मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अभियुक्त फरार (?) पीडितलाई झन पीडा

अभियुक्त फरार (?) पीडितलाई झन पीडा

बलात्कारजस्तो जघन्य अपराधलाई सामान्य बनाउने अभियानले पीडितलाई थप पीडा पुगेको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ १७ वर्षीया नाबालिग गायिकालाई पटकपटक बलात्कार अभियोग लागेका नायक पल शाह (पूर्णविक्रम शाह) अझै फरार छन् । गायिकाका परिवारले गत बुधरबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिए लगत्तै फरार पललाई पक्राउ गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेको छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलसँगै नायिकाको भूमिका खेलेकी पूजा शाह भने पल निर्दोश भएको फैसला गरिरहेकी छिन् । न्यायका लागि प्रहरी अनुसन्धानलाई सघाएर अदालतमार्फत् आफुलाई निर्दोष प्रमाणित गर्न सक्ने अवसर पलसँग बाँकी नै छ । तर, उनी भने भागेकोभाग्यै छन् । पूजा भने दुई कदम अघिबढेर पल निर्दोष भएको र कसैले केही गर्न नसक्ने दावी गरिरहेकी छिन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को शुक्रबार भएको रिलिजका क्रममा पुजाले भनिन्, ‘पललाई कसैले केही गर्न सक्दैन, मेरो शतप्रतिशत विश्वास छ, आज नराम्रो मान्छेहरुले खेदो खनेको होला, पलका लागि पूजा शर्माको टिम जहिले पनि स्वागत गर्छ ।’
उनले केही दिनमै पल फर्केर आउने समेत विश्वास गरिन् । बलात्कार अभियोगका फरार अभियुक्त पल बिना उनले आफूलाई अपुरो महशुस गरेको बताइन् । बलात्कार अभियोगमा अनुसन्धानलाई सघाउनुसट्टा पुजाले पल निर्दोष भएको भन्दै थपिन्, ‘मलाई केही डाउट नै छैन किनभने जहिले पनि सत्यले जितेको लाष्टमै हुन्छ, हिरोको इन्ट्री लाष्टमै हुन्छ ।’

पूजाले मात्र होइन, पलका पक्षमा रहेका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत् पललाई निर्दोष भएको दावी गरिरहेका छन् । उनीहरुले बलात्कारका उजुरी दिएकी नाबालिग गायिकाको चरित्रमा प्रश्न उठाउँदै पीडितलाई झन् पीडा दिइरहेका छन् ।
चलचित्रमा पलसँग रोमान्स गरेकी पूजाले शुक्रबार दिएको अभिव्यक्ति अनुसार उनीहरु अहिले पनि सम्पर्कमै रहेको हुन सक्ने आशंका बढेको छ । फिल्म हल पुगेर पूजाले एक–दुई दिनमै पल आउने बताएकी छिन् । बलात्कार अभियोग लागेपछि फरार भनिएका पलले पनि आफ्नो आधिकारिक सामाजिक संजालमा ‘स्टाटस’ लेखेर आप्mनो बचाउ गरेका छन् ।

प्रहरीले देशभरका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) सहित सम्पूर्ण शक्ति पललाई पक्राउ गर्न खर्च गरेको छ । प्रहरीले विभिन्न टोली गठन गरेरै उनको खोजी गरेको पनि सार्वजनिक गरिरहेको छ । तर, प्रहरीले पल पक्रन सकेको छैन । सम्पूर्ण शक्ति खर्च गर्दा पनि बलात्कारका एक जना अभियुक्त पक्राउ गर्न नसकेर प्रहरीले आप्mनो असक्षमता देखाएको भन्दै आलोचना भइरहेको छ । नेपाल प्रहरीमा अपराध अनुसन्धान गरेकाहरु प्रहरीले यसरी सम्पूर्ण शक्ति खर्चेर पलको खोजी गरिरहेको भन्ने अभिव्यक्ति सार्वजनिक खपतको लागिमात्र भएको दावी गर्छन् ।

