आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

ठूलो महानगरको साँघुरो कार्यालय !

ठूलो महानगरको साँघुरो कार्यालय !

छिन्नभिन्न महाशाखा, सेवाग्राहीलाई सकस ।


  • विकास रोकामगर
  • चैत्र ७ २०७८, सोमबार

पोखरा/ स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल यसै वर्ष सकिँदैछ । तर, कार्यभार सम्हालेको ५ वर्ष बित्न लाग्दासमेत पोखरा महानगरका अधिकांश वडा कार्यालय आफ्नै भवनविहीन छन् ।
अधिकांश वडा कार्यालय कि भाडाको घरको भरमा छन्, त कुनै पुरानै सरकारी भवनहरुलाई टालटुलमै सीमित छन् । सुविधासम्पन्न वडा कार्यालयको कुरा त परै जावोस्, महानगरले आफ्नै नयाँ प्रशासकीय भवनसमेत बनाउन सकेको छैन ।
हाल पोखरा ९, न्युरोड बीच बजार क्षेत्रमै महानगरको मुख्य कार्यालय छ । देशकै ठूलो महानगरको मुख्य कार्यालय नै साँघुरो र जीर्ण हुँदा सेवाग्राहीलाई मर्कामात्रै परेको छैन, कर्मचारीसमेत आजित छन् । कार्यालय साँघुरो भएकै कारण पार्किङको समस्या पनि उस्तै छ ।
‘साँघुरो ठाउँमा कार्यालय छ । कर्मचारीहरु एउटै कोठामा थुनिएर धेरै काम गर्नुपर्छ । पार्किङको समस्या पनि उस्तै छ,’ महानगरका एक कर्मचारी दुखेसो पोख्छन्, ‘सेवाग्राहीको चर्को चाप लाग्ने ठाउँमा हामी कर्मचारीले नै भरिन्छौं ।’ २०३४ सालमा तत्कालीन पोखरा नगरपालिकाका लागि बनेको भवन नै हाल देशकै ठूलो महानगरले प्रयोग गर्दै आइरहेको छ ।

महानगर कार्यालय साँघुरो भएकै कारण विभिन्न महाशाखा भवनहरु पोखराका विभिन्न ठाउँमा छरिएर रहेका छन् । महानगरका ९ महाशाखामध्ये अधिकांश महानगर कार्यालयभन्दा टाढा छन् । जसले गर्दा सेवाग्राहीलाई महाशाखा खोज्दैमा दिन बित्ने गरेको छ ।
महानगरको स्वास्थ्य महाशाखा पोखरा ९ को एक निजी भवनमा भाडामा छ । पहिले उक्त भवनमा शिक्षा महाशाखा थियो । तर, पछि शिक्षा महाशाखा ड्यामसाइड निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा सरेपछि स्वास्थ्य महाशाखाले ठाउँ पाएको हो । शिक्षा महाशाखा सरे पनि लामो समयसम्म सेवाग्राही झुक्किएरै हालको स्वास्थ्य महाशाखा भवनमा पुग्ने गरेका थिए ।

त्यस्तै, महानगरको सामाजिक विकास महाशाखा सिर्जना चोक, शिक्षा महाशाखा ड्यामसाइड, कृषि महाशाखा मुस्ताङचोक, पशु विकास महाशाखा पोखरा वडा नम्बर १२ मा छ । महानगरकै महाशाखा एकीकृत नहुँदा सेवाग्राहीलाई समेत सकस हुने गरेको छ ।
स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि ०७४ असार ५ गते बसेको पहिलो कार्यपालिका बैठकले नै प्रशासकीय भवन सार्ने निर्णय गरेको थियो । तर, कार्यकाल सकिन लाग्दासमेत नयाँ भवन बन्न सकेको छैन । जसको मार सेवाग्राहीले खेप्नु परेको हो ।
नयाँ भवनका लागि जग्गा खोज्न पहिलो कार्यपालिका बैठकले नै पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । समितिले सुरुमा पोखरा १२ स्थित जिल्ला पशु कार्यालय, मालेपाटनस्थित बागवानी केन्द्र र पृथ्वीचोकको दमकल केन्द्रमा कार्यालय बनाउन उपयुक्त रहेको महानगरलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा ०७४ भदौ १ गते पशु स्वास्थ्य कार्यालयकै जग्गामा नयाँ भवन बनाउने निर्णय गरेको थियो । कतर, महानगरको आफ्नै नाममा जग्गा नभएकाले केन्द्र सरकारसँग पटक पटक माग गर्दा पनि उक्त जग्गा पाएन ।
‘त्यो जग्गा पनि राम्रै थियो । पटक पटक केन्द्र र प्रदेश सरकारसँग जग्गा उपलब्ध गराउन माग पनि ग¥यौं । तर, फाइल कहिले प्रदेशमा अड्कियो, कहिले प्रदेशमा,’ महानगरका सूचना अधिकारी भरतराज पौडेल भन्छन्, ‘जग्गाको विषयमा तत्काल निर्णय नहुँदा पनि काममा ढिलाइ हुन पुगेको हो ।’

