पोखरा/ पृृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छे« हिमाल । अंग्रेजीमा ‘पोखरा इन्टरन्यासनल एयरपोर्ट’ लेखिएको चित्ताकर्षक भवन ! पोखरा विमानस्थलको ‘टर्मिनल भवन’का तस्वीरहरु सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भेटिन्छन् । प्रधानमन्त्रीदेखि गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरु अनि केही टाठाबाठाहरुले पनि पटक–पटक विमानस्थलको अवलोकन पनि गरेका छन् । ती तस्वीर हेर्नेहरुले भन्छन्,‘ए एयरपोर्ट त बनिसकेछ !’
हुन पनि विमानस्थलको ९२ प्रतिशतजति भौतिक निर्माणका काम सकिएको छ । तर, विमानस्थल भनेको भवन र धावनमार्गमात्रै हैन । विमान उड्नको लागि पूर्वाधारसँगै सुरक्षा र मान्यताप्राप्त गुणस्तर पनि चाहिन्छ । पोखरा विमानस्थलको भौतिक निर्माण अन्तिम चरणमा पुग्दा सुरक्षा र अन्य आवश्यक मापदण्ड भने पूरा हुन सकेका छैनन् ।
र, तीमध्ये मुख्य चुनौतीको रुपमा देखिएको अवतरण गर्नेतर्फ रहेको रिठेपानी डाँडा कटान । दक्षिण्तिरको सो डाँडा काटिएन भने विमानहरु अवतरण र उडानमा समस्या आउँछ । यो विषय नागरिक उड्डयन प्राधिकरणले पटक–पटक उठाउँदै आयो । तर, डाँडा र रुख काट्न वातावरणीय मूल्याङ्कन हुनुपथ्र्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीका अनुसार लामो समयसम्म वातावरणीय मूल्याङ्कन फाइल वन मन्त्रालयमै थन्कियो । अघिल्लो वर्ष नै संसदको दीगो विकास तथा सुशासन समितिले डाँडा काट्न निर्देशन दिए पनि प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । डाँडा नकाटेसम्म उडानको अनुमति दिने अन्तर्राष्ट्रिय नियमनकारी निकाय आइकाओले अनुमति लिने प्रक्रिया सुरु गर्न अप्ठेरो पर्ने उनले बताए । ‘हामीसँग असारसम्मको समय छ,स्वीकृति पाएकाले अब काम अगाडि बढ्छ’,उनले भने,‘वैशाखमा उडान परीक्षण गर्ने र असारमा ह्याडओभर गर्ने गरी काम अगाडि बढेको छ । सेटअप, इर्मिगेसन, कबलहरुको निर्माण पनि हुँदैछ ।’ अवरोध हटाउन दुई हेक्टरमा फैलिएको रिठेपानी डाँडाको ४० मिटर उचाइ घटाउनुपर्छ ।
विमानस्थलको दक्षिणपूर्वपट्टी बर्खामा आउने बाढी र कटान नियन्त्रण,हाल संचालनमा रहेको ल्याण्डफिल साइट एवं इन्धन डिपोको समस्या भने समाधान नभएको उनले बताए । पोखरा विमानस्थलमा काहुँडाँडा, अर्मलादेखि पोखरा नगर क्षेत्रको बाढी जान्छ । विमानस्थलको धावन मार्ग नबनाउँदासम्म छिरलिएर बग्ने पानी अहिले दक्षिण पूर्वतिरबाट बग्ने गरेको छ । बर्खामा सिंचाइको लागि बनाइएको नहर तथा बाढी खोलाजस्तै हुन्छ । सो बाढीले विमानस्थल छेउको जमिन भत्काउँदै आएको छ । बाढी नियन्त्रणको लागि हालसम्म करिब ३५ करोड खर्च भइसकेको छ तर जमिन विजयपुर खोलामा खस्ने क्रम रोकिएको छैन । उता, विमानस्थलले वडा नम्बर १४को तल्लो क्षेत्रमा जाने सिंचाइको पानी रोकिदिएपछि सो क्षेत्र सुख्खा बनेको छ । सिंचाइको सुविधा नपाएको भन्दै स्थानीयहरु अदालतसम्म पनि पुगेका छन् । अदालतले नै सिंचाइको व्यवस्था गर्न निर्देशन दिए पनि त्यो निर्णय कार्यान्वनयमा आएको छैन । बाढी नियन्त्रणको लागि सिंचाई डिभिजनलाई लिखित आग्रह गरिए पनि काम अगाडि नबढेको मुनकर्मीले बताए । मुनकर्मीले सिंचाइबाट डाइभर्सनको जिम्मा पनि सिंचाइ डिभिजनकै भएको तर त्यसमा प्रगति नभएको सुनाए ।
