बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढकमक्क सयपत्री

ढकमक्क सयपत्री


  • बिनोद ढुंगाना
  • कार्तिक १७ २०७८, बुधबार

वरपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको सुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।

तनहुँ/दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । गाउँघरका आँगनका डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन।
प्रतिमाला दुई सय रुपैयाँ तिरेर ल्याएकी दिदीले गलामा लगाइदिइन् । भाइटीका सकिएपछि दिदीभाइबीच छलफल चलेछ, ‘हाम्रो बारीमा पनि यस्तै फूल फुलाउन सकिएला कि नाइँ ?’ त्यसपछि तनहुँ भिमाद नगरपालिका८, धरमपानीका गोविन्द अधिकारीले आफैंसँग प्रण गरेछन्–अर्को साल जसै बारीमा सयपत्री लगाएर हेर्नुपर्ला कस्तो फुल्छ !

तिहारमा दिदीले ल्याएर गलामा लगाइदिएको मालाका सयपत्रीलाई उनले बिउ बनाएर गतवर्ष बारीमा परीक्षणस्वरुप लगाए । सयपत्री बारीमा ढकमक्क फुलेन मात्रै आम्दानी पनि रहरलाग्दो भएछ । ‘मालाको सयपत्रीलाई बिऊ बनाएर बिरुवा यही उत्पादन गरेर लगाउँदा ६० हजार रुपैयाँ जतिको व्यापार गरें हूँला ! आम्दानी पनि भयो र नयाँ अनुभव’, गोविन्द सम्झन्छन् ।
कोदो खेती गरेर मरीमेटी गर्दा मुस्किलले एक मुरी कोदो पनि नफल्ने बारीमा ६० हजार रुपैयाँको फूल फुलेपछि हौसिएका गोविन्दले यसपालिवर्षौदेखि बाँझिएको साढे ४ रोपनी बारी फोरेर व्यवसायिक तवरले सयपत्री लगाएका छन् । बाँझिएको बारीमात्रै होइन, धान फल्ने खेतमा पनि उनले सयपत्री फुलाएका छन् ।

चितवनबाट कलकत्ते ‐सुन्तले रङको) सयपत्रीकादश हजार बिरुवा ल्याएर उनले २०६५ सालदेखि बाँझो रहेको बारीमा लगाएका छन् । भदौ दोस्रो साता लगाएको सयपत्री तिहारको संघारमा ढकमक्क फुलेका छन् । वर्षांैदेखि कोदोसमेत फुल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिन्छ । वरपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको सुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थुंगा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर दुई लाख बढी आम्दानी हुने अनुमान गरेको गोविन्दले सुनाए । सयपत्रीले सजिलै बजार पाउने उनी बताउँछन् । उनले फूलको प्रचारका लागी सामाजिक सञ्जालको प्रयोग गरेका छन् । ‘फूल देखेपछि हामी लैजान्छौं भनेर व्यापारीको फोन आइरहेको छ’, उनले भने, ‘बर्सेनि तिहारका लागि भारतबाट करोडौंको फूल नेपाल ल्याइन्छ भनेपछि बजार पाउन दुखै छैन ।’
माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर सप्लाई गर्ने योजना रहेको अधिकारीले बताए । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै बिक्री भएको उनी बताउँछन् ।

डुलेको मन फूलबारीमा अडियो !

एसएलसी सकाएपछि गोविन्द वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब हानिए । १० वर्षको बसाइँपछि नेपालमै केही गर्ने सोचले फर्किए । त्यसपछि यातायात व्यवसायमा हात हाले । सोचेजस्तो सन्तुष्टि मिलेन । उनको व्यवसायिक यात्रा फेन्सी पसलमा मोडियो ।

फेन्सीमा पनि सोचेजस्तो नभएपछि किराना पसल चलाउन थाले । जुन अहिले पनि चलिरहेको छ । त्यतिमा मात्र उनको मन रम्न सकेन, कहिले तरकारी खेती गरे त कहिले केराको व्यापार । कुनैमा आम्दानी नहुने, कहिले बजार नपाउने समस्या भएपछि उनको मन कतै अडिएन। गत वर्ष लगाएको सयपत्री फूलमा भने उनको मन अडिएको छ ।

सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपालि व्यवसायिक तरिकाले लागेका उनी अर्को वर्ष फूल खेतीलाई अझ विस्तार गर्ने योजनामा रहेको बताए । ‘यहाँका धेरै युवाहरु पनि फुल खेतीमा आकर्षित देखिन्छन् । सम्भवत अर्को बर्ष सामुहिक रुपमै लाग्छौँ होला’, अधिकारीले योजना सुनाए ।

गाउँमा रहेका बाँझा बारीमा ढकमक्क सयपत्री फुलाएर विदेशबाट ल्याउने फूललाई प्रतिस्थापन गर्ने सुर कसेका छन्, उनले । तिहारको बेला मात्र नभएर हरसमय फूल खेती गर्ने योजना बनाएको अधिकारीले सुनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->