बागलुङ/ निर्माण भएको झण्डै ६० बर्षपछि बलेवा बिमानस्थल कालोपत्रे गरिएको छ । नियमित जहाज संचालन गर्ने लक्षसहित बलेवा बिमानस्थल कालोपत्रे गरिएको नेपाल नगारिक उड्ययन प्राधिकरणका प्रतिनिधिले बताएका छन् ।
तीन बर्ष अघिदेखि निर्माण थालेपनि कोरोना संक्रमणले रोकिएको काम अहिले पुरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधिन बिमानस्थल ‘काण्ठमण्ड उमा जेभी’ले बनाएको हो । चैत मसान्तभित्र बिमानस्थलको रंगरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण तयारी भएको साइट इन्चार्ज बासु थापाले जानकारी दिए ।
यो एयरपोर्टमा साना तथा मझौला जहाज अबतरण गर्न सक्छन् । ‘सिंगो एयरपोर्ट १ प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अबतरण गर्न सक्छन्’ थापाले भने, ‘निर्माणको क्रममा हामीले यो अबस्था ल्याउने गरी काम गरेका छौं ।’ कालोपत्रे गुणस्तरीय प्रकारको गरिएको उनले जानकारी दिए । प्राधिकरणको ८ करोड २४ लाख ३४ हजार रुपैयामा कंपनीले कालोपत्रेको काम सकेको हो ।
बलेवा बिमानस्थल ७ सय मीटर लामो कालोपत्रे गरिएको हो । प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले एयरपोर्टको नियमित अनुगमन गरेको बताए । ‘कोरोनाले समस्या भएर ढीला भएपनि अहिलेको काम सन्तोषजनक छ’ उनले भने, ‘चैत मसान्तमा हस्तान्तरण भएपछि हवाइ उडानबारे काम शुरु हुनेछ ।’ यो बिमानस्थल संचालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ ।
बलेवा क्षेत्रका मानिसले श्रमदानबाट थालेर २०१६ देखि २०१८ सम्ममा यो मैदान बनाएका थिए । ८ सय मीटरलामो यो बिमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाण्डौ, पोखरा र भैरहवाका नियमित उडान भैरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
बिमानस्थलमा ७ सय मीटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा १ हजार ५ सय मीटर लामो घेराबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपतकालिन गेट तयार भएको छ । मैदानको सबै भाग १ किमी लामो छ । तर हाल ७ सय मीटर लामो क्षेत्रमा तारबार लगाइएको हो । मैदान ६० मीटर चौडा सम्याइएपछि १८ मीटर कालोपत्रे भएको हो । यहाँ १८ देखि २० सिट क्षमताका जहाजहरु चल्ने दुवालले बताए ।
यो बिमानस्थल संचालनका लागि बागलुङ बजारदेखिको ८ किमी सडक कालोपत्रे गर्नुपर्ने स्थानीय सुमन भुषालले बताए । ‘सरर ट्याक्सी लिएर नगएसम्म यो बिमानस्थल चलाउन कठिन छ, कालोपत्रे बिमानमा झरेर खाल्डाखुल्डीको सडक हिड्न कसैले पनि रुचाउँदैन ।’ हाल कालीगण्डकी करिडोर निर्माणाधिन छ । सेनाले सडक बिभागलाई हस्तान्तरण गरेपछि स्तरोन्नतीको काम ठप्पै छ ।