‘३वर्षदेखि यो कुरा उठाउँदै आएका छौँ,समस्या समाधानको लागि २०७६ सालमा बृहत वैठक पनि बस्यो तर उहाँहरु बजेट छैन भन्नुहुन्छ’,उनले भने,‘ हामीले विमानस्थल भल बाढीको समस्या समाधान गर्न नै एयरपोर्ट भित्र बनाइएका पानीका कुलोहरुको डिजाइन नै मोडिफाइड गरेका छौँ । डिजाइनमा चेञ्ज गर्दा सिंचाइको पानी तह लगाउन सकिने भएको छ ।’ उनले विमानस्थलभित्रको पानी तर्काउन बनाइएका थप संरचनाको खर्च चिनियाँ ठेकेदार कम्पनीले नै व्यहोरेको जिकिर पनि गरे । उनले विमानस्थल तल्लो क्षेत्रमा रहेका नागरिकहरुले उठाउँदै आएको सिंचाइको समस्या समाधान गर्न कुलोहरु बनाएको पनि जिकिर गरे । ‘हामीले सिंचाइको लागि नहरले बनाएको छ । सिंचाइले पानी जोड्नुप¥यो ।आवश्यक ठाउँमा पानी जोड्नुप¥यो’,मुनकर्मीले भने,‘ सिंचाइको काम सिंचाइ दिने हो । इरिगेसन डिभिजनले शब्द शब्दमा खेल्न खोज्छ । काम गर्न नचाहेर बिग्रेको हो । हामीले जनतालाई पानी दिने पूर्वाधार बनायौं । पानी जोड्नुप¥यो । एकातिर पहिरो गइरहेको छ । अर्कोतिर जनताले पानी पाएका छैनन् ।’
उनले बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट स्थान्तरणको प्रक्रियामा पनि ठोस प्रगति नभएको बताए । ल्याण्डफिल साइट सार्ने जिम्मा पोखरा महागनरको हो । पोखरा महागनरले जग्गा खोजेर सार्ने प्रतिवद्धता जनाएको छ तर त्यो पूरा हुन सकेको छैन । वडा नम्बर २० र १६ मा पर्ने २३१ रोपनी जग्गा हेरिए पनि स्थानीयको विरोधले काम अगाडि बढ्न नसकेको महानगरको भनाइ छ । ‘हामीले जेठदेखि त्यहाँ फोहर फाल्न मिल्दैन भनेका छौँ । डाँडा काटेपछि निस्कने माटोले फोहर पुर्ने भनिएको छ’,उनले भने,‘ २ अडाइ बर्षदेखि उठाएको कुरा हो,ल्याण्डफिल साइट बन्द भएन भने हवाइ सुरक्षामा समस्या पर्ने देखिन्छ ।’ निर्माण परियोजनाका इञ्जिनियर तथा उपप्रबन्धक कृष्ण पौडेलका अनुसार ल्याण्डफिल साइट नहट्ने भएपछि फोहर भएको ठाउँमा उड्ने चराहरुबाट हुने उडान अवरोध हटाउने वैकल्पीक उपायको खोजी भने गरिएको छ ।संसारका विभिन्न विमानस्थलहरुमा प्रयोग गरिएको चरा धपाउने प्रविधि ल्याउनेबारे छलफल चलेको उनले बताए । भौतिक निर्माण सकिनैलाग्दा विमानस्थलमा इन्धन डिपोसमेत बन्न सकेको छैन । २०७७ सालमा इन्धन डिपो निर्माणको टेण्डर आह्वान भयो । टेण्डरमा कुनै पनि कम्पनी योग्य नभएको भनियो तर छनोट प्रक्रियामा असहमति जनाउँदै टेण्डरमा सहभागी कम्पनीले अदालत गुहा¥यो । विवादसँगै इन्धन डिपो बन्न सकेको छैन । डिपो बन्न नसकेपछि आयल निगमले हालको पोखरा विमानस्थलबाट बोकेरै त्यहाँ इन्धन पु¥याउने बताउँदै आएको छ । ‘पुरानो एयरपोर्टमा भण्डारण क्षमता बढाएर बोक्ने गाडी स्टाण्डबाइ राख्ने कुरा छ’,परियोजना प्रमुख मुनकर्मीले भने,‘ एउटामा गाडीमा २७ हजार लिटरब बोक्ने गाडी र ६४ हजार लिटरको भण्डारण क्षमता बनाउने भनिएको छ तर उहाँहरुले काम गर्न सक्नुभएन । बनाउनै साढे ३ वर्ष लाग्छ भन्नुभएको छ । ’
तर,हालको पोखरा विमानस्थलदेखि नयाँ विमानस्थलसँग अति संवेदनशील मानिएको पेट्रोलियम पदार्थ बोकेर पु¥याउन चुनौतीपूर्ण रहेको छ । साँघुरो बाटो, विजयपुर खोलामा बनेका पुलहरुको भारवहन क्षमताका कारण पनि सधैं बोकेर इन्धन पु¥याउन असम्भव रहेको विमानस्थल परियोजनाका एक वरिष्ठ अधिकारीले बताए ।
