मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीका नेताहरु सभापति ताक्ने तर नपाउने !

गण्डकीका नेताहरु सभापति ताक्ने तर नपाउने !

रामचन्द्रको चित्त फाट्दा नयाँलाई अवसर ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार

पोखरा/नेपाली कांग्रेसको राजनीतिमा गण्डकीबाट उपसभापति र वरिष्ठ नेताको दर्जाभन्दा कोही माथि पुगेनन् । २०१७ सालमा महामन्त्री बनेका श्रीभद्र शर्माले पञ्चायत नरोजेको भए वा २०५३ सालमा महामन्त्री बनेका तारानाथ रानाभाटको ओरालो यात्रा तय नभएको भए उनीहरु कहाँ पुग्थे ? भन्न सकिँदैन ।

तर, २०५३ मा गिरिजाप्रसाद कोइराला सभापति हुँदाका महामन्त्री तारानाथ रानाभाटको राजनीतिक यात्रा माथि लागेन । दशौं महाधिवेशनबाट सहमहामन्त्री बनेका तनहुँका गोविन्दराज जोशी पनि माथि उक्लन सकेनन् । २०५९ मा गोरखाका चिरञ्जीवी वाग्ले उपसभापति बने भने २०६२ मा रामचन्द्र पौडेल उपसभापतिमा उक्लिए । २०६४ को एकता महाधिवेशन र २०६६ को १२ औं महाधिवेशनमा पनि उपसभापतिमै रहे । अर्कोतर्फ २०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिकबाट स्याङ्जाका गोपालमान श्रेष्ठ उपभापति बने ।

उपसभापतिसम्म उक्लिएका चिरञ्जीवी वाग्ले भ्रष्टाचारको मुद्दासँगै राजनीतिबाट बाहिर छन् भने सहमहामन्त्री भएका गोविन्द्रराज जोशीलाई पनि समयक्रमले कांग्रेस मूलधारको राजनीतिबाट टाढा धकेलिसकेको छ । कास्कीका तारानाथ रानाभाट र स्याङ्जाका गोपालमान उमेर र क्रियाशिलता दुबैले गर्दा अब माथिल्लो पद आँक्ने अवस्थामा छैनन् । गोपालमानले पनि आफूलाई १४ औं महाधिवेशनमा सभापति घोषणा गरेका थिए । तर, उम्मेदवारी दिने बेला उनी पछि सरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट ‘अश्रुपूर्ण विश्राम’को घोषणा गरेसँगै उनको सभापति हुने सम्भावना सकिएको ठानिएको छ ।

कांग्रेसको राजनीतिमा महत्वपूर्ण योगदान र त्याग गरेका गण्डकीका अघिल्लो कांग्रेसी पुस्ता उपसभातिमै खुम्चिँदा केही युवाहरुको लागि भने अवसरको ढोका खुलेको छ । उनले नेतृत्व गरेको गुटकै ४ जनाले पदाधिकारीको उम्मेदवार बन्ने मौका पाएका छन् भने कुनैबेला उनीसँगै रहेका गृहजिल्लाका युवा नेता प्रदीप पौडेल महामन्त्रीको बलियो दावेदारको रुपमा मैदानमा रहेका छन् । केन्द्रीय सदस्यमा पनि गण्डकीका थुप्रै उम्मेदवार मैदानमा झरेका छन् ।
रामचन्द्रको लागि बिर्सनलायक बनेको १४ औं महाधिवेशनमै धनराज गुरुङले उपसभापतिको प्रत्यासी बन्ने मौका पाएका छन् । उनी रामचन्द्रको सदासयता रहेको मानिएको शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बनेका हुन् । धनराज उपसभातिको प्रत्यासी बन्दा शेखरले दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार तथा खस आर्यतर्फबाट देवराज चालिसे तथा महिलाबाट कमला पन्तलाई मैदानमा उतारेका छन् । धनराज स्याङ्जा, जीवन र देवराज कास्की तथा कमला पन्त गोरखाकी हुुन् ।

‘रामचन्द्र दाइ नै सभापतिको उम्मेदवार बन्ने अवस्थामा यी सबै अनुहारले पदाधिकारीमा ठाउँ पाउने थिएनन्’,उनी समूहका एक नेताले भने,‘ परिस्थिति बिग्रँदा एक हिसाबले नयाँ पुस्ताले अवसर पाएको छ,अब उनीहरुले नै आफूलाई प्रमाणित गर्न सक्नुपर्छ ।’

