तनहुँ/ सोमबार हरिबोधिनी एकादशी तनहुँमा धुमधामका साथ मनाईएको छ । तुलसीसँग भगवान् दामोदर ‘विष्णु’ को विवाह भएको स्मरण गर्दैै तुलसीको विवाह गरी मनाईने यो पर्वले तनहुँमा सोमबार रौनक थपिदियो ।
गत बर्ष कोरोना भाईरस संक्रमणको त्रासले सुनसान रहेका मठमन्दिर र नदी किनारमा यसपाली ब्रतालु भक्तजनको घुईँचो लाग्यो । मठमन्दिरसँगै रहेका नदी, पोखरीमा स्नान गरी पुर्जा अर्चना गर्ने र फुलको तोरण तार्ने भक्तजनको घुईचो लागेको हो ।
एकादशीको उल्लास व्यास नगरपालिका–९ मा रहेको सिदेश्वर राजापानी महादेव मन्दिरमा बढी थियो । मन्दिरमा पुजापाठ गर्ने र तोरण तार्ने भक्तजनको घुईचो लाग्यो । राजापानीमा सोमबार दिनभर ३१ वटा फुलको तोरण तारिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर थापाले बताए । उनका अनुसार गाउँ गाउँबाट बाजागाजा र भजनकिर्तन सहित भक्तजन फुलका डोली लिएर तोरण तार्न आएका थिए ।‘जिल्लाबाट मात्रै नभएर काठमाडौँ, गोरखा, चितवन, कास्कीबाट पनि तोरण तार्न फुलको डोली लिएर आए’, उनले अगाडी थप्दै भने, ‘गत बर्ष कोरोनाको त्रास भएकाले एकादशीमा हामीले रित मात्रै पुरा ग¥यौँ । यसपाली मन्दिरमा पुजापाठ गर्ने र तोरण तार्नेको चहलपहल धेरै बढ्यो ।’
राजापानीमा १९९९ सालदेखी एकादशीमा तोरण तार्न थालिएको ईतिहास छ । ‘सन्तान नभएकाले मन्दिरमा पुजा अर्चना गरेर तोरण तारेपछि प्राप्ती हुने जनविश्वास छ । आँटे ताकेको काम पुरा हुने भएकाले एकादशीमा फुलको तोरण लिएर भक्तजन टाढा टाढाबाट आउँछन्’, थापाले सुनाए । राजापानीमा एकादशीको दिनमा १०५ वटासम्म तोरण तारिएको उनी बताउँछन् । पछिल्लो दशकमा भने तोरणको संख्या घटेर ४० को हाराहारीमा झरेको थियो । यसपाली अझै घट्यो । ‘गाउँमा जनघत्व पनि घट्दो छ । कोरोनाको त्रास कायमै रहेकाले होला पहिलेको तुलनामा केही कम भएको’, उनको ठम्याई छ । व्यासको दमौली, शिशाघाट र गजौडेमा पनि एकादशीको रौनकले छोएको थियो ।
एकादशीको दिन मात्र विशेष मेला लाग्ने गर्दछ आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित आँधीमुल मन्दिरमा । सोमबार आँधीमुल मन्दिर पनि भक्तजनले भरिभराउ भएको छ । मन्दिरमा झत्तजनले १४ फुलको तोरण ल्याएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रेशम भुजेलले बताए । मन्दिर आसपासका गाउँबाट फुलको डोली ल्याईएको हो । ‘भाकल राखेकाले मनोकांक्षा पुरा भएपछि एकादशीको दिन फुलको डोली लिएर आउने प्रचलन छ’, उनले भने ।
एकादशी मेलाका लागि प्रसिद्ध हो शुक्लागण्डकी नगरपालिका–४ र ८ मा पर्ने पुल्चोकस्थित मुक्तेश्वर महादेव मन्दिर आर्थ शुक्ला हिलेटार धार्मिक क्षेत्र । सेती नदीको किनारमा रहेको यहाँको धार्मिक क्षेत्र एकादशीको दिन गुल्जार बनेपनि एउटा मात्रै तोरण तारियो । गणपतेका वृद्ध तेजप्रसाद सिग्देल यहाँ २० वटासम्म फुलको तोरण तारेको सम्झन्छन् । यसपाली धन्न एउटा तोरण तारेर एकादशीको साख जोगाईयो । एकादशी मेला भर्न आएका केही सेतीमा स्नान गरेर पुजा अर्चना गरेको देखिन्थ्यो । धेरैजसो किनमेल र जुवाको खालतिर झुम्मिए । ‘विस्तारै आस्था घट्दो छ । अर्कोतर्फ ठाउँ–ठाउँमा तोरण तार्न थालिएको छ । पहिला स्याङजाको केलादीमा कि यहीँ आएर फुल तार्ने चलन थियो’, सिग्देलले भने । पुल्चोकमा तनहुँसँगै स्याङजा र कास्कीका विभिन्न भुभागबाट एकादशी मेला भर्न आउँछन् ।
भिमाद नगरपालिका–७ सिस्नेरीस्थित सेती नदी किनारमा एकादशी मेला भर्न आएका भक्तजनको घुईँचो साँझपखसम्म पनि थियो ।यहाँ जिल्लाको दक्षिण भेगसँगै पाल्पाको रामपुर, नवलपुरको डेढगाउँ क्षेत्रबाट भक्तजन मेला भर्न आएका थिए । शुक्लागण्डकी–२ कोत्रेमा पनि सेती नदीमा एउटा तोरण तारिएको छ । शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संगममा रहेको दोभान भने यसपाली फुलको तोरण तारिएन् । यस्तै, प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाट क्षेत्रमा पनि विहानैदेखी त्रिशुली नदीमा स्नान गर्न भक्तजनको घुईँचो लागेको थियो ।
व्यास नगरपालिका–९ मा रहेको सिदेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला भर्न आएका भक्तजन र भक्तजनले तारेको फुलको तोरण ।
तस्बिर सौजन्य : सुनिता आचार्य





