मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराको फोहर नउठ्दा गिद्धको उठिबास

पोखराको फोहर नउठ्दा गिद्धको उठिबास


  • विजय नेपाली
  • चैत्र ५ २०७८, शनिबार

पोखरा/ पोखरा नगर क्षेत्रबाट ४ दिनदेखि फोहर उठेको छैन । मुख्य सहरी क्षेत्रमा फोहरको डुंगुर लागेको छ । ल्याण्डफिल साइट रहेको पोखरा १४ छिनडाँडाका स्थानीयले विभिन्न माग राख्दै फोहोर बोक्ने सवारी निषेध गर्दा यहाँको फोहर नउठेको हो । सडकमा दुर्घन्ध फैलिएको छ तर फोहर नउठ्दाको असर विश्वमै लोपोन्मुखे गिद्धमा समेत देखिएको छ ।

नेपालमा पाइने ९ मध्ये पोखराको ल्याण्डफिल साइटमा ६ प्रजातिका गिद्ध देखिन्छन् । गिद्ध र चिलको मुख्य खानाको स्रोत भनेकै फोहोर विसर्जन क्षेत्र हो । ४ दिन महानगरको फोहोर नउठ्दा सो क्षेत्रमा आउने गिद्धको संख्या ह्वात्तै घटेको छ । आहारा घटेसँगै सो क्षेत्रमा अहिले उक्त क्षेत्रमा ४०÷४५ को हारहारीमा गिद्धहरु बाँकी छन् ।

गिद्धको अध्ययनमा जुटेका अमन सुनारका अनुसार फागुनको अन्तिमसम्ममा त्यहाँ १२० भन्दा बढी गिद्धहरु रहेका थिए ।
उनले आफुले गिद्धबारे अध्ययन गरिरहँदा फरक कुरा पाएको सुनाए । गिद्धहरुले फोहोर बोक्ने गाडीलाई खाना ल्याउने सवारीको संकेतको रुपमा रहेको बताए । ‘मैले सुरुमा सोचेको थिएँ । यहाँ गाडी नआउने भए, मान्छेहरु नहुने भए, गिद्ध र चिलको संख्या कति धेरै हुने थियो ! तर, म पूरै गलत रहेछु’, उनले भने,‘यहाँ त फोहोर आयो भनेमात्र गिद्धलाई आहारा हुने रहेछ । मैले ४ दिनअघिसम्म १२० भन्दा माथि गिद्ध गनिरहेको थिएँ, अहिले संखया ह्वात्तै घटेको छ । शुक्रबार त ४० –४५ मात्र देखिए ।’ खाना र सिनो नपाउँदा गिद्धहरु अन्यत्र गएको उनको जिकिर छ । सो क्षेत्रमा अति लोपोन्मुख अवस्थामा रहेको स्लेन्डर विल्ड अर्थात खैरो गिद्धसमेत भेटिएको सुनाए ।

महानगरमा फोहार नउठँदा सहर फोहर हुनु र गिद्धहरुले बास छाड्नु दुबै भएको तर्क गरे । सो क्षेत्रमा ३० वटा हिमाली गिद्ध, ९ वटा डंगर , २ वटा सुन गिद्ध,१ सय २० वटा सेतो गिद्ध, ४ वटा राजा गिद्ध र २ वटा सानो खैरो गिद्ध र चिल देखा परेको बताए । स्थानीयले डम्पिङक्षेत्र अन्यत्र सार्ने र पुराना सहमति कार्यान्वयन गर्नुपर्ने माग सहित आन्दोलन गरिरहेका छन् । महानगरको लापरवाहीका कारण यतिबेला सहर प्रदुषित भइरहेको छ । उता अन्तर्राष्ट्रिय विमानस्थलका कारण गिद्धको लोप हुने खतरासमेत देखिएको छ । ‘वातावरणलाई सन्तुलन राख्न गिद्धको ठूलो हात हुन्छ । यसलाई जोगाइराख्नु राज्यको दायित्व हो । अब त गिद्धको अस्तित्वमा खतरा देखियो’, उनले भने ।

स्थानीयहरुले भने २८ वुदे सहमति प्रगति देखिने गरी कार्यान्वयन, ल्यावसहितको स्तरीय स्वास्थ्य केन्द्र स्थापना, ल्याण्डफिल्ड जाने गेट १ र २ को बाटो तत्कालै पिच, दाहासंस्कार स्थलसम्म सडक र शवदाह गृह निमार्ण, पोखरा १४,२१ र ३३ जोड्ने मोटरेवल पुल डीपीआरको खोजी र प्रभावित क्षेत्रको खेलमैदान स्तरोन्नति गर्नुपर्ने माग राखेका छन् । उक्त माग पूरा भए अर्को ल्याण्डफिल साइट नभेटेसम्म फोहोर विसर्जन गर्न दिने ल्याण्डफिल साइट साइड जनसरोकार समितिका अध्यक्ष बोधराज कार्कीले बताए । सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले स्थानीयको अवरोध र केहि मागका कारण फोहोर विसर्जन गर्न नदिँदा सहरको फोहोर उठन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->