बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुरले इन्जिनियरिङ पढाउने

बन्दीपुरले इन्जिनियरिङ पढाउने

प्राथमिकतामा शहीद, बेपत्ता र घाइते परिवार, उत्पीडित दलित र गरिब विद्यार्थी ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७८, शनिबार

तनहुँ\तनहुँको बन्दीपुर गाउँपालिकाले छात्रावृत्तिमा इन्जिनियर पढाउने भएको छ । चालु आर्थिक वर्षदेखि बन्दीपुरले दुई जना विद्यार्थीलाई छात्रावृत्तिमा इञ्जिनियरिङ पढाउन लागेको हो ।
छात्र छात्रा एक÷एक जनालाई छनोट गरी पूर्ण छात्रावृत्तिमा पढाउन लागिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार यसबर्ष सुरु हुने कार्यक्रम २० बर्षसम्म सञ्चालन गर्ने योजना छ । ‘हामीले कम्तीमा ४० जना इन्जिनियर उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ अध्यक्ष थापाले भने ।
इञ्जिनियरिङ पढाउन छात्रवृत्ति दिन गाउँपालिकाले प्राथमिकता समेत निर्धारण गरेको छ ।‘शहीद, बेपत्ता र घाइते परिवार प्राथमिकतामा पर्नेछन् । उत्पीडित दलित र गरीब विद्यार्थीलाई पनि यो कार्यक्रममा समेटेर इञ्जिनियर बनाउँछौँ’, उनले भने ।
गाउँपालिकाले सुचना प्रकाशित गरेर छात्रावृत्तिमा इञ्जिनियरिङ पढ्ने विद्यार्थी छनोट गर्ने जनाएको छ । डाक्टर, पाइलट पढाउन तुलनात्मक रुपमा शुल्क महंगो पर्ने र गाउँपालिकाको आयस्रोत कम भएको कारण इञ्जिनियरिङ विषय रोजेको अध्यक्ष थापाको भनाइ छ ।
गाउँपालिकाले छात्रावृत्तिमा पढाएर उत्पादन भएका इञ्जिनियरलाई रोजगारी समेत व्यवस्था गरिनेछ । ‘दुई वर्ष गाउँपालिकामा अनिवार्य सेवा गर्नुपर्नेछ । गाउँपालिकासँग सम्बन्धित प्रोजेक्टमा भएपनि रोजगारी दिनेछौं,’गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले भनिन् ।
विकास निर्माणमा इन्जिनियरको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ । चालु आर्थिक बर्षको बजेटमा दुई विद्यार्थीलाई इञ्जिनियरिङ पढाउन गाउँपालिकाले आठ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरेको छ । बर्सेनि बजेटको आकार बढ्ने गाउँपालिकाको अनुमान छ । बन्दीपुरले माध्यमिक तहको पढाइ हुने सबै विद्यालयमा छात्रावास राख्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->