गण्डकी सरकारले विमानस्थल संचालन सहजीकरणका लागि गर्न गएको कात्तिकमा पर्यटनमन्त्री मणिभद्र शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति निर्माण गरेको छ । सो समितिको २ वटा बैठक सम्पन्न भएका छन् । तर,बैठकमा सहजीकरणको भन्दा पनि गुनासो सुुनाउने काम हुँदै आएको छ ।‘नाम चाहिँ सहजीकरण समिति छ तर विमानस्थलले यो गरेन, ऊ गरेन भन्ने मात्रै कुरा हुन्छ’,मुनकर्मीले भने,‘ यद्यपि, समस्या पहिचान गरेर समाधान गर्ने मन्त्रीज्यू पोजेटिभ हुनुहुन्छ ।’
यता, विमानस्थल निर्माणसँगै बाहिरी पूर्वाधार नबन्दा पनि संचालनमा समस्या आउन सक्ने सरोकारवालाको भनाइ छ । विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्र आउने बाटो २ लेनको मात्रै छ । अहिले नै सो सडकमा ट्राफिक जाम हुन्छ । ‘विमानस्थलमा समयमै पुग्नुपर्छ,अहिले भएको बाटो हेर्दा त एयरपोर्ट पुग्नै सकस हुने देखिन्छ’,विमानस्थल निर्माण अभियन्ताको परिचय बनाएका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले भने,‘सडक फराकिलो बनाउनेतर्फ कसैको ध्यान पुगेको छैन ।’ उनले विमानस्थल तयार भए पनि यहाँबाट कहाँ जहाज उडाउने भन्ने निक्र्यौल नहुँदा पनि संचालन अनिश्चित भएको जिकिर गरे ।
‘पर्यटक ल्याउने भनेको कसैको घरमा गएर आगो ल्याएजस्तो हैन, पहिल्यै मार्केटिङ हुनुपर्छ’,उनले भने,‘ पहिला पोखरा उडान र यहाँको पर्यटकीय गतिविधिबारे जानकारी दिनुप¥यो । पर्यटकले तत्काल हिँड्ने योजना बनाउँदैन, २–३ वर्षदेखि पैसाको जोहो गर्दै,बिदा मिलेपछि मात्र उनीहरु यहाँ आउने हुन् भन्ने हामीले बिर्सेका छौं ।’ उनले पोखरा आउने विमान सिमरा हुँदै आउनुपर्ने र त्यो उडान महँगो हुने जिकिर पनि गरे ।पोखराभन्दा पछि निर्माण थालिएको गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान भइसकेको छ । त्यहाँबाट उडान भर्न केही अन्तर्राष्ट्रिय विमान कम्पनी तयार हुँदासमेत पोखराबारे नसोचिनु दुःखद भएको पालिखेले गुनासो गरे । उनले अन्तर्राष्ट्रिय उडान भर्न असमर्थ भए पोखरा विमानस्थल नि घाटामा गएर श्रीलंकाको हंवनटोटा विमानस्थलको हालत हुनसक्ने खतरा पनि औंल्याए । श्रीलंकाको हंवनटोटा विमानस्थल पनि चिनियाँ ऋणमै बनेको थियो । विमानस्थलको आम्दानीले ऋण तिर्न नसकेपछि श्रीलंकाले सो विमानस्थल नै चीनलाई सुम्पेको थियो ।‘मित्रराष्ट्रको सदासयताले बनेको एयरपोर्ट संचालन गर्नु हाम्रो दायित्व हो’,उनले भने,‘आफूले ढंग नपु¥याउने र दोष अर्कालाई दिन मिल्दैन तर दीगो संचालनबारे बेलैमा सोच्नुपर्छ ।’
उनका अनुसार सिमरा हुँदै नेपालमा कयौं विमान आउँछन्,त्यस्तोमा एयर ट्राफिकको समस्या आउनसक्छ भने अर्कोतर्फ त्यो रुट महँगो पनि पर्छ । उनले भने,‘ पोखरा विमानस्थल दीगो बनाउने हो भने भैरहवा क्षेत्रबाट उडान प्रवेश हुनु जरुरी छ ।’ उनका अनुसार भारतले हालसम्म भैरहवा रुट हुँदै नेपाल प्रवेशको अनुमति दिएको छैन । परियोजना प्रमुख मुनकर्मी भने एयर रुटमा समस्या भएको स्वीकार्दैनन् । ‘सिमरा इन्ट्री रुट छ । महेन्द्रनगर–नेपालगञ्जको कुरा भएको छ’,उनले भने,‘ भैरहवा भए छोटो हुने हो । पहल भइरहेको छ । यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्न एयरलायन्सलाई पत्र लेखेको भन्ने कुरा आएको छ । यो काम हवाइ उड्डयन प्राधिकरणले नै गरेको छ ।’ बजारीकरणको विषयमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्ने उनले सुझाए ।
