पोखरा/ पोखराको व्यस्त बजार क्षेत्र महेन्द्रपुलको ‘पोखरा आर्ट ग्यालरी’मा कुनैबेला खुबै चहलपहल हुन्थ्यो । पोखरामा हुने गरेका सानाठूला चित्रकला तथा फोटो प्रदर्शनी त्यहीं हुने गरेका थिए ।
०५६ सालमा स्थापना भएको उक्त ग्यालरी छेउमा पोखरा सार्वजनिक पुस्ताकालय रहेकाले पनि त्यस्कै बहानामा कवि, कलाकारको देखभेट भइरहन्थ्यो । फोटो, चित्रमात्रै प्रदर्शन गर्ने हेतूले बनाइएको भवन समग्र पोखरामै अन्यत्र नभएकाले पनि पोखरा आर्ट ग्यालरी कलाकारको भेट गर्ने गन्तव्य बनेको थियो ।
अहिले ती दृश्य फरक छ । उक्त ठाउँमा ‘पोखरा आर्ट ग्यालरी’ लेखिएको भवन त छ तर, नाममात्रैको । त्यहाँ न अहिले चित्र, फोटो नै प्रदर्शन हुन्छन् न कलाकार नै जुट्छन् । फोटो, चित्रकला प्रदर्शनीले चहलपहलमय भइरहने ठाउँ करिब ३ वर्षअघिबाट सुनसान बन्न पुगेको हो ।
फोटो, चित्र प्रदर्शन भइरहने गरी तोकिएको एकमात्र ग्यालरी पोखरा महानगरकै अपरिपक्व निर्णयकै कारण सुनसान बन्न पुगेको हो । पोखरा महानगरको ०७५ चैत १ गते बसेको कार्यपालिका बैठकले महेन्द्रपुलबाट ग्यालरी सार्ने र त्यहाँ पार्किङ स्थल बनाउने निर्णय गरेको थियो ।
महानगरको २८ औं कार्यपालिका बैठकले ‘महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय अन्यत्रै सार्ने’ निर्णय गर्दा कलाकारसमेत खुसी थिए । साँघुरो, अत्यन्तै भिडभाड, होहल्ला पनि भइरहने र अपायक भएको उक्त ठाउँबाट गण्डकी प्रदेश संग्रहालयको खुल्ला ठाउँमा ग्यालरी र पुस्तकालय सार्ने निर्णयले कलाकार दंग थिए ।
तर, निर्णय भएको ३ वर्ष बित्न लाग्दासमेत न आर्ट ग्यालरी सारियो न त त्यहाँ योजनावमोजिम पार्किङस्थल नै बनाइयो । निर्णय गरेको लामो समयसम्म ग्यालरी नबन्दा कलाकारसमेत निराश छन् ।
‘त्यो (पोखरा आर्ट ग्यालरी) बनाउन सुरुमा हामी कलाकारले साह्रै मेहनत गरेका थियौं । आफूले सकेजति सहयोग गरेर बनाएका थियौं । त्यो ग्यालरी बनिसकेपछि नै एक हिसाबमा पोखराको चित्रकला अन्तर्राष्ट्रियस्तरसँग जोडिएको हो,’ वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’ भन्छन्, ‘तर, अहिले महानगरले त्यसलाई विभिन्न बहानामा भत्काउन खोजिरहेको छ ।’
अर्को ग्यालरीको टुंगो नलाइकनै महेन्द्रपुलस्थित उक्त ग्यालरी भत्काउन खोज्दा आफूहरुले नै रोकेको वात्स्यान बताउँछन् । ‘महानगरले नयाँ ठाउँमा सार्ने भन्ने सुनियो,’ उनी भन्छन्, ‘अर्को विकल्प व्यवस्थापन नभइकन छोड्दैनौं भनेका छौं । पोखराजस्तो सहरमा ग्यालरी एउटामात्रै होइन, धेरै हुनुपर्छ ।’
