बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पल शाहविरुद्ध नवलपुर अदालत मुद्दा दर्ता

पल शाहविरुद्ध नवलपुर अदालत मुद्दा दर्ता


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७८, बिहिबार

नवलपुर- किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार मुद्दा दर्ता भएको छ । किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । ती किशोरीको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप ती युवतीको छ ।

अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै किशोरीले बलात्कार सम्बन्धी उजुरी दिएकी छन् । तनहुँभन्दा पहिला यहाँको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले एउटै अदालत (तनहुँ र नवलपुर) मा मुद्दा आउन सक्ने प्रहरीको भनाइ छ । ‘समान प्रकृतिको मुद्दा भए एउटै जिल्ला अदालतमा हेर्ने चलन पनि छ । यो अदालतको तजबिजको कुरा भयो,’ प्रहरी स्रोतले भन्यो ।

हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । तनहुँमा भने प्रहरी अनुसन्धानकै क्रममा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->