बागलुङ/ उच्च अदालत बागलुङबाट बिशेष अदालतको अध्यक्षको भूमिकामा जान लागेका न्यायाधिस श्रीकान्त पौडेलले जनताले अनुभूति गर्ने गरी न्याय दिन कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
पौडेलले न्याय क्षेत्रमा घट्दो साख जोगाउन बार बेन्चको सम्बन्ध सुमधुर हुनुपर्ने धारणा राखेका छन् । उच्च अदालत बागलुङ बार एसोसिएसनले शुक्रबार आयोजना गरेको बिदाइ कार्यक्रममा पौडेलले न्याय क्षेत्रको साख जोगाउने काम तत्काल थालिनुपर्नेमा जोड दिए ।
अदालतको साख घट्दा देशमा कानूनी शासनको अन्त्य हुने उनको धारणा थियो ।
कार्यक्रममा सरुवा भएर जान लागेका अर्का न्यायाधिस शालिकराम कोइरालाले बारको संस्थागत विकास हुँदा न्यायमा जनताको पहुँच बढ्ने बताए । न्यायाधिसहरुले न्याय दिने काम भएपनि त्यसको लागि प्रमुख हात कानून व्यवसायीको हुने बताए । उनले सामाजिक इन्जिनियरको रुपमा वकिलले सही बिषय उठाएर ल्याएपछि पीडितले न्याय पाउने अबस्था आउने समेत बताए ।
बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले नेपालको न्याय क्षेत्रप्रति बढिरहेको वितृष्णालाई चिर्न कानून व्यवसायीले मेहेनत बढाउनु पर्ने बताए । साथै उनले न्यायाधिसहरु सभ्य र भ्रष्टाचार रहित बन्नुपर्ने धारणा राखे ।
उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता सहसचिव लक्ष्मी बास्कोटाको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा कानून व्यवासयीले न्यायाधिसहरुको बिदाइ गरेका थिए । सरुवा भएका पौडेल बिशेष अदालतका अध्यक्ष र कोइराला सोही अदालतमा न्यायाधिस पदमा सरुवा भएका हुन् ।





