बागलुङ/तीन जिल्लाको संगम तिलाचन धुरीमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, रोल्पा र रुकुमको सीमानामा पर्ने धुरीमा पहिलोपटक मोबाइल डाटामा आधारित उच्च गतिको इन्टरनेट सेवा विस्तार भएको हो ।
मध्यपहाडी लोकमार्ग विस्तार र स्तोरन्नति भएपछि उक्त धुरी पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पर्यटकको चाप बढ्दै गएपछि टेलिकमले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी बिटिएस टावर स्थापना गरी सेवा विस्तार गरेको हो ।
समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा अवस्थित तिलाचन धुरी ‘पातीहाल्ने’ नामले परिचित छ । बागलुङको निसीखोला गाउँपालिका ६ स्थित तिलाचन धुरीमा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाईल सेवा टुजी र फोरजी सेवा सुरु गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
टेलिकमले ग्रामीण र दूरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजनाअनुरुप २५ मिटर अग्लो बिटिएस टावर निर्माण गरेको हो । यसअघि सो क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्र्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहरी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट बञ्चित थिए ।
भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पु¥याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । कुनै दिन जंगली जनावर र गोठालाहरुको मात्रा चहलपहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि आन्तरिक पर्यटक पातिहाल्नेमा पुग्न थालेका छन् ।





