बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ प्रशासनमा बार अनुसार सेवा

तनहुँ प्रशासनमा बार अनुसार सेवा


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

तनहुँ/ कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । बुधबारदेखि आलोपालो गरेर बार अनुसार प्रशासनको सेवा प्रवाह हुनेछ ।
जिल्लाका १० स्थानीय तहलाई कुन बार सेवा दिने भनेर तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले बताए । हरेक दिन पाँच स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाएको उनको भनाइ छ ।
उनका अनुसार हरेक स्थानीय तहका लागि तीन दिन छुट्याईएको छ । कोरोनाको संक्रमण फैलने जोखिम बढेपछि आलोपालो बार अनुसारको सेवा दिने निर्णय भएको उनको भनाई छ । ‘कार्यालयमा सेवा लिनलाई खोप कार्ड अनिवार्य गरेका थियौँ । खोप कार्ड अनिवार्य हुदाँ पनि भिडभाड कम नभएपछि बार अनुसार सेवा दिदैछौँ’, उनले भने ।

अहिले प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिनलाई दैनिक तीन सय बढी सेवाग्राहीको भिड लाग्ने गैरेले जानकारी दिए । उनका अनुसार राहदानी सेवा दैनिक १५ जनालाई मात्र दिने व्यवस्था छ ।
आइतबार, मंगलबार र विहीबार व्यास नगरपालिका, भानु नगरपालिकासँगै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिईनेछ । सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकासँगै, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकावासीले प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा पाउनेछन् ।

पछिल्लो २४ घण्टामा मात्र तनहुँमा ९८ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । २०२ जनाको कोरोना परिक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय तनहुँ मातहातका स्वास्थ्य संस्थाबाट ७२ जनाको एन्टिजेन परिक्षण गरिएको थियो । व्यास नगरपालिकाको कोभिड ल्याबबाट २२ जना र १०८ जनाको पोखरामा पिसीआर परिक्षण गरिएको थियो ।

जिल्लामा मंगलबारसम्म ५१३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँका सुचना अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए । सबै संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए । ‘यसपालि संक्रमितलाई जटिल समस्या देखिएको छैन् । त्यसैले होला संस्थागत आइसोलेसन रित्तै छन्’, उनले भने ।

जिल्लामा वैशाखदेखि पाँच हजार ९०६ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २६२ जना निको भएका छन् । १३१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->