बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रामकोट संरक्षण गरिंदै

रामकोट संरक्षण गरिंदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

बागलुङ/ धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको रामकोटमा पर्यटक भित्राउन आसपासका पूर्वाधार निर्माण गरिएको छ ।

काठेखोला गाउँपालिका ५ को बिहुँमा रहेको रामकोटमा त्रिपुरेश्वर महादेव मन्दिर मसमेत छ । यो स्थानको संरक्षणकालागि स्तरीय सडक र होमस्टे मार्फत पाहुना राख्ने व्यवस्थापन गरिएको वडा अध्यक्ष शिवप्रसाद कंडेलले बताए ।

देवघाटधामका संचालक ज्ञानानन्द सरस्वतीको जन्मस्थल भएकोले यो क्षेत्र धार्मिक रुपमा बढी प्रसिद्धी छ । यहाँको त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो भएको दावी गरिएको छ । यहाँ ५ हजार ५ सय ५५ केजीको शिवलिंग समेत स्थापित छ । सयौं रोपनी जमिनको क्षेत्रमा रहेको यो मन्दिर र जंगल तथा जंगली जनावर समेत संरक्षित छन् ।

रामकोटको जंगलमा चितुवा, मृग लगायतका जनावर र कालिज लगायतका पंक्षी संरक्षित छन् । अहिले उक्त मन्दिर र आश्रम रहेको स्थानमा आवाधि पातालो भएकोले चोरी शिकारी बढेको छ । प्राकृतिक रुपमा बनेको जंगल र बिच भागमा निर्मित मन्दिरबाट दर्जनबढी हिमाली चुचुराहरु देखिन्छ । त्यस्तै जंगल सहित काठेखोला गाउँपालिकाका ८ वटै वडा, बागलुङ नगरपालिका तथा पर्वतका धेरै स्थान सजिलै देखिन्छ । ‘पर्यटकीय दृष्टीले यो क्षेत्र धेरै राम्रो छ, तर आवस्यक पूर्वाधार र तारबार हुन आवस्यक छ’ वडा अध्यक्ष कंडेलले भने, ‘अहिले सम्म राज्यको केही लगानी नभएकोले भएका पूर्वाधारहरु जीर्ण भएका छन् ।’ जंगल र जंगली जनावरहरु चोरी शिकारमा परेको उनले टिप्पणी गरे ।

वडा तहको बजेटले सयौं रोपनी जमिनलाई घेराबार लगाउन नसकिने भएकोले गाउँपालिका र प्रदेश सरकार सम्म माग गर्नुपर्ने उनले बताए । ‘कार्ययोजना बनाएर प्रदेश तहमा माग गर्नै पर्ने भएको छ’ कंडेलले भने, ‘धार्मिक आस्था र प्राकृतिक सौन्दर्य लोप भयो भने अर्वौको सम्पत्ती नष्ट हुनेछ ।’ यहा्रँ बसेका साधुसन्तले हातमै आहारा राखेर कालिज, परेवा र अन्य चराचुरुङगीलाई दिने गर्छन् । सयौं चराहरु मानिसझै आएर आश्रममै बस्ने गरेकोले त्यही दृश्य हेर्न पनि धेरै पुग्ने गरेका छन् । ‘दशबर्ष अघिको अनुभवमा धेरै सम्पदाहरु क्षयिकरण भएको पाइयो’ काठेखोला ८ का सूर्य कंडेलले भने, ‘समयमा संरक्षण गरिएन भने अथाह प्रकृति लोप भएर जानेछ ।’ सडक निर्माणको क्रममा रुख बुट्यान काटिएको, पहिलो नियन्त्रण गर्न नसकिएको र बहुमूल्य जडिबुटी समेत चोरी भैरहेकोले तत्काल रोक्ने अभियान थाल्नुपर्ने उनले सुझाव दिए ।

गाउँपालिकाले यो वडालाई पर्यटन प्रवद्र्धनको गन्तव्य बनाउने योजना अगाडि सारेको छ । चालु बर्ष बजेट नभइकनै कार्यक्रमको रुपमा मात्र सूचिकृत गरिएकोले आगामी बर्षदेखि सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘वडा वडाका गौरवका योजना बनाएका छौं, क्रमश लगानीपनि गर्छौ’ थापाले भने, ‘स्थानीय बजेटले नभ्याउने कार्यक्रमको हकमा संघ र प्रदेश सरकारमा माग गर्ने सोचाई छ ।’ पर्यटकीय क्षेत्र भएकोले नेपाल पर्यटन बोर्डको समेत लगानी ल्याउनका लागि प्रस्ताव लेखन गर्ने उनले बताए । यो क्षेत्रकै छेउमा शिवधुरी, घोडाबाँधे, गाजा दह र धम्जामा समेत पर्यटनका कार्यक्रम संचालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाको पहलमा यहाँ नजिकै दुइवटा होमस्टे प्रवद्र्धन गरिएको छ । शिवधुरी होमस्टेले शिव मन्दिरको प्रचार समेत गरेको छ । ‘होमस्टे बसेका पाहुनालाई बिहान रामकोट शिवमन्दिर जाने सल्लाह दिन्छौं’ स्थानीय दुर्गा गैरेले भनिन्, ‘बिहानी दृश्यावलोकनकालागि पनि यो क्षेत्र आर्कषक छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->