पोखरा/ हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस (कटन पिग्मी गुज) अचेल खास्टे तालमा देखिँदैनन् । साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेका थिए । अहिले हरिहाँस कैलालीको घोडाघोडी तालमा मात्र देख्न सकिने पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् ।
कपासको भुवाजस्तो प्वाँख भएको हरिहाँसले शीरमा कालो मुकुट लागउँछ । कालै आँखा भएको यो चराले पँखेटामा पनि कालै पोतेको छ । घाँटीदेखि शरीरका अन्य भाग निख्खर सेतो प्वाँखले ढाकेको हरिहाँस बढीमा १६० ग्रामको मात्र हुन्छ ।
सिमसारका सफा पानीमा पौडिँदै आहारा खोज्नु हरिहाँसको दिनचर्या हो । ताल नजिकै दलदल परेको भागमा तैरिएका वनस्पति भएका ठाउँ हरिहाँसलाई मन पर्छ । पोखराका तालहरुमा कमल फुल फुल्दा हरिहाँस रमाउने गरेको पंक्षीविज्ञ घिमिरे संझन्छन् । ताल नजिकै सिमलको रुखमा प्वाल पारेर बास्थान बनाउने हरिहाँस यस बर्षको चरण गणनामा देखिएनन् ।
पंक्षी समाज पोखरा र टाइगर माउण्टेन लजले अन्तर्राष्ट्रिय संस्थासँग मिलेर स्वयंसेवी रुपमा बर्षेनी पोखराको चरा गणना गर्छ । यसबर्ष जनवरी १०, ११ र १२ गरी तीन दिन गणना गरियो । चरा विज्ञसहित ५४ जना मिलेर पोखराका सम्पूर्ण तालतलैया र नदी आसपास खोज्दा समेत हरिहाँस भेटिएन । घिमिरेका अनुसार पोखरामा हरिहाँस सन् २०१८ बाटै देख्न छाडिएको हो ।
साइबेरियाबाट पोखरा आएपछि हरिहाँसले खास्टे ताल मन पराएर बसेको थियो । यतै अण्डा पाथ्र्यो, चल्ला कोरल्थ्यो । हुलका हुल देखिने हरिहाँस सन् २०१८ मा ४ वटा मात्र देखियो । त्यतिबेलै पोखराबाट हरिहाँस हराउन थालेको भनेर चराप्रेमीहरु चिन्तित बनेका थिए । घिमिरेले भने, ‘हामीले देख्दा देख्दै हरिहाँस हरायो, पोखराका तालहरु हरिहाँस बस्न लायक भएनन् ।’
नेपाल जुलोजिकल सोसाइटी गण्डकीका अध्यक्ष हेमन्त ढकालले खास्टे तालबाट हरिहाँस हराउनुमा मान्छेको अतिक्रमण मुख्य कारक रहेको बताए । उनका अनुसार बन्यजन्तु र वातावरणीय संरक्षणमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संस्थादेखि नेपालका सरकारी निकाय र सिमसार अतिक्रमणकारी यसका भागिदार छन् ।
वन्यजन्तु संरक्षणमा विश्वभर काम गरिरहेको संस्था विश्व वन्यजन्तु कोषको लगानीमा पोखराका तालहरुमा पनि ‘हरियो बन कार्यक्रम’ लागु भएका छन् । खास्टे ताल संरक्षण गर्ने नाममा कोषको बजेटबाट स्थानीयको एउटा समुहले ताल सौन्दर्यकरणका नाममा बजेट पायो । तालको मुहानतर्फ र किनारामा तैरिएका वनस्पति निकालेर फाल्ने उनीहरुले योजना बनायो ।
सिमसारका वनस्पति फाल्न लागेको थाहा पाएर ढकालसहितको टोलीले त्यसो नगर्न सुझाव दिएका थिए । तर कसैले उनीहरुको आवाज सुनेनन् । परिणाम, तालबाट हरिहाँस हरायो ।
