बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एमालेलाई भोट माग्ने अधिकार छैन : मन्त्री श्रेष्ठ

एमालेलाई भोट माग्ने अधिकार छैन : मन्त्री श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार

तनहुँ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले एमालले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् । एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री श्रेष्ठको जिकिर छ । दुई पटक संसद विघटन गरेर एमालेले जनताको मतलाई कदर नगरेको उनको जिकिर छ ।
‘अघिल्लो निर्वाचनमा देशभरका जनताले करिब दुई तिहाइको मत दिएर कम्युनिष्ट पार्टीलाई सरकार चलाउ भनेर दिइरहँदा घमण्डी र पाखण्डी नेताहरुले दुई–दुई पटकसम्म संसद विघटन गरेर जनताको अभिमतलाई अपमान गर्ने काम गरे’, उनले भने, ‘नेकपा एमालेलाई अब गाउँगाउँमा पुगेर भोट माग्ने कुनै अधिकार छैन् । जनताले विश्वास गरेर जिताएपछि दुईपटक संसद विघटन गरेको हुनाले उहाँहरुलाई संसद चाहिएको छैन् । जनताको विश्वास चाहिएको छैन् । चाहिएको छ त कुम्भ मेला ।’ उनले हालै चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेनलाई कुम्भ मेलाको संज्ञा दिएका हुन् ।
शनिबार तनहुँको शुक्लागण्डकी नगरपालिका–३ को वडा कार्यालय भवन उद्घाटन गर्न आएका मन्त्री श्रेष्ठले एमालेले राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्न नसकेको टिप्पणी गरे । ‘चितवनमा महाधिवेशनको नाममा करोडौँ रुपैयाँ खर्च गरेर कोटको खल्तीबाट नाम सरररररर पढेर सकियो महाधिवेशन । कमरेड भीम रावल, घनश्याम भुसाललगायतले यस्तो काम हँुदैन हामी चुनाव लड्छौँ भन्दा धम्क्याउने तर्साउने, चुनाव लड्न पाइँदैन् भन्ने । कहाँको प्रजान्त्रिक अभ्यास हो यो ?’,उनले प्रश्न गरे ।
एमाले अधिनायकवाद संविधानलाई र संघीय गणतन्त्रलाई नै सखाप पार्ने हिसाबले लागेको मन्त्री श्रेष्ठले आरोप लगाए । अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कसले जनताको मन जित्ने गरी काम गर्छ उसैलाई छान्न उनको अनुरोध थियो । कोरोनाले रोजागरी गुमाएलाई आफ्नो मन्त्रालयले अवसर दिने उनले बताए ।
वडा कार्यालयको भवन निर्माण सकेर सरेको झण्डै डेढ वर्षमा मन्त्री बोलाएर उद्घाटन गरिएको हो । मन्त्री वडा कार्यालय आउने भएपछि कन्तविजोग अवस्थामा पुगेको दुलेगौँडा हर्कपुर मोटरमार्ग मर्मत गरिएको थियो । मन्त्री आउने बेला सडक मर्मत गर्ने जनताले जति दुःख पाएपनि केही नहुने भन्दै स्थानीय सरकार र जनप्रतिनिधिको चर्को आलोचना भइरहेको छ । गण्डकी प्रदेश सरकारले कालोपत्रे गर्न ठेक्कामा लगाएको दुलेगौँडा हर्कपुर मोटरमार्गको काममा ढिलाई भएको भन्दै स्थानीयले मन्त्री समक्ष चाँडो काम गर्नलाई पहल गरिदिन आग्रह गरेका थिए ।
गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री आशा कोइरालाले सरकारले विकास निर्माणका लागि गर्ने सरकारका लगानीप्रति नागरिक सचेत हुनुपर्ने बताइन् । उनले विभिन्न वहानामा काम गर्न अवरोध गर्नेहरुलाई वडा र नगरका जनप्रतिनिधिले पहिचान गरेर कारवाही गर्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एककिृत समाजवादीकी केन्द्रीय सदस्य रेखा बस्याल थापा, तनहुँ इञ्चार्ज चित्र थापा, व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्व न्यौपाने, नेपाली कांग्रेस शुक्लागण्डकी नगर कमिटीका सभापति गोपिबहादुर गुरुङ, जनता समाजवादी पार्टीका शुक्लागण्डकी नगर अध्यक्ष देउनारायण श्रेष्ठ, शुक्लागण्डकी–३ का वडा सदस्य विष्णुहरी गर्तौला, वडा सचिव शालिकराम भट्टराईलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->