पोखरा\पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपाली कांग्रेस गण्डकीको अधिवेशन उद्घाटन समारोह चलिरहेको थियो । प्रदेश सभापतिका आकांक्षी रहेका नेता अर्जुन जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा मञ्चमा बोलाइयो । मन्तव्यका क्रममा उनले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिदिए ।
नयाँबजारदेखि प्रदर्शनी केन्द्र जाने बाटोभरी सभापतिका उम्मेदवार जोशीले प्रचार सामाग्री टाँसेका थिए । उनी सभापति देउवा पक्षका उम्मेदवार हुन् । वरिष्ठ नेता पौडेल पक्षमा ४ सभापतिका आकांक्षी भए पनि उनीहरु कसैको पनि प्रचार सामाग्री देखिएनन् । साझा उम्मेदवारको खोजीमा उनीहरुले प्रचार नगरेको जनाएको छ ।
प्रदेश अधिवेशनको उद्घाटन मञ्चबाट जोशीले उम्मेदवारी घोषणा गरेपछि कांग्रेस कार्यकर्ताले होहल्ला गर्न थाले । मञ्च नजिकै पुगेर नाराबाजी गर्न थाले । कतिपय कार्यकर्ताले प्रदेश अधिवेशनको संयोजक पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई दोस्रो केपी ओलीको संज्ञा दिँदै तानाशाही भन्न भ्याए ।
होहल्लाकै बीच पूर्वमन्त्री यज्ञबहादुर थापा मञ्च पुगे । माइक समातेर बोल्न थाले । ‘म यज्ञबहादुर थापा, विपी कोइरालाको आम सभाको उद्घोषक थिए,’ उनले भने, ‘मलाई लाग्छ मेरो हैसियत यहाँ मञ्चमा बोल्नेहरुको भन्दा कम छैन ।’
देउवा पक्षीय सभापतिका आकांक्षी जोशीले उम्मेदवारी घोषणा गरिदिएका कारण सभापतिका अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने नाराबाजीमा लागेका कार्यकर्ताले माग गरेका थिए । कार्यक्रममा पौडेल पक्षका सभापति आकांक्षी थापा, देवराज चालिसे र शुक्रराज शर्मा कार्यक्रममै थिए । उनीहरुले पनि आफूहरु बोल्न पाउनुपर्ने माग राखे ।
उद्घाटन कार्यक्रमका सभापति श्रेष्ठ थिए । प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत पनि मञ्चासिन थिए । कार्यक्रम संचालक कास्कीका पूर्वसभापति कृष्ण केसी लगायतले सभापति श्रेष्ठसँग अन्य नेतालाई पनि बोल्न समय दिनुपर्ने बताए ।
माइकमा भने सभापतिका आकांक्षी पूर्वमन्त्री थापा बोलिरहेका थिए । उनले भने, ‘गोपालमान दाइ, रामचन्द्र दाई, महामन्त्री हुनुहुन्छ, तपाइहरुको व्यवस्थापनले कहाँ पु¥याउँछ मेरो पार्टीलाई, थापाले भने, चुनाव लड्नुस्, जित्नुस्, हार्न त दिनुस् हामीलाई ।’
होहल्लाकै बीच सभापतिका अर्का आकांक्षी देवराज चालिसेले माइक समाते । केन्द्रिय समितिमा रहेका नेताहरुले बोल्दा मर्यादामा बस्न सुझाए । ‘उम्मेदवार हो भने बाहिर अर्को मञ्चमा बोल्न सक्नुहुन्छ,’ उनतले भने, ‘यो मञ्च उम्मेदवारको हैसियतका रुपमा बोल्न मर्यादित हुँदैन ।’
चालिसे यतिमै रोकिएनन् । उनले भने, ‘प्रधानमन्त्री र केन्द्रीय सदस्यको कुरा गरेर मर्यादा मिच्न नहुनेमा जोड दिइरहे । प्रधानमन्त्रीको फोन लगाएर, केन्द्रीय सदस्यको कुरा गरेर कांग्रेसको आस्था मिच्न मिल्दैन ।’
कार्यक्रमका सभापति एवं प्रदेश अधिवेशन संयोजक श्रेष्ठले सभापतिका सबै आकांक्षीलाई २÷२ मिनेट बोल्न समय दिएपछि कार्यकर्ता शान्त भए । नेताहरु पनि शान्त भए । सभापतिका आकांक्षीहरु शुक्रराज शर्मा, थापा र चालिसेले पनि बोल्न पाए ।
