तनहुँ/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नेपालमा श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सुमधुर नहुनु समस्याको रुपमा रहेको बताएका छन् । उनले भने, ‘श्रमिकहरुलाई उद्योग आफ्नै ठान्ने भावनाको कमी छ । उद्योगपतिले श्रमिकहरुलाई आफ्नै परिवार सम्झनुपर्छ । श्रमिकहरुले यो उद्योग नाफामा गयो भने हामीले तलब भत्ता पाउँछौ र जहान परिवार पाल्न सक्छौं भन्ने सोच्नुपर्छ ।’ श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उनको भनाइछ ।
तनहुँ उद्योग वाणिज्य संघको ३६ औं साधारण सभालाई शनिबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उद्योगी व्यवसायी र श्रमिकहरुको समस्याको समाधान गर्न आफू तयार रहेको उनले बताए । उनले वैदेशिक रोजगारीमा दुख भोगेका श्रमिकको पक्षमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाए । ‘वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्छौं,’ उनले भने ।