खास्टे ताल अतिक्रमण यतिमा मात्र रोकिएन । ताल वरीपरी पदमार्ग बनाउन पोखरा महानगर र सरकारका अन्य निकाय लाग्यो । पदमार्ग निर्माणका नाममा तालवरीपरी डोजर चलाइयो । त्यतिले पुगेन । रिङरोड बनाउने भन्दै खास्टेतालको चारैतर्फ डोजर कुँदाइयो । यतिसम्मकी, डोजरले तालको वीचबाटै बाटो लगेको छ । बाटोकै लागि सिमसारमा अन्यत्रकै ढुङ्गा माटो लगेर पुरिएको छ ।
‘अब खास्टे तालमा हरिहाँस आउँदैनन्, सायद,’ ‘ढकालले चिन्ता पोख्दै भने, ‘मान्छेले गरेका सबै अतिक्रमण रोकेर पुरानै स्वरुपमा सिमसार ब्युँताउन अब गाह्रो छ ।’
खास्टे तालकै हालत छ, दिपाङ तालको ।|
साइबेरियाबाट होस् वा चीन, ताइवान लगायतका देशबाट जाडो छल्न धेरै चरा दिपाङ ताल पुग्थे । जाडो याम शुरु हुनासाथ दिपाङ तालमा चराहरुकै साम्राज्य देखिन्थ्यो । यही तालमा धेरै चराहरु अण्डा पार्ने र चल्ला कोरल्थे । त्यतिबेला स्थानीयले चराहरु हनिमुन मनाउन आएको भन्थे ।
अब पोखरामा चराहरु हनिमुन मनाउन आउँदैनन् । चराले हनिमुन मनाउने ठाउँ मान्छेका ‘डेटिङ डेष्टिनेसन’मा परिणत भइसकेका छन् । दिपाङ तालको क्षेत्रफल बढाउन पहिला पानी बग्ने ठाउँतर्फ बाँध लगाइयो । तालको छेउबाट रिङरोड बनाउन डोजर कुदाइयो । पिकनिक खाने ठाउँ बनाइयो । यत्तिले मात्र पुगेन, सिमसारमा तैरिएका वनस्पति सोहोरेर फालियो । अब दिपाङ ताल चराका लागि उपयुक्त रहेन, मान्छे मात्रैको गन्तव्य बनेको छ ।
फेवातालको हालत देखिएकै छ । पोखराका मैदी, न्युरिनी, गुँदे र रुपा ताल पनि तिब्र गतिमा फेवातालको हालतमा जाँदैछ । खास्टे र दिपाङ ताल उदाहरण मात्रै हुन् ।
बेगनास तालको मुहान पोखरा– ३१ स्याङ्खुदीमा रहेको सिमसारमा केही दिनअघि मात्र डोजर चलेको छ । बाँध बाँधेर तालको क्षेत्रफल बढाउन ४० बर्षअघि सरकारले मुआब्जा दिएर स्थानीयवासीको ५ सय रोपनी खेत अधिग्रहण गरेको थियो । बाँधले तालको क्षेत्रफल बढायो, सिमसार क्षेत्र पनि फराकिलो बन्यो ।
खेत अधिग्रहण गरेर सिमसार बनेको ठाउँमा कोट देउराली बहुउदेश्यीय सहकारीका नाममा माछापालन गर्न डोजर चलाएको स्थानीयले बताएका छन् । डोजर लगाएको ठाउँ पानीले डुबेको दलदले छ । जहाँ पानीमा तैरिएका विभिन्न प्रजातिका वनस्पति छन् । उक्त ठाउँमा खोलाबाट ढुङ्गा, गिटी, बालुवा लगेर पुरिएका छन् । सिमसारको बिचबिचै डोजर हिड्ने बाटो बनेका छन् ।
यसरी सिमसार पुर्न पोखरा महानगर र वडा कार्यालयले नै अनुमति दिएको सहकारीका सदस्य माधव तिवारीले बताए । सहकारीबाट डोजर चलाउने जिम्मा पाएका उमानाथ तिवारीले ३० रोपनी सिमसारमा माछापालन गर्न डोजर लगाएको बताए । उनका सिमसारमा २६ दिनसम्म डोजर लगाउँदा ३० लाख खर्च भइसकेको छ ।