कलाकार हेमकान्ती गुरुङ चैत महिनाभित्रै गर्ने तयारी गरेको अन्तर्राष्ट्रियस्तरको चित्रकला प्रदर्शनी अहिले नगर्ने मनस्थितिमा पुगिसकेकी छन् । यसको मुख्य कारण नै ठाउँ अभाव हो । पहिले उनले पोखरा आर्ट ग्यालरी मै आफ्नो कला प्रर्दशनी गर्थिन् । तर, अहिले त्यो पनि पातलिएको छ ।
‘आर्ट भनेको पेन्टिङ चित्र बनाएर देखाउनेमात्रै होइन, यसमा विभिन्न पाटाहरु छन् । सानो र साँघुरो ठाउँमा गाह्रो हुन्छ भनेरै नयाँ विकल्प खोजिएको हो,’ गुरुङ भन्छिन्, ‘अहिले त झन् त्यो पनि अनिश्चित भइदियो । न कलाकारले आवाज उठाए, न सरकारले कलाको महत्व नै बुझ्यो ।’
कलाकार गुरुङको मतसमेत महानगरले ग्यालरीको टुंगो चाँडै लगाइदियोस् भन्ने छ । काठमाडौंपछि कला क्रियाकलाप भइरहेन ठाउँमै ग्यालरीविहीन भएर खुम्चिनुपर्दा दुख लागेको उनी बताउँछिन् ।
‘काठमाडौंपछि कलाको हिसाबले पोखरा दोस्रो नम्बरमा आउँछ । तर, यही सहरमा हामी आफ्नो प्रतिभा पनि देखाउन पाउँदैनौं । आफूले बनाएका कला देखाउने ठाउँ पनि छैन,’ गुरुङ दुखेसो पोख्छिन्, ‘ग्यालरी नहुँदा क्रियाकलाप त कम भएनै, यसबारे अरुलाई बुझाउने मौका नै पाएका छैनौं ।’
महानगरको बहानाः संग्रहालयसँग कुरा मिलेन !
महानगरको महेन्द्रपुलबाट आर्ट ग्यालरी र पुस्तकालय गण्डकी प्रदेश संग्रहायको जग्गामा सांस्कृतिक ग्राम बनाउने र त्यतै सार्ने योजना थियो । तर, सल्लाह नकरिकनै निर्णय गरिएको भन्दै संग्रहालयले त्यतिबेलै विरोध जनाएको थियो ।
‘हुन त संग्रहालयमा पुस्तकालय र आर्ट ग्यालरी हुन जरुरी छ । तर, यो प्रदेश संग्रहालय हो । महानगरले संग्रहालय ल्याउँदा हामीसँग पनि सल्लाह गर्नुपथ्र्यो,’ संग्रहालय प्रमुख करुणा राईले त्यतिबेलै प्रतिक्रिया दिँदै भनेकी थिइन्, ‘हामीलाई जानकारी पनि भएको छैन । समन्वय पनि भएको छैन ।’
संग्रहालय प्रमुख राईले भनेजस्तै उक्त समस्या अहिलेसम्म सुल्झिएको छैन । संग्रहालयमा ग्यालरी पुस्तकालय र ग्यालरी आइसकेपछि राजश्व संकलनदेखि टिकटदरमा समेत विवाद कायमै रहेका महानगरको भनाइ छ । महेन्द्रपुलदेखि नयाँ बजारमा ग्यालरी सर्न अझै समय लाग्ने महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
‘संग्रहालयभित्र ग्यालरी र पुस्तकालय हुने भएपछि अझै कुरा मिल्न सकेको छैन । पुस्तकालय र ग्यालरी फरक कुरा हो, म्युजियम फरक कुरो हो टिकट, राजश्व कसरी लिने भन्ने कुरै मिलेको छैन,’ पोखरा महानगर प्रवक्ता धनबहादुर नेपालीले भने, ‘हामी छलफलमै छौं ।’





