सौरहा – नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्।
ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा १८२ मत मात्रै झरेको छ। निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्।
अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ।
एमाले अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका लागि मतदान भएको हो।
६ उपाध्यक्षका लागि सात जनाबीच प्रतिस्पर्धा छ। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।
त्यस्तै ओलीको सूचीमा नरहेका घनश्याम भुसाल पनि प्रतिस्पर्धामा रहेका छन्।
सात सचिवमा नौ जनाबीच प्रतिस्पर्धा छ। टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ। उनीहरू सबै अध्यक्ष ओलीको सूचीका हुन्। त्यस्तै सूचीमा नरहेका भीम आचार्य र टंक कार्कीले पनि प्रतिस्पर्धा गरिरहेका छन्।





