नवलपुर/नेपाली काँग्रेसले नवलपुरका चारवटा प्रदेश क्षेत्रको अधिबेशन निर्वाचन विधिबाट टुङ्ग्याएको छ । शुक्रवार र शनिवार दुई दिन लगाएर जिल्लाका चारै प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रीय कार्य समिति र प्रदेश अधिबेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
चारै क्षेत्रमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर महेन्द्रध्वज जिसीको एक र केन्द्रमा रामचन्द्र निकट मानिने काँग्रेस महामन्त्री डा. शशांक कोइराला र पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा पक्षका विष्णु कुमार कार्कीबीच जिल्लामा बनेको अनौठो समीकरणको अर्को गुटबीचको प्रतिस्पर्धा हुँदा परिणाम भने मिश्रित आएको छ ।
महामन्त्री कोइरालाको आधार क्षेत्र भनिएको नवलपुरको क्षेत्र नं. १ को क मा जिसी लाइनका गोपालप्रसाद सापकोटा सभापतिमा निर्वाचित भए । सापकोटाले कोइराला प्यानलका तारापति खरेललाई ८२ मतान्तरले उछिनेका हुन् । सापकोटाको पक्षमा ३ सय २९ मत पर्दा खरेलले २ सय ४७ मत ल्याएका हुन् ।
क्षेत्र नं १ (ख) को सभापतिमा कोइराला प्यानलका हेम प्रसाद पाण्डे बिजयी भएका छन् । पाण्डेले ३ सय २९ मत प्राप्त गर्दा जिसी प्यानलका प्रदिपराज घिमिरेको पक्षमा २ सय २० मत खसेको हो ।
क्षेत्र नं २ को क मा जिसी प्यानलका रामचन्द्र भण्डारीले सभापतिमा बाजी मारे । भण्डारीलाई २ सय ३ मत आउँदा विष्णु कार्की पक्षका ऋषीराम कडेंलललाई. १ सय ८५ मत परेको हो ।
क्षेत्र नं २ को ख मा कार्की लाईनका कृष्ण तिवारी सभापतिमा निर्वाचित भएका छन् । तिवारीले २ सय ५३ मत ल्याउँदा जिसी धारका कृष्ण चौधरीले १ सय ३५ मत पाएका हुन् ।
प्रदेश अन्तर्गतको क्षेत्रीय कार्यसमितिका अन्य पदाधिकारी र सदस्यमा समेत मिश्रित नतिजा आएको छ ।





