पोखरा – मध्य बागलुङको गलकोट बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा अग्रज शिक्षक मोहन चन्द ‘राजन गुरु’ तथा गलकोट माविका पूर्व शिक्षिका कृष्ण कुमारी मल्लले आफ्नो ५०औ बैवाहिक बर्षगाँठको अवसरमा १ लाख ५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
लामो समय गलकोटमा प्राध्यापन गरेर हाल पोखरामा वस्दै आएका राजन गुरु र शिक्षिका मल्लले गलकोट समाज पोखराका नाममा १ लाख ५ हजारको अक्षयकोष स्थापना गरेका हुन् । गलकोट समाज पोखराका अध्यक्ष खडकवहादुर थापाका अनुसार पोखराको सितलादेवी पार्टी प्यालेसमा आयोजित बैवाहिक बर्षगाँठ कार्यक्रममा राजन दम्पतीले उक्त अक्षय कोष गलकोट समाज पोखरालाई हस्तान्तरण गरे ।
गलकोट समाज पोखराको संयोजनमा भएको कार्यक्रममा गुरु मोहनचन्द्र राजनले समाजले पोखरामा समाजसेवाको क्षेत्रमा थुप्रै उत्कृष्ठ कार्यक्रम गरेकोमा धन्यवाद दिदै आफुहरुले पनि सक्दो सहयोग गर्न बैवाहिक दिनको अवसर पारेर अक्षय कोष हस्तान्तरण गरेको वताए ।
९३ बर्षिय सासुआमा देउकुमारी मल्लको आमन्त्रणामा भएको सो कार्यक्रममा गुरु मोहनचन्द्र राजनलाई गलकोट समाज पोखरा, सितलादेवी मावि, दर्शन संगम परिवार कास्की, गलकोट समाज जापान लगायत एक दर्जन संस्थाहरुले सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, गलकोट नगरपालिकाका प्रमुख भरत गैरे, पश्चिमान्चल बिश्वबिद्यालयका उपकुलपती डा. बुद्धिबहादुर थापा, डा. कृष्णा बिष्ट लगाएतका कलेज प्राध्यापकहरु सहभागी थिए । कार्यक्रममा सहभागी सबैलाई उनका छोरा ईश्वर चन्द, छोरी अनीता राणा, सुनीता शाहीले धन्यवाद दिदै गलकोट समाजलाई आफुहरुले पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।





