तनहुँ/ तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक उकालो लागिरहेको संक्रमणबाट प्रायजसो स्वास्थ्यकर्मी र कर्मचारी प्रभावित बनेका छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना पुगिसकेको तथ्य देखाउँछ ।
भिमाद नगरपालिका६,स्थित भिमादप्राथमिक स्वास्थ्य चौकीका१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकीमा कार्यरत १९ जनामध्ये दुई जनालाई मात्रै कोरोना देखिएन् । तीन डाक्टरसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि शनिबारसम्मका लागि स्वास्थ्य चौकीको सेवा बन्द गरेको वरिष्ठ ल्याब असिस्टेन्ट रुपक बुढा मगरले बताए ।
स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेकोछ । यस्तै, सुत्केरी सेवा पनि नियमित प्रदान गरिएको छ । ‘शनिबारसम्मलाई सेवा बन्द गरेका छौं । पहिलो चरणमा कोरोना पुष्टि भएकाहरुको फेरि परीक्षण गर्दा नेगेटिभ आएमा सेवा सुचारु हुन्छ । नभए केही दिन बन्द नै रहन्छ होला,’ उनले भने ।
उनका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामाकार्यरत चारमध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ । यसपालिसंक्रमण पुष्टि भएकाहरुलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने, घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् । जटिल प्रकृतिको समस्या भने अहिलेसम्म देखिएको छैन।
शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ जना कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । ‘अत्यावश्यक सेवा प्रवाहका लागि उपलब्ध कर्मचारीबाट आलोपालो प्रणाली लागू गरिएको छ,’ उनले भने ।
शुक्लागण्डकी नगरपालिका४, दुलेगौँडा बजारमा रहेको खैरेनीटार हेल्थपोस्टमा कार्यरत ६ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढीसंक्रमित भइरहेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा कठिनाइभएको उनले बताए । ‘स्वास्थ्य चौकी र नगरपालिकामा सेवा लिनलाई संक्रमित पनि आए। जनस्वास्थ्यको मापदण्ड पालना भएन। त्यसैले कर्मचारी र स्वास्थ्यकर्मीमा संक्रमण स¥यो,’ उनले भने ।
यतिबेला समुदायस्तरमै भुसको आगोझैं भित्रभित्रै कोरोना फैलिरहेको उनको अनुमान छ । ‘अझै पनि स्वास्थ्यको मापदण्ड फिटिक्कै पालना भएको छैन। बजारमा मास्क नलगाइकन हिँड्डुल गरेको देखिन्छ,’ उनले भने,‘स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी हैन् कोरोना रोकथाम गर्ने, अब सबै पक्ष एक जुट नहुने हो भने कोरोना नियन्त्रणमा लिनलाइ मुस्किल हुन्छ ।’ समुदायस्तरमा त सामान्य रुघाखोकी ठानेर अझै परीक्षणको दायरामा नआएको उनको भनाइ छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिकाका १४ जना कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि बुधबारदेखि ९ माघसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । ‘समुदायस्तरमा परीक्षणको दायरा बढाउने हो भने अधिक संक्रमित भेटिन्छन्,’ स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । प्रयोगशालाकै कर्मचारी संक्रमित भएपछि परीक्षणको दायरा बढाउन नसकेको उनको भनाइछ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा ४२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ ।शुक्रबार तनहुँमा मात्र ६९ जनालाई कोरोना पुष्टि भएको थियो ।
११६ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल जिल्लामा ३३१ जना सक्रिय संक्रमित छन् । बैशाखयता जिल्लामा पाँच हजार ७ सय १२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २५१ निको भए । बैशाखयता मात्रै १ सय ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।





