बागलुङ – बागलुङका बामपन्थी नेता बाबुराम नेपाली शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्दै बामपन्थी नेता नेपालीले श्रमजिवी जनताको पक्षमा काम गर्न र राष्ट्रिय एकतालाई सुदृढ गर्ने सवै कम्युनिष्टहरु एक हुनुपर्ने वताए । उनले भने, ‘अव नेपालमा कम्युनिष्टका नाममा साना साना झुण्डको आवश्यकता छैन, सवै कम्युनिष्टहरु एक हुनुपर्दछ । त्यसको नेतृत्व नेकपा एमालेले गर्नेछ ।’
बामपन्थी नेता नेपालीलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, सहइन्चार्ज जगत विक, मन कुमारी केसी लगायतका नेताहरुले जिल्लाको ढोरपाटन नगरपालिकामा आयोजित पार्टी जिल्ला कमिटीको वैठकको अवसरमा फुलमाला लगाइ स्वागत गेका थिए ।

लामो समय नेकपा मसालको राजनीति गरी माओवादीमा प्रवेश गरेका नेता नेपाली पछिल्लो समय उक्त पार्टीबाट पनि अलग भई स्वतन्त्र बामपन्थी भएका थिए । गलकोट नगरपालिका-११ का उनी राष्ट्रिय जनमोर्चाको तर्फबाट तत्कालिन रिघा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनी जनमोर्चा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी पनि विभाजित भएपछि उनी स्वतन्त्र बामपन्थी बनेका थिए ।