सरकारले सिमसार बनाउने भनेर अधिग्रहण गरेको जमिन अरु कसैलाई माछापालन गर्न दिन मिल्दैन । जग्गा प्राप्ती सम्वन्धी ऐनले जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरिएको हो, त्यो बाहेक अरु काममा लगाउन मिल्दैन । पोखरा महानगरले सिमसार जोगाउन भन्दा अतिक्रमणलाई सहयोग गरेको संरक्षणकर्मीहरुको भनाई छ ।
चरा बस्ने ठाउँ वातावरणीय रुपमा सुरक्षित मानिन्छ । चराले पिउने पानी स्वच्छ र खाने आहार शुद्ध ठानिन्छ । ताल आसपासमा खेति लगाउँदा प्रयोग गरिएका रासायनिक मल र विषादीले पनि चरालाई अन्यत्र सर्न दबाब दिएको छ । पोखराबाट चरा हराउनुको अर्थ तालहरुमा प्रदुषण बढ्नु भएको ढकालले बताए ।
‘चरा बस्न नसक्ने ठाउँ अन्य जीवका लागि पनि उपयुक्त हुँदैन,’ उनले भने, ‘सिमसार जोगाउने भनेको अरुका लागि होइन, हाम्रै लागि हो भनेर सरकारले बुझिदिएन ।’
मान्छेका लागि चरामा गुणैगुण भएको पंक्षी समाजका अध्यक्ष घिमिरे बताउँछन् । प्रकृतिबाट चराको विनाश हुनु भनेको मान्छेका लागि खतरा भएको उनको भनाई छ । चराले बोट विरुवा, फलफुल र अन्नका परागसेचन गराउँछन् । फलफुल र अन्नवाली खाने किरा, फट्याङ्ग्रा खाइदिएर किसानका सहयोगी बन्छन् । वनस्पतिका बिउ अन्यत्र छर्न सहयोग गर्छन् । प्रकृतिलाई सन्तुलनमा राख्छन् ।
‘चरा बिनाको प्रकृतिमा मान्छे कसरी बाँच्न सक्ला,’ घिमिरेले भने, ‘सिमसार विनाशको पहिलो असर चरामा देखिएको छ, तर मान्छेका लागि सबैभन्दा खतरा देख्छु ।’
नेपालमा ८८९ प्रजातिका चरा पाइन्छ । पोखरामा यस बर्षको चरा गणनामा ४८४ प्रजातिको चरा रेकर्ड भएको घिमिरेले बताए । नेपाल र विश्वव्यापी रुपमै लोपोन्मुख र संवेदनशील अवस्थामा रहेका चराहरु भने पोखराबाट बर्षेनी घट्दै गइरहेको चरा विज्ञहरुले निष्कर्ष निकालेका छन् ।
पोखराका तालहरु संरक्षण गर्न सरकारी र गैरसरकारी क्षेत्रले मनग्ये लगानी गरिरहेका छन् । स्थानीय समुदायले पनि सहकारीमार्फत माछापालन गरिरहेका छन् । माछापालन गर्नु चराका लागि उपयुक्त भएपनि कतिपय ठाउँमा चरा मार्ने, गुण भत्काइदिने र भगाउने प्रवृत्ती बढेको घिमिरेले बताए । ठाउँठाउँमा सिमसार मासेर व्यवसायी विस्तार भइरहेका छन् ।
अहिले सरकारी र गैरसरकारी क्षेत्रबाट सिमसारमा भएका लगानीले सिमसारकै विनाश गरेको उनको ठम्याई छ । तालमा पानीको मात्रा बढाउन बाँध बाँधिएको छ । घिमिरे यहाँसम्म सहमत छन् । तर उनलाई पानीले ढाकेको क्षेत्रमा चारैतर्फ सिमेन्टेड बाँध लगाएको मन परेको छैन । अझै, पर्खालभित्र पानीमा तैरिएका वनस्पति सोहोरेर फाल्नु झनै आपत्तिजनक भएको उनले बताए ।
‘ताल संरक्षणका नाममा सिमसार मासेर पोखरा बनाइएका छन्,’ घिमिरेले भने, ‘सिमसार भनेको पोखरी होइन, त्यसको वरीपरी भएका दलदले हिलो, त्यहाँ रहेका वनस्पति र जीवजन्तु हुन्, यसको पो संरक्षण हुनुपर्छ त ।’
