पोखरा/ म्यागासेस पुरस्कार विजेता महावीर पुनले केही वर्ष अगाडि नै घोषणा गरेका थिए,‘ पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू ।अवार्डको भारी धेरै भयो भने अगाडि बढ्न सकिँदैन ।’ सम्मान र पुरस्कार नदिन सार्वजनिक आह्वान गर्ने महावीर स्वयं पुरस्कार माग्न जाने कुरै भएन । तर, गण्डकी सरकारले बुधबार प्रदेश सरकार ४ वर्ष पुगेको अवसरमा सम्मान नै नमागेका उनै महावीरलाई ‘गण्डकी रत्न’ले सम्मानित गर्ने घोषणा ग¥यो । त्यही पनि, पुरस्कारको लागि आएका आवेदनहरु अस्वीकृत गरेर । गण्डकी मन्त्रिपरिषद्ले गएको पुस २६ गते विशिष्ठ व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्दै हरेक वर्ष ३ जनलाई सम्मान गर्ने गर्ने निर्णयमात्रै गरेन, माघ ४ गते १५ दिने सूचनासहित आवेदन माग ग¥यो । निर्देशिकामा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग,पर्यटन, पूर्वाधार विकास, विज्ञान, प्रविधि, सार्वजनिक प्रशासन तथा सुशासनलगायत क्षेत्रमा योगदान दिने व्यक्ति ‘गण्डकी रत्न’को आवेदक हुन पाउने व्यवस्था थियो । सामान्यतया ः निस्वार्थ भावले काम गर्नेहरु पुरस्कार माग्न कसैको दैलो चहार्दैनन् । आवेदन मागेर विशिष्ठ नागरिकलाई ‘लिगलिगकोटे’दौडमा सामेल गराउने प्रदेश सरकारको निर्णय आफैमा सही थिएन । तर, ८ जनाले भने सम्मानको लागि आवेदन दिए । निर्देशिकामा आवेदन नदिएकालाई पनि सम्मान गर्न सकिने व्यवस्था थियो । त्यही व्यवस्थामा टेकेर गण्डकी सरकारले महावीरलाई सम्मानित गर्ने निर्णय ग¥यो । सम्मानमा तक्मासहित सार्वजनिक समारोहमा प्रदेश सांसदसरहको सुविधा दिने उल्लेख गरिएको छ । यसका साथै विमानस्थलको अति विशिष्ठ कक्षको उपयोग,निःशुल्क स्वास्थ्य सेवा तथा जीवनको उत्तरार्धमा सरकारबाट नै हेरचाहको अवसर पनि ती व्यक्तिलाई प्राप्त हुने उल्लेख छ ।
गण्डकी रत्नबाट सम्मानित भएका महावीरले ‘गण्डकी रत्न’लाई खासै महत्व दिएका छैनन् । गण्डकी सरकारले संचालनमा ल्याएको गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्र बनाउने अभियानमा सहकार्य गरेका उनले सम्मान पाएसँगै भने,‘ मलाई सुविधा केही चाहिँदैन,सम्मान के हो कस्तो हो भन्ने थाहा छैन । आविष्कार केन्द्रलाई दिएको भए ठीकै हो,नत्र मैले त सम्मान भन्ने कुरा चाहिन्न भनेको धेरै वर्ष पहिल्यै हो ।’, आफू सम्मानको लागि काम गर्ने व्यक्ति नभएको पनि उनले प्रष्ट पारे ।
उनले सम्मान घोषणा अघि प्रदेश सरकारको तर्फबाट जानकारी दिइएको र आफूले भविष्यमा राष्ट्रिय आविष्कार केन्द्रसँग काम गर्ने हो भने ठीक छ भनेको जानकारी दिए । सम्मानको घोषणाले आफूलाई कुनै अनुभूति नभएको पनि उनको भनाइ थियो । म्याग्दीको दुर्गम गाउँ नाँगीमा जन्मेका महावीर ताररहित इन्टरनेट सेवा विस्तारको लागि प्रख्यात छन् । पछिल्लो समय उनले राष्ट्रिय आविष्कार केन्द्रको नाममा दैनिक जीवनमा प्रयोग हुने सामग्री आविष्कारमा आफ्नो समय र सामथ्र्य लगाइरहेका छन् । अमेरिकाको नेब्रस्का विश्वविद्यालयको विज्ञान र प्रविधिमा विद्यावारिधिको गरेका उनी पछिल्लो समय गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयसँग पनि जोडिएका छन् । गण्डकी विश्वविद्यालयले उनकै सहयोगम अनुसन्धान केन्द्र निर्माण गरेको छ । महावीर बेलाबेला सामाजिक सञ्जालमा आविष्कार केन्द्रले गरेका कामहरुबारे जानकारी बाँडिरहन्छन् । केही समय अगाडि उनले सामाजिक सञ्जाल ट्विटरमा तस्वीरसहित लेखे,‘हेर्नुहोस्, गण्डकी विश्वविद्यालयमा बनेको अनुसन्धान केन्द्रको र भर्खरै खरिद भएका ठूला मशीनहरुको फोटो। अब ती सबै मशीनहरु जडान गरेर यो केन्द्रमा काम सुरु हुनेछ । यसलाई आविष्कार केन्द्रको भाई भन्दा फरक नपर्ला किनभने यसमा गरिने कामहरु आविष्कार केन्द्र कै तरिकाले गरिने छलफल भएको छ ।’ उनका अनुसार गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्रको भवन बनाउन ८५ लाख र मशीनहरुको लागि १ करोड ७५ खर्च भइसकेको छ । उनले यही मोडलमा अन्य ६ वटा विश्वविद्यालय र स्थानीय सरकारलाई पनि सानो केन्द्र बनाउन पनि सुझाएका छन् । ‘पोहोरदेखि नै काम गरेको हो,काम ढिलो भएको छ तर सकिन लागेको छ’,गण्डकी विश्वविद्यालयसँगको सहकार्यबारे उनले भने,‘एक दुई महिनाभित्र काम सकिएला ।’





