पोखरा/ कास्की जिल्ला अदालतले ज्यान मुद्धामा जाहेरी विपरित बयान दिएका पोखरा– १५ का यामबहादुर गुरुङलाई ५ हजार रुपैया जरिवाना असुल गरेको छ । छोरा विशाललाई हत्या गर्न खोजेको भन्दै गुरुङलाई कास्की जिल्ला अदालतले ५ हजार रुपैयाँ जरिवानाको फैसला दिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गत पुष १३ गते गरेको उक्त फैसलाको पूर्णपाठ बल्ल तयार भएको हो । ‘जाहेरीका विरुद्ध अदालतमा बकपत्र गरेर सरकारी निकायलाई नै समस्या पारेको देखियो,’ जिल्ला अदालतका श्रेष्तेदार निलप्रसाद पनेरुले भने, ‘अनावश्यक रुपमा अर्को व्यक्तिलाई अनाहकमा राज्यको नियन्त्रणमा राख्यो, यसरी होस्टाइल हुनेलाई जरिवाना कारबाहीको फैसला आएको छ ।’
गुरुङले आफ्ना छोरा विशाललाई गत जेठ २१ गते राती बिक्की भन्ने विक्रम भण्डारी, स्विकार भण्डारी, सागर भण्डारी र भुमि भन्ने अमिर गुरुङले कुटपिट गरेको भन्दै जाहेरी दिएका थिए । विक्रमको जग्गामा संयुक्त रुपमा निर्माण गरिरहेको कृषि फार्ममा विशालका साथै फार्मका कामदार नविन आलेलाई समेत कुटपिट भएको जाहेरीमा उल्लेख थियो ।
भण्डारी समुहले बाँस, ढुङ्गा र धारिलो हतियारले कुटपिट गरी विशालको एउटा आँखा फुटाइदिएको, टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको समेत जाहेरीमा उल्लेख छ । घटनाको भोलिपल्ट प्रहरीले गरेको मुचुल्कामा कुटपिटमा प्रयोग गरिएको ढुङ्गा, बाँसका टुक्रा र हम्बर फेला परेका उल्लेख छ ।
गुरुङले जाहेरीमा विक्रम लगायत समुहले मदिरा सेवन गरेर बिना कारण छोरा विशाललाई खुँडा, दाउ लगायत हतियारको प्रयोग गरेर आक्रमण गर्दा नाकको डाँडीसमेत भाँचिएको उल्लेख गरेका छन् ।
विशालको आँखा फुटेको सम्बन्धमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत बाहिरी चोटका कारण उनको एउटा आँखाले दृश्य गुमाएको जनाएको छ । घटनाका विरुद्ध ज्यान मुद्धा दिएको गुरुङले अदालतमा गरेको बकपत्रमा भने उक्त जाहरी आफ्नो नभएको जिकिर गरेका थिए ।
बकपत्रमा गुरुङले छोरा विशालको आँखा आफ्नै हाते ट्याक्टरमा ठोक्किएर दृश्य गुमाएको बताएका थिए । ‘यामबहादुर गुरुङले जाहेरी व्यवहारो मेरो होइन, हाते ट्याक्टरमा ठोक्किएर आँखामा चोट लागेको बकपत्रमा बताएका थिए,’ श्रेष्तेदार पनेरुले भने, ‘ज्यान मुद्धाका जाहेरवाला पनि होस्टाइल भएको देखियो ।’
आँखा फुटेर दृश्य गुमाएका विशालले जाहेरीमा विक्रम भण्डारी समुहको आक्रमणबाट आँखा फुटेकाले पार्कल्याण्ड, हिमालय र मणिपाल अस्पतालमा उपचार गरेको उल्लेख गरेका थिए ।
अदालतमा भने विशालले पनि उक्त व्यवहोरा आफुले नभनेको र प्रहरी अनुसन्धानमा पनि बयान हेर्न नदिई हस्ताक्षर गर्न लगाको बताएका थिए ।
प्रतिवादी विक्रमले भने शुरुदेखि नै जाहेरीमा उल्लेख आरोप अस्विकार गरेका थिए । प्रहरीले हिरासतमा लिएर अदालतमा बुझाएपछि विक्रम यही मुद्धामा पूर्पक्षका लागि थुनामा गएका थिए । घटनामा संलग्न भनिउका सागर भण्डारी र अमिर गुरुङलाई ८० हजार र स्विकार भण्डारीलाई २० हजार धरौटीमा छाडिएको थियो ।
अदालतमा जाहेरी विपरित वयान दिएपछि अदालतले गुरुङलाई ५ हजार रुपैया जरिवाना दिन आदेश दिएको छ । ‘ज्यान मार्ने उद्योगमा दिएको जाहेरी व्यहोरा नै मेरो होइन भनेर अदालतमा बकपत्र गरेकाले जाहेरी झुठ्ठा देखियो,’ आदेशमा भनिएको छ, ‘झुठ्ठा बनावटी व्यहोरा लेखिएको हुनाले ५ हजार जरिवाना ठहर्छ ।’
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा झुठठा कुरा लेख्ने वा बनावटी व्यहोराको बकपत्र गर्नेलाई ३ महिना कैद वा ५ हजार जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ ।
फैसलामा प्रतिवादी विक्की भनिने विक्रम भण्डारीलाई २० हजार रुपैया क्षेतिपूर्ति दिन समेत आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका श्रेष्तेदार पनेरुले उक्त आदेशले झुटो जाहेरी दायर गर्नेहरु निरुत्साही हुने बताए । ‘यो आदेशले जाहेरीमा दिएको कुरा नै अदालतमा अस्विकार गर्ने प्रवृत्ती रोक्न मदत पु¥याउँछ,’ उनले भने, ‘प्रहरी, अदालतदेखि सरकारी निकाय र अनाहकमा व्यक्तिलाई दुख दिने नियत राखेर जाहेरी दिनेलाई कारबाही हुने नजिर यो फैसलाले राखेको छ ।’





