ।

पदमार्गमा नेपालीको घुइँचो

बागलुङकी सावित्री खड्का दशैंको ठीक अघि अन्नपूर्ण आधार शिविर पदयात्रा पूरा गरिन् । यसअघि ढोरपाटन, मुस्ताङलगायतका क्षेत्र घुमिसकेकी सावित्री पहिलोपटक अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेकी थिइन् ।
अन्नपूर्ण पहिलो (८०९१ मिटर) हिमालको फेदीमा पुगेकी सावित्रीले ५ दिने पदयात्राका क्रममा धेरै नेपाली भेटेको बताइन् । ‘हामी जाँदा अलि कम थियो, फर्कँदा त बाटोमा नेपालीको हुल नै भेटियो’, उनले भनिन्, ‘अलिअलि विदेशी पनि थिए ।’

सरकारले नेपाल घुम्न आउने विदेशीका लागि स्वास्थ्य मापदण्ड खुकुलो बनाएपछि थोरै भएपनि विदेशी पर्यटक भित्रन थालेको व्यवसायीले बताएका छन् । पोखरास्थित इथिकल टुर एण्ड ट्राभल एजेन्सीका संचालक कृष्ण आचार्यले यो सिजनमा २ वटा विदेशी समूहलाई उपल्लो मुस्ताङ पठाएको बताए ।

यस्तै, अन्नपूर्ण फेरो पदयात्राका लागि विदेशीका समूह लमजुङको बेसीशहरदेखि मनाङहुँदै थोराङ– ला पास गरेर मुस्ताङ जानेको समूह पनि अहिले पदयात्रामा छन् । नेपाली पदयात्रीले समेत अहिले ‘टुर प्याकेज’का लागि एजेन्सीसँग सम्पर्क गर्न थालेको आचार्यले बताए ।
नेपाली पदयात्रीले गर्दा अहिले पदमार्गमा रहेका होटलहरु पनि चलायमान बनेका छन् । मर्दी हिमाल पदमार्गको फरेष्ट क्याम्पस्थित होटल कोकारका संचालक राम गुरुङका अनुसार पदमार्गका प्रायः सबैजसो होटल अहिले भरिभराउ छन् ।

मर्दी पदमार्गकै हाइक्याम्पस्थित होटल ट्रेकर्स प्याराडाइजका संचालक सुदीप गौतमले पनि नेपाली पर्यटकले होटल भरिएको बताए । पोखराबाट छोटो दूरीमा रहेको यो पदमार्ग संचालनमा आएको छोटो समयमै पदयात्रीले मन पराएका हुन् । दशैं अघिदेखि नै हाइक्याम्पका होटलहरु भरिन थालेको गौतमको भनाइ छ ।
‘लकडाउन खुलेपछि नै मर्दीमा नेपाली आउन थालेका हुन्’, उनले भने, ‘दशैं लागेपछि त होटलहरु भरिएका छन् ।’

मनाङमा ‘उचाइ’को टिम

गण्डकीका पर्यटकीय क्षेत्र खचाखच भइरहेको बेला मनाङमा भारतीय सिनेमा उचाइको छायाङ्कनको तयारी थालिएको छ । सगरमाथा क्षेत्रको छायाङ्कनपछि अभिनेत्री परिणती चोपडासहितको टोली बिहीबार मनाङ पुगेको हो । टोलीले बिहीबार नै सुटिङ स्थललहरुको निरीक्षण गरेको स्थानीय पर्यटन व्यवसायी विनोद गुरुङले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । माथिल्लो मनाङको ङिस्याङ क्षेत्रमा फिल्मको सुटिङ हुँदैछ । उनीहरु मनाङ र हाइअल्टिच्यूड एयरको हेलिकोप्टरमार्फत् मनाङ पुगेका हुन् ।

पर्यटन क्षेत्रका मजदुरलाई खोप

पोखरामा पर्यटक बढ्न थालेसँगै प्रशासनले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुलाई कोभिडविरुद्ध थप खोपको प्रबन्ध गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन मजदुरहरुको लागि खोपको व्यवस्था गरिएको हो । उनका अनुसार पर्यटनसँग आवद्ध संघ÷संस्थाको सिफारिसमा मजदुरहरुले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् गण्डकी अस्पतालमा गएर खोप लगाउन पाउने छन् ।
उनले विदेशी पर्यटकको हकमा भने खोप लगाएपछि मात्रै नेपाल प्रवेश गर्न पाउने नियम पूर्ण पालना हुनुपर्नेमा जोड दिए । व्यवसायीहरुलाई पर्यटकको रेकर्ड राख्दा खोपको अवस्थाबारेको जानकारी समेट्न पनि उनले आग्रह गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईका अनुसार पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनको लागि यो अभियान सुरु गरिएको हो ।
रेकर्ड राखिदिनुप¥यो । उतैबाट संक्रमण भएर नआउन भने इन्फरमल सेक्टरमा काम गर्नेहरुलाई चाहिँ गण्डकी अस्पतालमा खोप लगाइदिने व्यवस्था गरेको छ । पालो पाउँदैनन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->