पोखरा/वल्र्डलिंक कम्युनिकेसनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा अनलाइन पत्रकार संघ गण्डकीमार्फत आएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले इन्टरनेट जडान सुविधा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ । निशुल्क इन्टरनेट उपलब्ध गराएवापत अनलाइन मिडियाहरुले वल्र्डलिंकको प्रचारात्मक सामाग्री प्रकाशन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
वल्र्डलिंक गण्डकी प्रदेश क्षेत्रीय बजार अधिकृत गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी गराए । उनले पोखरा लगायत गण्डकी प्रदेश भित्र दर्ता भएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले पहिलो चरणमा पोखराबाट सञ्चालित ३० वटा अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराएको बताए । ‘हामीले पहिलो चरणमा पोखराबाट संचालित भएका ३० वटा अनलाइन पोर्टलहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेका छौं,’ उनले भने, ‘वल्र्डलिंकसँग प्रदेशका अन्य जिल्लाबाट सञ्चालित भएका अनलाइनहरुलाई पनि इन्टरनेट उपलब्ध गराइनेछ ।’





