बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थी मृत्यु प्रकरणमा लमजुङ प्रहरीले जाहेरी लिएन

विद्यार्थी मृत्यु प्रकरणमा लमजुङ प्रहरीले जाहेरी लिएन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७८, बिहिबार

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ ।

तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो ।

फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मर्स्याङ्दी नदीले बगाउँदा मृत्यु भएको थियो । होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङ्दीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् ।

डीएसपी कृष्णबहादुर कार्कीले घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान गर्छु भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए ।

‘घटना एउटा र मुद्दा अर्को भयो । भवितव्य दुर्घटना मुद्दामा अनुसन्धान गर्दै जाँदा कर्तव्य भएको देखिएमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाउन मिल्छ । उहाँहरुले अहिले नै कर्तव्य ज्यानकै मुद्दा चलाउनुपर्छ भनेर जाहेरी दिएपछि लिन सकिएन,’ उनले भने । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् । उनले उजुरी सच्याएर ल्याउन आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->