मञ्चमा बसेर यस्तो दृश्य हेरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीं नभएको जात्रा भएको टिप्पणी गरे । ‘कहीं नभएको जात्रा हाँडीगाउँमा,’ पौडेलले भने, ‘कहीं नभएको अव्यवस्था कांग्रेस १४ औं महाधिवेशनमा ।’
महामन्त्री कोइरालाले कांग्रेसलाई गुटविहीन बनाउनुपर्ने बताए । ‘कांग्रेसमा गुट घातकसिद्ध भएको छ,’ कोइरालाले भने, ‘अब कांग्रेसमा गुट समाप्त हुनुपर्छ ।’
हटाइयो उम्मेदवारी शुल्क
कांग्रेस प्रदेश महाधिवेशन आयोजक समितिले आर्थिक व्यवस्थापन समितिको सुझावमा प्रदेश समितिको उम्मेदवारीको चर्को शुल्क राखेको थियो । समितिले सहभागी रजिष्ट्रेशनका लागि २ हजार ५ सय, सभापति उम्मेदवारले ९१ हजार, उपसभापति उम्मेदवारले ६१ हजार, महामन्त्रीले ५१ हजार र सहमहामन्त्री उम्मेदवारले ४१ हजार उम्मेदवारी दस्तुर तोकेको थियो । यस्तै, प्रदेश समिति सदस्यका लागि ३१ हजार उम्मेदवारी दर्ता शुल्क तोकेको थियो ।
कांग्रेस केन्द्रले जारी गरेको निर्वाचन कार्यविधि भन्दा अत्याधिक शुल्क तोकिएपछि कांग्रेस नेता महादेव गुरुङले विरोध जनाए । समाजवादी पार्टी कांग्रेसमा गरिब कार्यकर्ता उम्मेदवार हुनै नसक्ने अवस्था ल्याउन खोजेको भन्दै उनले आपत्ती जनाए । उनको विरोधमा कार्यकर्ताले साथ दिएपछि उक्त उम्मेदवारी शुल्क हटाएको छ । विरोधपश्चात कांग्रेस केन्द्रले तोकेको उम्मेदवारी शुल्क मात्र लिने गरी अतिरिक्त शुल्क हटाएको कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार कार्यकर्तालाई पोखरामा बास बस्नका लागि रजिष्ट्रेशन शुल्क २ हजार ५ सय भने लिएको छ । उक्त रकमबाट पोखरामा बस्न खानको व्यवस्था मिलाएको केसीले जानकारी दिए ।
कांग्रेस संस्थापन इतर समूहको सभापतिमा शुक्रराज शर्मा
नेपाली कांग्रेस गण्डकी सभापतिको लागि संस्थापन इतर समूहले कास्कीका पाका नेता शुक्रराज शर्मालाई सभापतिको साझा उम्मेदवार बनाएको छ । बिहीबार अबेर पोखराको एक होटलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति घोषणा गरेका हुन् । घोषण सभामा पार्टीका महामन्त्री डाक्टर शशांक कोइरालासहित संस्थापन इतर समूहका नेताहरु उपस्थित थिए । सभापतिबाहेकका अन्य पदहरुमा भने भोलि बिहान उम्मेदवारी दर्ताभन्दा अगाडिसम्म उम्मेदवार तय गरिने उनले बताए ।
सभापतिमा पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका युवानेता देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल तथा नवलपुरका महेन्द्रध्वज जिसीले दावेदार िप्रस्तुत गरेका थिए । शुक्रराज कास्कीका पुराना नेता हुन् । १५ वर्ष कास्की कांग्रेसको सभापति चलाएका उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट संघीय सांसदका प्रत्यासी थिए । नेपाली कां्रग्रेसको आमन्त्रित केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्यसमेत रहेका उनी कास्की कांग्रेसको हस्ती मानिन्छन् । कास्कीमा उनको छुट्टै गुट छ । पछिल्लो समय उनी संस्थापनतिर नजिकिएको चर्चा चलेको थियो । संस्थापनले पर्वतका अर्जुन जोशीलाई उम्मेदवार बनाएपछि त्यताबाट सभापति पाउने सम्भावना टरेको थियो । शर्मालाई सभापतिको उम्मदेवार घोषणा कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जित्ने व्यक्तिलाई सभापतिको उम्मेदवार बनाइएको बताए । उनले मुटुमा ढुंगा राखेर निर्णय गरिएको र बाँकी आकांंक्षीहरुलाई अन्य ठाउँमा व्यवस्थापन गरिने बताए ।
