
तनहुँ/ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै मस्र्याङ्दीको उत्पादनमा कमी आएको हो ।
चिसो भएकाले हिउँ नपग्लिएको कारण उत्पादन घटेको केन्द्रको प्रमुख बद्री फुयाँलले बताए । ‘सुख्खा मौसम भएकाले वर्षा नहुँदा नदीमा पानी कम भएकोले उत्पादन घटेको छ । नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घटेको हो’, उनले भने ।
उनका अनुसार साँझ र विहान विजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिर्जभ ट्याङ्कीमा जम्मा गरेर लैजाने गरिएको छ । साँझ बिहान भने पूर्ण क्षमतामै उत्पादन हुने फुयाँलले बताए ।
विद्युतको माग साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूरा क्षमता ६९ मेगावट नै उत्पादन गरिएको केन्द्र प्रमुख पूmयाँलले जानकारी दिए ।
चैत अन्तिमसम्म उत्पादन घट्दै जाने, वैशाख लागेपछि हिउँ धेरै पग्लने र वर्षात हुन थाल्ने भएकाले भएकाले उत्पादन बढ्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुुसार हाल पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ ।
विद्युतको माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भैरहेको छ । सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नु पर्ने वाध्यता रहेको छ । मस्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट््दै जाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाब घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।





