सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

महामारीले थलिएको पर्यटन बजार उकास्न नेपाल र बंगलादेशका व्यवसायीको सहकार्य

महामारीले थलिएको पर्यटन बजार उकास्न नेपाल र बंगलादेशका व्यवसायीको सहकार्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७८, शुक्रबार
प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपालको निमन्त्रणमा नेपालको परिचयात्मक भ्रमणमा रहनुभएका पाटा बङगलादेशका अध्यक्ष शहिद हमिद पोखरामा बिहीबार आयोजित कार्यक्रममा धारणा राख्दै । तस्बिरः वासुदेव पौडेल

पोखरा/ नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीले लकडाउन खुलेपछि नेपालमा बंगाली पर्यटक घुम्न आउने बताएकी थिइन् । गण्डकी सरकारले गत असोज दोस्रो साता विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराएपछि राजदूत चौधरीले भनेकी थिइन्,‘कोठमाडौंदेखि बंगलादेशसम्म हवाइसेवा सुचारु भएपछि नेपालमा बंगाली पर्यटकको चाप बढ्नेछ ।’

राजदूत चौधरीले भने जस्तो नेपालमा बंगाली पर्यटकको चाप बढ्न सकेको छैन । हिमालय एयरलयन्स र बिमान बंगलादेशले दुई देशबीच नियमित हवाई उडान भर्दै आएपनि अपेक्षा गरिए अनुसार बंगाली पर्यटक नेपाल घुम्न आएका छैनन् ।

कोभिड– १९ को महामारीले नेपालको मात्र नभई बंगलादेशको पर्यटन व्यवसाय पनि थला परेको छ । बंगलादेशमा होटल संचालकसमेत रहेका प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) बंगलादेश च्याप्टरका अध्यक्ष शहिद हमिदले बाहिरी देशका पर्यटक मात्र नभई आन्तरिक पर्यटनमा पनि उल्लेख्य गिरावट आएको बताए । नेपालले जस्तै बंगलादेशले पनि अहिले विश्वभरका पर्यटकका लागि खुला गरेको छ ।
पाटा नेपाल च्याप्टरको निमन्त्रणामा १२ जना टुर अपरेटर, संचारकर्मी, व्यवसायीसहितको टोली लिएर काठमाडौं ओर्लिएका हमिद बुधबार पोखरा आए । पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका उनले दुई देशका व्यवसायीले पर्यटन प्रवद्र्धन गर्न हातेमालो गर्न आवश्यक रहेको औंल्याए ।

‘बंगलादेशका नागरिकले घुमफिरमा प्रशस्त पैसा खर्च गर्न थालेका छन्, उनीहरुलाई नेपालले आकर्षित गर्न सक्नुपर्छ’, हमिदले भने, ‘हामी दुइ देशका व्यवसायी मिलेर पर्यटन क्षेत्रलाई उकास्न सक्छौं ।’बंगाली नागरिकले नेपालको प्राकृतिक सम्पदा मन पराएका मात्र होइन, खुला रुपमा घुमफिर, मनोरञ्जन र नेपालमा पस्मिना लगायत विभिन्न सामग्री खरिद गर्न चाहने हमिदको भनाइ छ ।
पाटा नेपाल च्याप्टरका अनुसार कोरोना महामारी आउनुअघि सन् २०१९ मा २६ हजार बंगाली पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारी सुरु भएपछि पनि सानो संख्यामा बंगाली पर्यटक नेपाल आउन भने नछाडेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए ।

धेरै जसो बंगाली पर्यटक अहिले पनि बैंकक जाने गरेका छन् । बंगलादेशमा नेपाल प्रवद्र्धन गर्न सके उनीहरुलाई नेपाल भित्र्याउन सकिने बुडालको भनाइ छ । ‘बंगलादेशमा नेपाल प्रवद्र्धन नै भएको छैन’, उनले भने, ‘अहिले आइरहेका पर्यटक निकै सानो संख्यामा छ, थोरै मेहनतले पनि दोब्बर पार्न सकिन्छ ।’