कम छैन, कांग्रेसमा गण्डकीको योगदान

नेपाली कांग्रेसको राजनीतिमा उच्च तहमा पुग्ने गण्डकीका पहिलो नेता हुन्–श्रीभद्र शर्मा । १९८३ सालमा तनहुँको सिम्पानीमा जन्मेका श्रीभद्रहरुले २००४ सालमा चलाएको जयतु संस्कृतम आन्दोलन कालान्तरमा कांग्रेसको परिचय बन्यो ।संस्कत छात्राबासमा बस्ने विद्यार्थीहरुले आधुनिक विषय पढ्न पाउनुपर्छ भन्दै राणाविरुद्ध छेडिएको यो आन्दोलनका पहिलो अध्यक्ष तनहुँका श्रीभद्र शर्मा थिए ।

छात्राबासमा धरपकड भएपछि श्रीभद्र भागेर बनारस गए । बीपी कोइरालासँगको भेटपछि कांग्रेसमै होमिए । नेपाली कांग्रेसका संस्थापकमध्येका एक श्रीभद्रले राणाविरुद्धको आन्दोलनमा तत्कालीन पश्चिम नेपालको कमाण्ड गरे । भला, महामन्त्री भइसकेका श्रीभद्र २०३१ सालमा पञ्चायत पसे । श्रीभद्र पहिलो पटक २०१२ सालमा कांग्रेस केन्द्रीय समितिमा अटाएका थिए भने २०१७ सालमा बीपी सभापति हुँदा महामन्त्री बनेका थिए । । कांग्रेसको २०४६ सालको आन्दोलनपछि राष्ट्रिय जनता परिषद्मा संलग्न हुँदै पार्टीलाई कांग्रेमै विलय गराए । बन्दीपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डर रहेका उनलाई हाल गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले याद गरेको हुुनुपर्छ । किनकि, कृष्णचन्द्रका पिता गोवद्र्धन शर्मा तत्कालीन अवस्थामा मुक्ति सेनामै थिए ।

गण्डकी वा पश्चिम नेपालमा कांग्रेसको संगठन विस्तारमा श्रीभद्रहरुको योगदान अतुलनीय छ । मृत्यु कि मुक्ति भन्ने नारासहित कांग्रेसमा होमिएका उनीजस्तै नेताहरुका कारण गण्डकी प्रदेश कांग्रेस जन्माउने ‘मेसिन’मा रुपान्तरित भयो । मुक्ति आन्दोलनका शहीदहरु हरिप्रसाद गुरुङ हुन् कि बन्दीपुर कब्जा अभियानमा शहीद भएका धर्मध्वज गुरुङ,धर्मबहादुर श्रेष्ठ, सन्तबहादुर राना मगर, उत्तमकुमार श्रेष्ठ,चन्द्रबहादुर सार्की र खड्गबहादुर गोदार नै किन नहुन् ? उनीहरुको त्याग र रगतको आहालमा कांग्रेसको संगठन उभियो ।

२०१६ सालमा राजा महेन्द्रले ‘कु’ गरे । देशमा पञ्चायत आयो । कांग्रेसीजनहरु धरपकडमा परे तर संगठन विस्तार रोकिएन । तनहुँकै रामचन्द्र पौडेल,गोविन्दराज जोशी,गोरखाका चिरञ्जीवी वाग्ले, लमजुङका श्रीकान्त शर्मा,दिलबहादुर घर्ती,स्याङ्जाका डण्डपाणि शर्मा, गोपालमान श्रेष्ठ, कास्कीका तारानाथ रानाभाट,मीनबहादुर गुरुङजस्ता हस्तीहरु जीवनपर्यन्त कांग्रेस नै भइरहे । धरपकड सहे तर पार्टी छाडेनन् । गण्डकीमा कांग्रेस इतिहाससँग जोडिएका धेरै छुटाउन नहुने नाम धेरै होलान् तर तीमध्ये केहीले भने कांग्रेसको नेतृत्व तहमै रहेर संगठन निर्माण गरे÷विचार बनाए । तर, तीमध्ये केही अनुहारमात्रै कांग्रेसको पदाधिकारीमा पुगे । धेरैले उच्च पद ताके पनि पाएनन् ।

‘गण्डकीले कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान गरेको छ तर सोचेजस्तो अवसर पाएको छैन’,कांग्रेसका एक नेताले भने,‘ पहिलो पुस्ताको बाध्यकारी विश्रामसँगै इतिहासमा गण्डकीले दिएको योगदानको बलमा माथि उक्लने अवसर दोस्रो पुस्तामा सरेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->