पोखरा/ सरकारले वैखाख ३० गते देशभरका ७५३ स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । संघीय व्यवस्थामा गएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन २०७४ मा तीन चरणमा गरिएको थियो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यसपटक एकै चरणमा सबै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।
२०७४ सालमा पहिलो चरणमा भएका स्थानीय निर्वाचनमार्फत् निर्वाचित जनप्रतिनिधिको समयावधि आगामी जेठ ५ गते सकिँदैछ । जनप्रतिनिधीको समयावधी सकिनु अगावै निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरु, निर्वाचन आयोग र कानून व्यवसायीसँग परामर्श लिएर निर्वाचनको घोषणा गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले समयमै स्थानीय निर्वाचनको माग गर्दै भातृ संस्थामार्फत् आन्दोलनको घोषणा गरेको थियो । सत्ता गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने २०७९ चैतमा तीनै तहको निर्वाचन एकै चरणमा हुनुपर्ने धारणा राखेका थिए ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलन कार्य रोकिएको छ । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले मतदाता नामावली संकलन अभियान रोकिएको जानकारी दिए । उनले अब युद्धस्तरमा निर्वाचनको तयारी थालिने जानकारी दिए । निर्वाचन आयोगले स्थानीय निर्वाचन गर्न कम्तिमा ९० दिनको समय माग गरेकोमा सरकारले ९४ दिन उपलब्ध गराएको उनले बताए ।
‘सबै स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न निर्वाचन आयोग सक्षम छ’, थपलियाले भने, ‘समयमै निर्वाचन हुन्छ ।’
सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय तहसँग विवरण माग गरेको छ । निर्वाचन गराउन आवश्यक कर्मचारीदेखि सर्वाजनिक संरचना, कम्प्यूटर, ल्यापटप, प्रिन्टरलगायतको माग गरेको हो ।
आयोगले सोमबार विज्ञप्ति जारी गरेर निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न तीनै तहका सरकारसँग सहयोगको अपिलसमेत गरेको छ ।
गण्डकी प्रदेशमा एउटा महानगरपालिका, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ८५ वटा स्थानीय तह छन् । यी पालिकाहरुमा कुल ७५९ वटा वडा छन् । गण्डकी प्रदेशमा ८५ जना प्रमुख, ८५ जना उपप्रमुख र ७५९ जना वडाध्यक्ष रहन्छन् । प्रत्येक वडामा ४ जना वडा सदस्य रहन्छन् ।
यस्तै, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबाट जिल्ला समन्वय समिति गठन हुने व्यवस्था छ । गण्डकी प्रदेशका ११ वटा जिल्लाका समन्वय समितिका जनप्रतिनिभिसमेत स्थानीय निर्वाचन पश्चात परिवर्तन हुनेछ । गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी ३ हजार ९६५ जना स्थानीय जनप्रतिनिधि निर्वाचित छन् ।
सरकारले घोषणा गरेको निर्वाचन मिति वैशाख ३० पछि नयाँ जनप्रतिनिधि आउने निश्चित भएको छ ।





