मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामै क्वारेन्टिनमा छन् अमेरिकी साँढे

पोखरामै क्वारेन्टिनमा छन् अमेरिकी साँढे


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७८, शुक्रबार

पोखरा/ व्यावसायिक गाईपालनमा नस्ल सुधार गर्ने भन्दै अमेरिकादेखि नेपाल ल्याइएका साँढे यतिबेला पोखरामा क्वारेन्टिनमा छन् । ती साँढेलाई पोखरा महानगरपालिका १५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ ।
अमेरिकादेखि फागुन १३ गने ७ वटा साँढे हवाइयात्रामार्फत नेपाल आइपुगेका थिए । नेपाल आएकामध्ये एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई फागुन १५ गते पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

पोखराको क्वारेन्टिनमा रहेका ती साँढे स्वस्थ छन् । प्रजनन कार्यालय, कास्कीका अनुसार पोखरा ल्याइएका साँढेको रगतदेखि अन्य आवश्यक विभिन्न स्वास्थ्य परीक्षण गरिसकिएको छ ।
‘अहिलेसम्म अमेरिकी साँढेमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । विस्तारै पोखराको हावापानीमा बानी पर्दैछन्,’ वरिष्ठ पशु विकास अधिकृत सापकोटाले भने, ‘अब पनि ५÷६ दिनसम्म कुनै स्वास्थ्य समस्या देखिएन भने फिल्डमा लैजान्छौं ।’

अमेरिकादेखि ल्याइएका ती साँढेलाई २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने सापकोटाले जानकारी दिए । नेपालमा ल्याएकै दिनदेखि क्वारेन्टिन समय गणना गरिएकाले २ हप्ता हुन लागिसकेको उनले सुनाए । उनले भने, ‘पोखरा ल्याएकै ९ दिन हुन लागिसक्यो । अब केही दिनमा साँढेको क्वारेन्टिन अवधि पुग्छ ।’
नेपाल लाइभस्टक सेक्टर इनोभेसन (एनएलएसई) आयोजनाले साँढेहरु खरिद गरेको हो । अमेरिकादेखि नेपालमा नेपाल ल्याइएका साँढेमध्ये पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका छन् । एउटा जर्सी साँढे भने काठमाडौंमै राखिएको छ ।
मेट ग्रुप नामक कम्पनीले ठेक्कामार्फत नेपाल ल्याएका ती साँढे भने राष्ट्रिय प्रजनन् विकास कार्यालय, कास्कीलाई हस्तान्तरण भइसकेका छैनन् । साँढेको क्वारेन्टिन अवधि पूरा भएपछि मात्रै एनएसईले कार्यालयलाई हस्तान्तरण गर्ने सापकोटाले सुनाए ।

क्वारेन्टिन अवधि पूरा गरेपछि ती साँढेहरु विर्य उत्पादनका लागि योग्य हुनेछन् । प्रजनन कार्यालयले ती साँढेलाई पोखरामै राखी विर्य उत्पादन गर्ने र देशैभरि पठाउने योजना रहेको जनाएको छ । ‘व्यावसायिक गाई पालन गरिरहेको व्यवसायीको व्यवसाय बढाउन र नस्ल सुधार गर्न साँढे नेपाल ल्याइएका हुन् । पोखरामै विर्य उत्पादन गरेर देशैभरि पठाउने योजना छ,’ सापकोटाले भने ।
फागुन ११ गते अमेरिकाको सिकागोबाट प्रस्थान गरेका साँढेहरु कतारको दोहा, भारतको नयाँ दिल्ली हुँदै १३ गते नेपाल आइपुगेका हुन् । सिकागोबाट नयाँ दिल्लीसम्म कतार एअरवेजमा यात्रा गरेका साँढेहरु दिल्लीबाट काठमाडौंसम्म नेपाल एअरलाइन्समा आएका थिए । त्यहाँबाट २ वटा ट्रकमा पोखरा ल्याइएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->