पोखरा/ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका बिभिन्न तीन वटा वडाकार्यालय भवन निर्माण सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको साझेदारी अन्तर्गत कूल दुई करोड ९ लाख ५४ हजार रुपैयाको लागतमा वडा नं. ३,४ र ५ वडाकार्यालय भवन निर्माण सम्पन्न गरिएको हो । गाउँपालिकाका वडा नं. ३ पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९ रुपैया, वाँसखर्कमा ६९ लाख ३० हजार ५११ रुपैयाको लागतमा वडा नं. ४ र झोवाङस्थित ७० लाख ३५ हजार ५६६ रुपैयाको लागतमा वडा नं. ५ को वडाकार्यालय भवन निर्माण गरि सञ्चालनमा आएका हुन । दुईतल्ले सुविधा सम्पन्न उक्त पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रम अनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति कास्की र ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने व्यवस्था छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवम् सेवा प्रवाहबारेमा स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।सो अवसरमा वडा नं. ३ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङ, ४ का अध्यक्ष भरत केसी र ५ का वडासचिव युवराज गुरुङसहित गाउँपालिकाका प्राविधिकले भवन निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी गराउनु भएको थियो । टोलीले अन्नपूर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित पर्यटकीय स्थल शितलगुफामा निर्माण भई रहेको बिभिन्न संरचनाका बारेमा पनि जानकारी लिएको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । जसका लागि जिल्ला समन्वय समितिको १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।