बंगाली पर्यटकका लागि पनि नेपाल सस्तो र नजिकको गन्तव्य भएको उनले बताए । ढाकाबाट १ घण्टा २० मिनेटमा काठमाडौं उत्रने सक्ने र २ सय अमेरिकी डलर मात्र टिकट खर्च लाग्ने उनले बताए । बंगाली पर्यटकले डलरमा खर्च गर्ने भएकाले पनि नेपालको डलर संचिति बढ्ने भन्दै उनले बंगाली पर्यटकबाट फाइदै–फाइदा पुग्ने बताए ।

कोभिड–१९ को महामारीमा छोटो दूरीमा आउन सक्ने छिमेकी देशका पर्यटकलाई आकर्षित गर्नुपर्नेमा नेपालका पर्यटक व्यवसायी टीकाराम सापकोटा पनि सहमत छन् । बंगाली नागरिक नेपाल घुम्न आउँदा अधिकांश पोखरा आउने गरेको भन्दै उनले युवा पुस्ताका बंगालीहरुले पदयात्रा गर्न रुचाएको उनले बताए ।

नेपाल र बंगालादेशका पर्यटन व्यवसायीबीच व्यवसाय ‘नेटवर्किङ’ बंगलादेशका व्यवसायीलाई नेपाल बोलाएको भन्दै सापकोटाले यो भ्रमणले नेपालको प्याकेज बंगलादेशमा बेच्न सजिलो हुने बताए । ‘हामीले पर्यटकलाई दिने प्याकेज बंगलादेशकै व्यवसायीमार्फत् त्यहाँ बिक्री गर्न यो भ्रमण फलदायी हुनेछ’, सापकोटाले भने, ‘अहिलेसम्म सानो संख्यामा भएको व्यवसाय नेटवर्किङ यो भ्रमणले विस्तार गर्न टेवा पु¥याउँछ ।’
पोखरा आइपुगेका बंगाली पर्यटन व्यवसायीका समूहले बिहीबार बिहान फेवातालमा डुङ्गा शयर गरेका थिए । पोखराका व्यवसायीसँग व्यवसाय नेटवर्किङबारे छलफल सकेर उनीहरुलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय र विश्व शान्ति स्तुपमा दृश्यावलोकन गर्न लगिएको थियो ।

नेपालमा जस्तो अग्ला पहाड र हिमाल नभएका कारण बंगाली व्यवसायी यी दुबै ठाउँ पुग्दा अचम्मित बनेका थिए । पर्वतीय संग्रहालयमा राखिएका विभिन्न जातजातिका संस्कृति झल्कने सामग्रीदेखि पर्वतीय गतिविधि, हिमाल र संग्रहालयमा रहेका हिमाली जनजीवन झल्काउन सामग्रीले उनीहरुको ध्यान खिचेको थियो । संग्राहालयका निर्देशक निर्मला न्यौपानेले बंगाली टोलीलाई संग्रहालयका बारेमा जानकारी दिइन् ।
फेवातालमाथि रहेको विश्व शान्ति स्तुप पुग्दा उनीहरुले यति अग्लो पहाड कहिल्यै नचढेको बताएका थिए । बादलले अन्नपूर्ण श्रृङ्खला ढाकेपनि कहिलेकाँही खुल्दा देखिएका हिमालको थोरै भागले पनि उनीहरु रोमाञ्चक बनेका थिए । बंगाली टोलीलाई पोखरा टुर गाइड एसोसिएसनका अध्यक्ष कृष्ण भारतीले ‘गाइड’ गरेका थिए ।

बंगाली पर्यटन व्यवसायीको नेपाल भ्रमणले महामारीमा थलिएको पर्यटन क्षेत्र पुनरुत्थान गर्न सघाउ पु¥याउने पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले बताए । ‘विदेशी पर्यटक भन्ने वित्तिकै पश्चिमा पर्यटकलाई मात्र संझने होइन’, उनले भने, ‘बंगाली पर्यटकले पनि डलरमा पैसा तिर्छ, पश्चिमाले भन्दा धेरै खर्च गर्छ ।’परिषदकै आयोजनामा व्यवसाय नेटवर्किङका लागि पोखराका व्यवसायीसँग अन्तक्र्रिया र उक्त टोलीलाई दृश्यावलोकनको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->