शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

अविचलित ‘जीवन परियार’

अविचलित ‘जीवन परियार’

जीवनको जीतले गण्डकीमा दलित आन्दोलन अघि बढाउन र नेतृत्वमा स्थापित गर्ने विश्वास ।


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

पोखरा – दलित आन्दोलन जहाँबाट उठ्यो, त्यही प्रदेशबाट एउटा दीयो उदाएको छ । नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति थाल्नुअघि नै गण्डकीबाट समानताको आगो बलेको थियो । बागलुङका भगत सर्वजित विश्वकर्माले सम्वत १९९५ देखि नै असमानताका विरुद्ध संगठित दलित आन्दोलन छेडेका थिए ।

अहिले त्यही प्रदेश गण्डकीबाट मुलुकको पुरानो पार्टी नेपाली कांग्रेसको सहमहामन्त्रीमा जीवन परियारले जितेका छन् । उनको जीतले गण्डकीका दलित नेताहरुलाई उत्साही बनाएको छ । कांग्रेस गण्डकीमा दलित आन्दोलन अघि बढाउन र नेतृत्वमा स्थापित गर्न परियारको जीतले ठूलो अर्थ राख्ने उनीहरुको विश्वास छ ।

सभापतिका पराजित उम्मेदवार शेखर कोइराला प्यानलबाट दलित सहमहामन्त्री उठेका परियारले दुई हजार २१२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका मानबहादुर विश्वकर्माले २ हजार १७५ मत पाए । परियारले ३७ मतले विश्वकर्मालाई पराजित गरेका हुन् ।

कास्कीको रुपा गाउँपालिका १, स्यास्त्रीका परियार संविधान सभा सदस्य एवं १३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा कास्कीको प्रदेशसभा १ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट माओवादी उम्मेदवार दीपक कोइरालाले परियारलाई पराजित गरेका थिए ।

२०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा नजिकिएका परियार नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाईमा रहेर काम गरेका थिए । क्याम्पस इकाई पश्चात परियार नेविसंघ कास्की जिल्ला समितिमा रहेर काम गरे । त्यही क्रममा उनी नेपाल दलित संघ कास्कीको संस्थापक सचिव बने । पोखरामा अध्यनका गर्दै राजनीतिमा लागेका परियार गाउँ फर्केर शिक्षण थालेका थिए ।

अध्ययन पश्चात गाउँ नजिकै रुपा ७, हंसपुरस्थित रामकोट माविमा शिक्षण गर्दैगर्दा उनलाई तत्कालीन विद्रोही माओवादीले दुख दिन थाल्यो । कांग्रेसमा आवद्ध भएकै आधारमा माओवादीले पटक पटक दुख दिन थालेपछि परियार शिक्षण छाडेर काठमाडौं हानिएको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए । ‘कांग्रेस भएकै अधारमा माओवादीले शिक्षण गर्न पनि दिएन,’ उनले भने, ‘काठमाडौं गएर जीवन परियार राजनीतिमा झनै सक्रिय हुनुभयो ।’
केन्द्रीय सदस्य जितेका परियारले ढोरपाटनलाई संक्षिप्त प्रतिक्रिया दिँदै अब छुवाछुत विरुद्ध समानताको अभियान छेड्ने बताए । ‘पार्टीलाई विधिसम्मत चलाउने हाम्रो टिमको जोड नै छ,’ उनले भने, ‘अब समानताको अभियान पनि पार्टीले सञ्चालन गर्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->