पोखराका तालहरुमा बढेको प्रदुषणमा कसैको चिन्ता छैन । सबैजसो तालमा तैरिरहेका मदिराका बोतल, प्लाष्टिकजन्य पदार्थ लगायत नकुहिने फोहोर थुप्रिएका छन् । यसले सिमसार र तालको पानी प्रदुषित बनाएको छ । फोहोर पानी शुद्धिकरण गर्ने सिमसारलाई नै मान्छेले फोहोर फाल्ने ‘डम्पिङ साइट’ जस्तो बनाएको घिमिरेको भनाई छ ।
विकास र व्यवसायका नाममा भइरहेका अतिक्रमणले पोखराका तालहरु अन्तर्राष्ट्रिय प्राकृतिक सम्पदाको सुचीबाट हट्न सक्ने देखिएको छ । पोखरामा रहेका ९ वटा ताल अन्तर्राष्ट्रिय रामसार सुचीमा पर्छन् । यो सुचीबाट जुनसुकै बेला पोखराका तालहरु हट्न सक्ने घिमिरेले बताए ।
इरानका रामसार शहरमा सन् १९७१ मा जलपंक्षी संरक्षणमा लागेका विश्वभरका वैज्ञानिक सम्मेलन भएको थियो । सम्मेलनले सिमसार संरक्षणका खातिर पारित गरेको सन्धीलाई नै रामसार महासन्धी भनियो । यही सन्धीका आधारमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्रलाई सुचीकृत गरेर रामसार क्षेत्र घोषणा गरिएको थियो ।
नेपालले रामसार महासन्धी सन् १९८७ मा अनुमोदन गरेको थियो । दुर्लभ, संकटमा परेका, लोप हुने अवस्थाका पंक्षी र महत्वपूर्ण वनस्पति सिमसार क्षेत्र मात्रै रामसार सुचीमा पर्न सक्ने वातावरणविद् राजु आचार्यले बताए ।
नेपालले शुरुवातमा पोखराका फेवाताललाई मात्र रामसार सुचीमा राख्न सिफारिस गरेको थियो । रामसार मापदण्ड अनुसार फेवतालमा आश्रित वनस्पति र जीवजन्तुले मात्रै रामसार क्षेत्रको मापदण्ड पुरा भएन । त्यसपश्चात पोखराका फेवा, बेगनास, रुपा, दिपाङ, मैदी, खास्टे, गुँदे, न्युरेनी र कमलपोखरीलाई एउटै समुहमा राखेर सिमसार क्षेत्र घोषणा गरिएको थियो ।
रामसार मापदण्डमा पोखराका तालहरुमा झैं डोजर लगाउन, विकासका नाममा पानीको छेउछाउमा सिमेन्टेड पर्खाल लगाउन, बाटो बनाउन, सिमसारका वनस्पति बिनाश गर्न रोक लगाएको छ । सिमसार मापदण्ड विपरित तिब्र गतिविधि गरेको र महासन्धीमा उल्लेखित जीव र वनस्पति देखिन छाडेकाले जुनसुकै बेला रामसार सुचीबाट पोखराका तालहरु हट्न सक्ने आचार्यले बताए ।
विश्वका १ सय ६९ बढी देशका २ हजार २२ भन्दा बढी सिमसार क्षेत्र रामसार सुचीमा सुचीकृत छन् । रामसार महासन्धीका अनुसार विश्वका ६० प्रतिशत भन्दा बढी मानिस सिमसार क्षेत्रमा बसोबास गर्छन् । सिमसारको उपयोग गरेर जिविकोपार्जन गर्छन् । पोखराका तालहरुको विनाशले यहींका रैथानेदेखि व्यवसायीलाई असर पार्ने उनको निचोड छ ।
रामसार सुचीबाट पोखराका तालहरु बाहिरिँदा नेपालले प्रकृति संरक्षण गर्न नसकेको सन्देश अन्तर्राष्ट्रिय स्तरमै जाने पंक्षी समाजका अध्यक्ष घिमिरेको चेतावनी छ ।
‘रामसार सुचीबाट हट्दा नेपालले प्रकृति संरक्षण गर्न सकेन भन्ने सन्देश जान्छ,’ घिमिरेले भने, ‘नेपालले प्रकृति संरक्षण गर्दा पाउने अन्तर्राष्ट्रिय सहयोग र सद्भाव पनि कटौती हुन्छ ।’