समितिले सिफारिस गरेबमोजिम पशु कार्यालयकोे जग्गामा प्रशासकीय भवन नबन्ने निश्चित भएपछि पछि महानगरले पुरानो दमकल रहेको ठाउँलाई रोजेको हो । त्यहाँ हाल शहरी स्वास्थ्य प्रवर्धन केन्द्र छ । उक्त ठाउँमा सुविधासम्पन्न ५ तले नयाँ प्रशासकीय भवन बनाउन महानगरले ०७७ भदौमा निर्णय गरेको हो ।
पोखरा बन्ने ८, नयाँबजार दमकल मार्गमा बन्ने भनिएको नयाँ भवनसमेत अहिले शिलान्यासमै रोकिएको छ । त्यसको करिब ढेड वर्षपछि ०७८ असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग १४ करोड रुपैयाँमा १८ महिनाभित्र भवन निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।
मंसिर २७ मा शिलान्यास पनि गरिएको थियो । तर, स्थानीयले पार्क बनाउनुपर्ने माग राख्दै विरोध जनाए पछि अहिले उक्त काम अघि बढ्न सकेको छैन । रोकिएको निर्माण प्रक्रिया कहिले अघि बढ्छ टुंगो छैन । ‘हामी समन्वय गरिरहेका छौं । त्यो महानगरको भवन बनाउन त्यो ठाउँ भन्दा अर्को राम्रो ठाउँ छैन,’ महानगर प्रवक्ता धनबहादुर नेपाली भन्छन्, ‘उहाँहरुको खासै बलशाली माग छैन । त्यहाँ जसरी पनि भवन बन्छ ।’

ठडिएनन् अधिकांश वडा भवन पनि

भूगोलका हिसाबले देशकै ठूलो महानगर मानिएको पोखरा महानगरमा ३३ वटा वडा छन् । तर, अहिलेसम्म अधिकांश वडा कार्यालय आफ्नै भवनबाट सेवा प्रवाह गर्न सकेका छैन् ।
महानगर प्रवक्ता धनबहादुर नेपाली जनप्रतिनिधिको ५ वर्षे कार्यकालमा जम्मा ९ वटा वडाको मात्रै भवन निर्माण गरिएको जानकारी दिए । ‘अहिलेसम्म ९ वटा वडाको मात्रै नयाँ भवन बनाउन सकिएको छ । बाँकी प्रक्रियामै छन्,’ उनले भने, ‘उनका अनुसार १० वटा वडा
भवन अहिले निर्माण प्रक्रियामा छन् ।’ बाँकी रहेका १४ वटा वडाको आफ्नो भवन छैन । ती वडा कुनै भाडामा छन् त कुनै पुराना सरकारी कार्यालयमा ।

महानगरका अनुसार हाल २, ७, ११, १२, १६, २२, ३० र ३२ नम्बर वडाकोमात्रै आफ्नै भवन छ । त्यस्तै, ८, ६, १७, १८, २६, ३१ र ३३ नम्बर वडाको भवन निर्माणाधीन अवस्थामा छन् । ३३ नम्बर वडाको भवन केही दिनअघिमात्रै शिलान्यास गरिएको थियो ।
बाँकी १, ३, ४, ५, ९, १०, १३, १४, १५, २०, २१, २३, २४, २५, २७, २८ र २९ नम्बर वडाको आफ्नै कार्यालय भवन छैन । त्यसमध्ये पनि वडा नम्बर ९, २० र २७ नम्बर वडाको कार्यापय अन्यन्तै साँघुरो र अपायक रहेकाले नयाँ बनाउनै पर्ने रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेल बताउँछन् ।

वडा कार्यालयको भवन बनाउन जग्गा प्राप्त गर्नै कठिनाइँ रहेकाले काममा ढिलो भइरहेको महानगर प्रवक्ता नेपालीको दाबी छ । भन्छन्, ‘अहिले हामीले ३ दिन साढे ३ करोडसम्ममा सम्पन्न हुने गरी जग्गा व्यवस्थापन गरिरहेका छौं । त्यो भयो भने सबै वडाको आफ्नै भवन हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->