पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्ट पार्टीबीच भ्रष्टाचारको मामिलामा फरक नभएको बताए ।
प्रजातन्त्र दिवसको अवसरमा पोखरामा आयोजित आमसभाको सम्बोधन गर्दै अध्यक्ष लिङदेलले अघिपछि शत्रुजस्तो भए पनि भ्रष्टाचार गर्ने स्थानमा भने कांग्रेस, एमाले र माओवादी मिल्ने गरेको आरोप लगाए ।
उनले भावि पुस्ताले दुख नपाउनका लागि कांग्रेस कम्युनिष्टको विकल्प खोज्नुपर्ने बताए । ‘यथास्थितिको अन्त्य चाहनेहरु अब राप्रपामा आउनुहोस् । कांग्रेसको विकल्प एमाले होइन्, एमालेको विकल्प कांग्रेस होइन’, उनले भने,‘अब कांग्रेस, एमाले र माओवादीको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।’
उनले देशलाई नयाँ बाटोमा हिडाउँन र कुशासनबाट मुक्त गराउन राप्रपालाई साथ दिन आग्रह गरे । देशको मुख्य सत्रु‘आज भ्रष्टाचारका ठूला–ठूला काण्डकहरु केलाएर हेर्ने हो भने कांग्रेस एमाले र माओवादी एकैठाउँमा उभिएर बसेका छन्’, उनले थपे,‘उनीहरु एकअर्काको प्रतिपक्षी पार्टीजस्तो गर्ने तर देश लुट्ने,भ्रष्टाचार गर्ने काममा एकै ठाउँमा छन् । उनले उदाहरणको रुपमा वाइडबढी,एनसेल, बालुवाटार जग्गा प्रकरणलाई उदाहरणको रुपमा प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै महामन्त्री भुवन पाठकले राप्रपाको नेतृत्वमा मात्रै जनजाति आएको र यसले पुस्तान्तरणको परिभाषा दिएको बताए । उनले अन्य पार्टीमा आर्यघाट पुगेपछि मात्रै पद छाड्ने गरेको बताए । उनलेसडकबाट संविधान खारेज गर्ने चेतावनी दिए ।
यस्तै प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचार विरुद्धको आफ्नो अभियानलाई तीव्रता दिने बताउँदै राप्रपा प्रवेशले झन शक्ति मिलेको बताए । ‘कतिपयले भन्नुभयो होला ज्ञानेन्द ्रपनि अब पार्टीमा गयो मज्जाले भ्रष्टाचार गर्न पाइन्छ भनेर तर त्यसो हुनेछैन । मेरै पार्टीका सदस्य समेत भ्रष्टचार गर्छ भने छाड्ने वाला छैना बाहिरको त के कुरा ? मलाई पार्टीमा प्रवेश गरेपछि झन अभियानमा लाग्ने शक्ति मिलेको छ’,उनले भने ।
यस्तै पार्टी प्रवेश गरेका विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले देशलाई अखण्ड राख्दै हिन्दुराष्ट्र स्थापित गर्ने अभियानमा एक हुन सबैलाई आग्रह गरे ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित आमसभा चुनावी आमसभा देखिएको थियो । हरेक वक्ताले अब एकपटक राप्रपालाई अवसर दिएर हेर्न पर्ने बोलेका थिए । आमसभा अघि पोखरा पृथ्वीचोकबाट ¥याली सुरु गरी मानवअधिकार चोकमा आएर आमसभामा परिणत भएको थियो । पोखरामा अचानक वर्षा भएपछि कार्यक्रम प्रभावित भएको थियो ।





