बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तंग्रिदै बागलुङको पर्यटन

तंग्रिदै बागलुङको पर्यटन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७८, शनिबार

बागलुङ/ वर्षा केही रोकिएर हिउँदको आभाष हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्रहरु खचाखच भरिएका छन् । दुई वर्षयता कोरोनाका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला उत्साहित छन् ।

जिल्लाको जैमिनी नगरपालिका–१ का प्रकाश शर्माले हाँडीकोट टापु पुग्ने योजना बनाएको चार वर्ष भयो । काठमाडांैमा पढाइसँगै रोजगारीका लागि बस्ने शर्माले दशैंमा मात्रै लामो बिदा पाउँछन् । कहिले दशैं बिदामा वर्षा नसकिने त कहिले कोरोना त्रासका कारण चार वर्ष पहिलेको योजना उनले अहिले पुरा गरे ।

समुद्री सतहदेखि दुई हजार १ सय ९५ मिटर उचाइमा रहेको हाँडीकोट पुग्दा प्रकाश दंग थिए । जैमिनीकै वडा नं. १० मा पर्ने हाँडीकोट जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँबाट दर्जनौँ हिमश्रृंखला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटको सदाबहादर विशेषता हो ।

वर्षामा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भएपनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । असोज, कात्तिक र मंसिरको दोस्रो साता हाँडीकोट घुम्ने योग्य समय हो । चैत, वैशाख र जेठमा पनि यहाँ धेरै आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जैमिनीकै राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको संगमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । विगतभन्दा यो वर्ष हाँडीकोट धेरै आन्तरीक पर्यटक पुगेका छन् ।

नेपालको एकमात्रै ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकको संख्या पनि बितेका दुई वर्षमा भन्दा यो वर्षको दशैं बिदामा धेरै भयो । त्यहाँ पुग्ने पर्यटकको एकीन तथ्यांक कसैले नराखे पनि आरक्ष क्षेत्रका व्यवसायीका अनुसार यो वर्ष ढोरपाटन पुग्नेमा उत्साह छ ।

बागलुङ, म्याग्दी र रुकुममा फैलिएको शिकार आरक्षमा सिकारको याममा विदेशी पर्यटक हेलीको सहायताले पुग्छन् भने पैदल र सवारीको सहायतामा आरक्ष घुम्न जाने पर्यटकका लागि बागलुङहुँदै पुग्ने बाटो सहज छ । ‘धेरै समयपछि घुम्दै ढोरपाटन आएँ’, पोखराका साईकल यात्री दिवस गुरुङले भने ‘ढोरपाटनको योजना बनाएर आउँदा बीचमा बागलुङ घुम्ने ठाउँहरु धेरै रहेछन् ।’

सदरमुकाम आसपासमा रहेका पर्यटकीय क्षेत्रमा त दशैं अघिदेखिनै पर्यटकको चहलपहल सुरु भएको थियो । ‘बागलुङ कालिका खुला भएदेखि देशभरबाट पर्यटक बागलुङ भित्रिन सुरु गरेका हुन्’, जिल्ला पर्यटन समितिका अध्यक्ष राजु खड्काले भने ‘हाम्रो लागि यो वर्षको घुम्ने सिजन शुभ रहने संकेत मिलेको छ ।’

पञ्चकोट, बागलुङ कालिका, बलेवा कालभैरव, भूमिगत शालग्राम संग्रहालय लगायतका धार्मिक पर्यटकीय क्षेत्र खचाखच छन् । गलकोटको टेउवामा रहेको मूर्ति संग्रहालय, गाजाको दह, भकुण्डे भ्यू टावर, बागलुङ र पर्वत जोड्ने सिंगल स्पान प्रबिधिको संसारकै लामो पुल ‘गण्डकी गोल्डेन ब्रिज’ गलकोट दरबार, गाइघाट झरना लगायतका क्षेत्रमा असोज दोस्रो साता यता आन्तरिक पर्यटकको घुईंचो लागेको छ ।

‘व्यवसायीले पाएको कोरोना खोप र महामारीको दोस्रो लहर केही कम भएपछि पर्यटनमा आशा पलाएको छ’, पर्यटन समितिका अध्यक्ष खड्का भन्छन् ‘सुधारिएको अवस्था हो, सन्तुष्ट भैहाल्ने बेला आएको छैन्, सजगता अपनाउँदै अझै मेहनत गर्नुपर्ने छ ।’ दशैमा घुम्न आउने नेपालीका कारण बागलुङका होटल र रेष्टुरेण्ट व्यवसायी पनि उत्साही छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->