आउँदो निर्वाचनमा कांग्रेस कसैसँग मिल्न हुँदैन– शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आउँदा निर्वाचनमा कसैसँग नमिल्ने बताएका छन् । कांग्रेस गण्डकी अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कुनै पनि दलसँग नमिली एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
‘आउँदो निर्वाचनमा नेपाली कांग्रेसको कसैसँग मिलन हुँदैन, कसै कुनै पार्टीसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ’, कोइरालाले भने, ‘हामी एक्लै विजय हासिल गर्छौ ।’ उनले कांग्रेस गुट उपगुटले ध्वस्त भएको भन्दै पार्टी भित्र एकता आवश्यक रहेको बताए । कांग्रेसको नेतृत्वमा धेरै राजनीतिक परिवर्तन र विकासका अभियान चलाएको भन्दै उनले महाधिवेशनबाट कोही आत्तिन नहुने बताए ।
‘अधिवेशनबाट तर्सिएर आत्तिएर हुँदैन, अधिवेशन भनेको कांग्रेसलाई एकजुट बनाउने थलो हो’, उनले भने, ‘कांग्रेसलाई हराउने भनेको कांग्रेसभित्रै हो, कम्युनिष्ट जति मिले पनि कांग्रेसलाई हराउन सक्दैन ।’
माधव र प्रचण्डलाई आश्वस्त पार्न उच्चस्तरीय संयन्त्र– पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माधव नेपाल र प्रचण्डलाई आश्वस्त पार्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन आफु सहमत भएको बताएका छन् । संयन्त्र गठन हुनुअघि शीर्ष नेताहरुको बैठकमा आफूले २ पटक संयन्त्र आवश्यक नरहेको बताएको दाबी गरे ।
‘माधव नेपाल र प्रचण्डले अत्यन्त असुरक्षित महशुस गर्नुभएको मलाई लाग्यो, त्यसपछि मैले उहाँहरुलाई आश्वस्त पार्न संयन्त्र बनाउन सहमति दिए,’ पौडेलले भने, ‘उहाँहरुले नै संयन्त्रको पहिलो संयोजक मलाई बनाउन प्रस्ताव गर्नुभएको हो ।’ संयन्त्र बनाएर उनीहरुलाई केही न केही आश्वस्त पारिएको पौडेलले बताए ।
कांग्रेसबाहेक अरु दल लोकतन्त्र प्रतिको आस्थामा डगमगाएको उनले आरोप लगाए । अरु दल लोकतन्त्र छाडेर अन्य बाटोमा हिडेको बताउँदै उनले कांग्रेसले लोकतन्त्र र समाजवाद बाहेक अरु उदेश्य नराखेको बताए ।
अर्को प्रसंगमा बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आफुले ५ दलका शीर्ष नेताहरुलाई आग्रह गरेको बताए । ‘५ दलको संयन्त्रको बैठकमा मैले सबै शीर्ष नेताहरुसँग सर्वोच्च अदालतमा देखिएको समस्याको कुरा उठाए,’ उनले भने, ‘सर्वोच्च अदालतमा यस्तो जात्रा नराख्नुस्, भनेको छु, छिटो निकास दिनुपर्छ ।’
कांग्रेस गण्डकी अधिवेशनको उद्घाटन गर्न बुधबार पौडेल पोखरा आएका थिए । उनले पार्टीलाई अहिलेको अवस्थामा पु¥याउने नेतृत्व कांग्रेसलाई आवश्यक नरहेको बताए । सभापति देउवाको नाम नलिइकन उनले शिक्षित र बुझेका कार्यकर्ता भएकाले अब परिवर्तनका पक्षमा उभिन र अहिलेको नेतृत्व स्थापना गर्न आह्वान गरे ।





