सौरहा – नेकपा एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली फराकिलो मत अन्तरसहित विजयी भएका छन् । प्रतिस्पर्धी डा.भीम रावललाई फराकिलो अन्तरले हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।
ओलीले १८०८ मत प्राप्त गरेका छन भने रावलले २१३ मत पाएका छन् । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

एमालेको महाधिवेशनमा २ हजार १५३ जना प्रतिनिधि सहभागी भएकोमा २ हजार ९६ जना मतदानमा सहभागी भएका थिए।
नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।