‘पललाई खोज्न प्रहरीले केन्द्रीय अनुसन्धान विभागसहित टोली बनाएर खटाएको भनेको छ, देशभरका प्रहरी कार्यालयलाई सर्कुलर गरेको सार्वजनिक गरेको छ’, प्रहरीका एक पूर्वअधिकारी भन्छन्, ‘सिङ्गो नेपाल प्रहरी लाग्दा पनि एउटा बलात्कार अभियुक्त पक्राउ नसक्नुले प्रहरीका आधिकारिक भनाई पत्याउन सकिँदैन ।’
प्रहरीका ती पूर्व अधिकारी फरार अभियुुक्तले फरार अवस्थामै सामाजिक संजाल चलाउन नस्कने बताउँछन् ।

‘फेसबुक कहाँबाट कसरी चलाएको छ भनेर प्रहरीले उत्तिखेरै थाहा पाउन सक्छ’, अपराध अनुसन्धानमा पोख्त ती पूर्व अधिकारी भन्छन्, ‘त्यसमाथि पल जी त अभियोग लाग्नुअघि सार्वजनिक रुपमै थिए, प्रहरीले चाहेको भए उजुरी पर्ने वित्तिकै पक्राउ गर्न सक्थ्यो ।’
१७ वर्षीया नाबालिग गायिका बलात्कार अभियोग लागेका अभियुक्त फरार हुँदा सामाजिक सञ्जाल र सार्वजनिक फोरम समेत अभियुक्त र पीडितको पक्ष विपक्षमा विभाजित भएको छ । यसले पीडकलाई पोत्साहन र पीडितलाई दुरुत्साहन गरिरहेको अधिकारकर्मीको आवाज छ । अर्काथरी भने नाबालिगलाई दोषी करार गर्न खोजी रहेका छन् । उनीहरुको तर्क नाबालिग छोरीलाई सार्वजनिक मञ्च वा अन्यत्र गीत गाउन एक्लै जान दिन नहुने तर्क गर्दै गायिका र परिवारको आलोचना गरिरहेका छन् ।
एडभोकेसी फोरम गण्डकका संयोजक रहेकी कुञ्जना परियार ‘प्यासी’ले राज्यले सबै स्वतन्त्र तरिकाले हिडडुल गर्न पाउने भन्दै राज्यले सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने बताउँछन् । ‘गायिकालाई एक्लै गीत गाउँदै नाच्दै हिड्न दिनु परिवारको गल्ती हो भन्नुको अर्थ अभियुक्तलाई सिधै चोख्याउन खोज्नु हो, प्यासी भन्छिन्, ‘जसले पनि गीत गाउँदै नाच्दै एक्लै हिड्न पाउनुपर्छ, चाहे सार्वजनिक ठाउँमा होस् वा निजी बाथरुममा ।’बलात्कार अभियोग लागेपछि पीडकलाई जोगाउन पीडितको चरित्र हत्या गर्ने र मानसिक यातना दिने कार्य यस घटनाले बढाएको प्यासीले बताइन् ।

‘पीडितलाई मानसिक यातना दिएको छ, सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा अदालत खडा गरेर फैसला आइरहेको छ,’ उनले भनिन्, ‘फरार अभियुक्तले पनि न्यायलयमा पेश गर्नुपर्ने प्रमाण फेसबुकमा ल्याएर न्यायालयको गरिमा र स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेका छन् ।’सामाजिक संजालमार्फत् आएका फैसलाले स्वतन्त्र न्याय सम्पादनमा असर पारेको भन्दै उनले बलात्कार घटनालाई प्रोत्साहन देखिने यस्ता फैसला दिनेहरुलाई बलात्कार घटना प्रोत्साहन गरेको मतियारका रुपमा मुद्धा चलाउनुपर्ने बताइन् । बलात्कार उजुरी परेको तनहुँ प्रहरी प्रवक्ता युवराज खड्का भने आरोपित पलको खोजविन भइरहेको बताउँछन् । ‘प्रहरीले पक्राउ गर्न नचाहेको जस्तो लाग्छ तपाईंलाई ?’ खड्काले उल्टो प्रश्न गरे, ‘उजुरी आउनासाथ हामीले खोजविन गरिरहेका छौं, विश्वास गर्नुस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->