मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

हिमपात र झरीले बढायो चिसोे

हिमपात र झरीले बढायो चिसोे

धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले अत्यधिक चिसोमा बिरामीहरु बढी सचेत बन्नुपर्ने बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७८, आइतबार

बागलुङ/ माघ लागेदेखिनै राम्रोसँग घाम लागेको छैन । त्यसैले बागलुङसहित देशभरको वातावरण निकै चिसो छ । बिहीबार बेलुकीदेखि झरीसमेत परेकोले जनजीवन पनि प्रभावित भएको छ । बिहिबार र शुक्रबार बागलुङमा ७ देखि ९ डिग्रीमात्र तापक्रम भएकोले जनजीवनमा बढी प्रभाव भएको हो ।

बजारमा पनि अन्य दिनभन्दा बिहीबार र शुक्रबारको चहलपहल कम थियो । अधिकांस मानिसहरु घरभित्रै बसेका थिए । कतिपय मानिस चोकचोकमा आगो तापेर बसेको देखिए । समूहमा मिलेर आगो ताप्दै व्यवसाय संचालन गरेकाहरु पनि प्रसस्तै भेटिए । व्यवसायहरु पनि अन्य दिनभन्दा कम खुलेकोले चहलपहल कम भएको हो ।
पहाडी क्षेत्रमा भने व्यापक हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । ‘हिमपातले गर्दा घर बाहिर निस्कन नसकिने अबस्था छ’ ढोरपाटन नगरपालिका २ स्थित अर्नाकोट माबिका प्रअ धनबहादुर महतले भने,‘खुलेका बिद्यालय पनि संचालन हुन सकेनन् ।’ हिमपातले मेलापात, घाँसदाउरा गर्नेलाई केही दिनदेखि समस्यामा पारेको उनले बताए ।
हिउँले सेताम्मे भएपछि कतिपय बजारबासी भने हिउँ खेल्न डाँडामा पुगेका थिए । बागलुङको घोडाबाँधे, गाजा, ताराखोला, गलकोटको पाण्डवखानी, बडिगाडको रणसिंहकिटेनी, ढोरपाटन, निसी र तमानका अधिकांश बस्ती सेताम्मे भएका हुन् । हिउँ खेलेको तस्बिरहरु सामाजिक संजारमा राख्ने पनि प्रसस्त छन् ।

‘हरेक बर्ष हिमपात भएपनि अहिले धेरै हिउँपरेको देखियो’ काठेखोला गाउँपालिका–८ की अध्यक्ष चित्राकुमारी श्रीषले भनिन्, ‘पार्टीको काम बिशेषले यात्रामा थियौं, निकै रमाइलो पनि भयो ।’ हिमपातले काठेखोला वडा नंं ५ बिहँुको घोषबाँधे, निसीखोला गाउँपालिका वडा नंं ६ को सिप र पातीहाल्ने जस्ता स्थानमा सडकै अबरुद्ध हुने अवस्था आएको छ ।
घोडाबाँधेमा नियमित गाडी चलेकोले अप्ठ्यारो नभए पनि निसीखोलामा भने सडक ठप्पै भएको हो । प्रहरी र गाउँपालिकाले सडक खुलाउने प्रयास गरेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए । शुक्रबार हिउँ थपिइरहेको, झरीसमेत परेकोले सडक खुलाउने काम कठीन भएको उनले जानकारी दिए ।

हिउँ पर्दा गहुँ, जौं जस्ता खेतीलाई भने राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताए । ‘गहुँ र जौका लागि त जति हिउँ प¥यो त्यति राम्रो हुन्छ’, उनले भने, ‘बाँझीएको जमिन जोत्न पनि झरीले सजिलो बनाउँछ ।’
गोठमा गाइबस्तु चराउने र अस्थायी रुपमा खर्कहरुमा बस्नेलाई भने हिउँले सताएको प्रअ महतले जानकारी दिए । ‘माथिल्लो लेकाली बस्तीमा पशु चरन गर्दै गएकाहरु अहिले सुरक्षित स्थान खोज्दै छन्’, उनले भने, ‘कठ्यांग्रिने र पशुहरुले खान नपाएर मर्ने अबस्था पनि हुन सक्छ ।’ खेतीपातीमा निस्कनै पर्ने अवस्था नभएकोले घरभित्र बसेका मानिस भने सुरक्षित भएको उनले बताए ।
घाम नलाग्ने, नियमित हुस्सु लाग्ने जस्तो मौषममा मानव स्वास्थ्यमा भने समस्या पर्ने स्वास्थ्यकर्मीले बताए । ‘चिसो अत्याधिक बढेपछि रुघाखोकीको समस्या धेरैमा देखिन्छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘बुढेसकालमा दम हुनेलाई समेत यो बेला बढी चाप्छ ।’ उनले श्वासप्रश्वास समस्या हुनेले बढी ख्याल गर्नुपर्ने सुझाव दिए ।

धौलागिरि अस्पतालमा पनि पछिल्लो समय रुघाखोकी, पिनास र चिसोको कारण दम बढेका बिरामीहरु आउने गरेको तथ्यांक छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बिरामीहरु बढी सचेत बन्नुपर्ने बताए । ‘यो बेला पोष्ट कोभिडका बिरामीलाई श्वासप्रश्वासमा बढी समस्या आउने गर्छ, त्यस्ता बिरामी बढी सचेत बन्नुपर्छ’, डा. पोखरेलले भने, ‘दमका बिरामी चिसोको एलर्जी हुने, पिनास बढ्ने, र इन्फेक्सन बढ्नेहरु अस्पतालको सम्पर्कमा बढी आएका छन् ।’ यो बेला यात्रा नगर्न उनले सुझाए । बालबालिकामा पनि चिसोको समस्या हुने भएकोले घर बाहिर ननिस्कनु नै उत्तम उपाय भएको उनले बताए । न्यानो कपडा लगाउने र तातोपानी खानका लागि स्वास्थ्यकर्मीले सल्लाहसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->