बागलुङ/ प्रेस सेन्टर नेपाल बागलुङले जिल्लाका सबै स्थानीय तहमा तालिम र प्रशिक्षण गर्ने भएको छ । गलकोट नगरपालिका–१० पाण्डवखानीमा सम्पन्न सेन्टरको बैठकले जिल्लाव्यापी अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले संगठनलाई समयसापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हकहित र अधिकारका लागि काम गर्ने निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पत्रकारिता तालिम, संगठन विस्तारसँगै सदरमुकाममा विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने योजना तय गरेको प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिए ।
त्यस्तै सेन्टरले सम्मेलनको अवसरमा स्थापना गरेको १÷१ लाख राशीका २ वटा पुरस्कारलाई व्यवस्थापन गरि आगामी वर्ष २ जना पत्रकारलाई पुरस्कृत गर्ने, नेपाल पत्रकार महासंघमा आवद्व पत्रकारको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण लगायतमा सहजीकरण गर्दै महासंघलाई सहयोग गर्ने निर्णय गरिएको सेन्टरका अध्यक्ष थम्मन थापाले बताए ।
बैठकमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्लेले संगठनको नीति, कार्याक्रम र उद्देश्यबारे प्रकाश पारेका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्र बागलुङका अध्यक्ष ज्ञामनाथ गैरे अनिलले प्रेस सेन्टर बागलुङ आगामी दिनमा सक्रिय अग्रणी संगठनको रुपमा विकास गर्दै समग्र पत्रकारको हित र पत्रकारिताको विकासमा सक्रिय हुनुपर्ने बताए ।बैठक प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव अनिश खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।





