नवलपुर/ देवचुलीमा नेकपा एमालेले नगर अधिवेशन सम्पन्न गरेको छ । ९ कार्तिकमा सुरु भएको अधिवेशन ३ दिनपछि सर्वसम्मत रुपमा प्रथम अधिवेशन सम्पन्न भएको एमालेले दावी गरेको छ । तर, पदाधिकारीमा उम्मेदवारी हालेका अधिकांश उम्मेदवारले भने पार्टीले उपल्ला नेताहरुले केन्द्रीयता लाद्दै नेतृत्व घोषणा गरेको बताएका छन् ।
देवचुलीमा आज घोषणा गर्दै सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा कृष्णबहादुर केसी, उपाध्यक्षमा भीमलाल तिवारी, सचिवमा डिलाराम पाण्डे र सहसचिवमा ओमप्रकाश तिवारी र भुपाल अधिकारी नेतृत्वमा आएका छन् । अधिवेशनले ७५ सदस्यीय नगरपालिका कमिटि घोषणा गरेको छ ।
नवगठित नगर कमिटिका पदाधिकारी तथा सदस्यलाई घोषणा लगत्तै निर्वाचित प्रमाणपत्र प्रदानसँगै पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो ।
अध्यक्षमा १ महिला सहित ४, उपाध्यक्ष्यमा १ महिला सहित ५, सचिवमा ४ र उपसचिवमा १ महिला सहित ७ जनाको उम्मेदवारी परेको थियो । घोषित कमिटिो पदाधिकारीमा महिला उपस्थिति शून्य छ ।
यस्तै कावासोतीमा गएराती मध्यरातमा घोषणा भएको नगर अधिवेशनले रामकृष्ण ढुंगानाको अध्यक्षतामा ७५ सदस्यीय कमिटि सार्वजनिक गरेको छ । जसको उपाध्यक्षमा ईश्वरी भुसाल ढकाल, सचिवमा राजेन्द्रप्रसाद पाण्डे र सह सचिवमा धनिराम गुरौ र होमबहादुर रसाईली पदाधिकारीमा चुनिएका छन् ।
कावासोतीमा पनि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिने बातावरण नै सृजना नगरी नेतृत्वको पेलानबाट कमिटि बनेको असन्तुष्टी बाहिरिएको छ ।
नवलपुरका ८ मध्ये ६ पालिकामा ९ गते सुरु भएका अधिवेशन सवै सम्पन्न भएका छन् । यसअघि मध्यविन्दु, हुप्सेकोट, बौदीकाली र बुलिङटारमा ९ गते नै अधिवेशन सम्पन्न भएका थिए । गैंडाकोटको अधिवेशन जारी छ । विनयीत्रिवेणीमा अधिवेशन आह्वान नै हुन सकेको छैन ।





