पोखरा/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मालाई सघाउने घोषणा गरेका छन् । उनले गुट बिना निर्वाचन जित्न सकिन्छ भन्ने उदाहरण पेश गर्न विश्वप्रकाशलाई शुभकामना पनि दिएका छन् ।
गोप्य मतदानको मर्मलाई उलङ्घनको घोषणा गर्दै उनले शर्माको लागि मत पनि मागेका छन् । सामाजिक सञ्जाल ट्विट्रमा उनको अभिव्यक्तिलाई विश्वप्रकाशले प्रचार सामग्रीको रुपमा सार्वजनिक गरिरहेका छन् । किशोरदत्त यसअघि वर्तमान सभापति शेरबहादुर देउवा समूहको समर्थनमा कास्की सभापति चुनिएका थिए । त्यसो त, महामन्त्रीको उम्मेदवार बन्नुअघिसम्म विश्वप्रकाश पनि देउवा समूहमै थिए । देउवाले महामन्त्रीको टिकट नदिएसँगै उनी अर्का सभापति प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।
किशोरदत्तले रामचन्द्र पौडेलले सभापतिको दौडबाट बाहिरिने निर्णयको पनि खुला हृदयले स्वागत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘ जसले अरुलाई जित्ने कोशिश गर्दैन , उसले कहिल्यै पनि हार्दैन । यसैले आज रामचन्द्र दाईले कहिल्यै झर्नु नपर्ने राजनीतिको त्यो शिखर चुम्नु भएको छ जहाँबाट उहाँलाई कहिल्यै पनि खस्नु पर्ने छैन । मान्छेको उचाइ पदले होइन,व्यवहारले निर्धारण गर्ने गर्दछ । अभिभावकको त्यो भूमिका यसरी निर्वाह गर्नुहोला जसले जति पत्रपत्र कोट्याएर खोजे पनि त्यसभित्र कुनै इष्र्या , पीडा , द्वेष , घृणा र प्रतिशोध फेला पार्न नसकोस् । तपाईंको अभिभावकत्व नेपाली कांग्रेले सधैभर खोजिरहेको छ , खोजिरहने छ ।’किशोरदत्तको सार्वजनिक अभिव्यक्तिपछि संस्थापन पक्ष झस्किएको छ । विश्वप्रकाशको बहिर्गमनसँगै हिजो संस्थापन पक्षमा रहेकाहरु अन्यत्र जाने सम्भावना बढेको छ ।





