काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनको तीन अध्यक्ष पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले तीनवटा पानसमा बत्ती बालेर गरे ।
महाधिवेशनमा देशका विभित्र राजनीतिक दलहरूका नेता अतिथिका रुपमा सहभागी रहेका छन्। यो महाधिवेशनमा राप्रपाका ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट सहभागी भएका छन्।
महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ ।

निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् ।
महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ ।
महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता रहने राप्रपाले जनाएको छ। संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउनेछन् ।
३ सय ३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए । एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन् ।
यसबाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउनेछन् । तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र गर्ने तालिका छ ।