यसरी बस्यो जग
तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाइमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३ हजार १०८ रोपनी जग्गा अधिग्रह गरिएको थियो । पाठकका अनुसार पोखरालाई पर्यटकीय सहर बनाउने हो भने सीधा हवाइ मार्ग चाहिन्छ भन्ने सोच उनकै थियो । तत्कालीन राजा वीरेन्द्र पोखरा भ्रमणमा आएका बेला पाठकले एयरपोर्टको विषय उठान गरेका थिए ।
‘सरकार रत्नमन्दिरमा डिनरमा हुनुहुन्थ्यो, मैले सरकार, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेँ’,’राजासँगको संवाद सम्झँदै उनले भने,‘साँझको रमझममा सरकारबाट मेरो कुरामा रुचि देखाइबक्सेन । मैले फेरि भन्ने कुरा पनि भएन । भोलिपल्ट सरकारले मलाई बोलाएर पाठक तिमीले भनेको एयरपोर्टको कुरा के हो ? भनेर सोधनी भयो । मैले बेलिबिस्तार लगाएँ । सरकारले सुरक्षाको दृष्टिले सम्भव छ र भनिबक्स्यो, मैले सुरक्षा ठूलो कुरा हैन भनेँ । त्यसपछि सरकारबाट पर्यटन राज्यमन्त्रीसँग कुरा गर्नू भन्दै गो अ हेड मर्जी भयो । त्यसपछि म जग्गा खोज्न लागेँ ।’
सो जग्गामा लामो समयसम्म विमानस्थल बन्न सकेन । पोखरेलीहरुले पटक–पटक एयरपोर्टको माग गरिरहे । अन्ततः चीन सरकारले विमानस्थल निर्माणमा चासो देखायो । सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच ठेक्का सम्झौता भएपछि ३ हजार १ सय ६ रोपनी जग्गामा विमानस्थल बन्ने प्रक्रिया अगाडि बढ्यो । थप जग्गा अधिग्रहण गरेपछि हाल विमानस्थलको क्षेत्रफल ३ हजार ९९९ रोपनी पुगेको छ । हाल यहाँ २५ सय मिटरको रनवे बनेको छ । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । पैसा जुटेपछि नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान २२ अर्बको ऋण सम्झौता गरियो र सन् २०१७ बाट विमानस्थल निर्माणले गति लियो । चिनियाँ ठेकेदार कम्पनीले उतैबाट र केही यता कामदारसहित काम अघि बढायो । लक्ष्यभन्दा अगावै निर्माण सक्ने घोषणा गरियो । तर, कोभिड महामारीले विमानस्थल निर्माणलाई छाडेन । २०२१ जुन १० मा सक्नुपर्ने भए पनि एक वर्ष म्याद थप थपियो ।
कस्तो बन्छ ?
प्राविधिकहरुका अनुसार फोर डी मोडलमा बन्ने यो विमानस्थलको रनवे २५ सय मिटर लामो छ । यहाँ १५० देखि १८० सिटे एयरबस ३२० र बोइङ ७५७ ले उडान र अवतरण गर्न सक्छन् । यी विमान भनेका छोटो दूरीबाट आउने न्यारोबडीका विमान हुन् । विमानस्थलमा सिंगल अप्रोज अर्थात् पूर्वबाट मात्र अन्तर्राष्ट्रिय उडान हुनसक्छ । विमानस्थलबाट तीनवटा अन्तर्राष्ट्रिय,४ वटा एटीआर र ४ वटा ट्विनअटर विमान पार्किङ गर्न सकिन्छ । हाल भइरहेको २५ सय लामो रनवे बढाउन सकिन्छ । अन्तर्राष्ट्रियतर्फ दैनिक ६ र आन्तरिकमा ४८ उडान भर्न सकिने तथा वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने विमानस्थलले जनाएको छ । हालको पोखरा विमानस्थलबाट पनि वार्षिक ५ लाखभन्दा बढी यात्रु उडिरहेका छन् । हालको पोखरा विमानस्थलबाट दैनिक कम्तिमा ३० वटा र पिक सिजनमा १ सय जति उडान हुन्छन् ।





